Logo

फिल्डमा खटिने प्रहरीबाट कोरोना संक्रमणको खतरा(भिडियोसहित)



साउन १७, काठमाण्डौ । केही दिनदेखि प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यारत प्रहरीमा कोरोना संक्रमणको सङ्ख्या बढिरहेको छ । कोरोना संक्रमण देखिएका प्रहरी कार्यरत विभागलाई सिल गरेर अन्य प्रहरीको कन्ट्र्याक्ट ट्रेसिङ भइरहेको छ । फिल्डमा खटिने प्रहरीमा नै संक्रमण देखिएपछि सर्वसाधारण पनि जोखिममा परेका छन् । तर यसतर्फ कसेको पनि ध्यान जान सकेको छैन

सबैभन्दा पहिला यो भिडियो हेर्नुहोस :

तपाईहरुले देखिहाल्नुभयो, अहिले पनि नेपाल प्रहरीले फिल्डमा कसरी काम गरिरहेको छ भनेर । काठमाण्डौमा भएको एक विरोध कार्यक्रममा सहभागिलाई धरपकड गर्ने क्रममा प्रहरीको सक्रियताको यो दृश्यले देखाउँछ कि कोरोना संक्रमणको जोखिम कति छ भनेर । दिनहुँ जसो काठमाण्डौमा विरोध कार्यक्रम भइरहन्छन् र त्यहाँ प्रहरीको उपस्थिती अनिवार्य जस्तै मानिन्छ । सयौँको भिडभाड हुने स्थानमा कर्तव्य निर्वाह गर्नका लागि उपस्थित हुनु प्रहरीको बाध्यता पनि हो ।

तर यो बाध्यताभित्र कोरोना संक्रमणको जोखिमको ख्याल गर्ने कि नगर्ने ? अर्थात काठमाण्डौका सार्वजनिक स्थानमा हुने यस्ता विरोधका कार्यक्रममाथि प्रतिबन्ध लगाउनु पो पर्ने हो कि ? प्रहरीले फिल्डमा सकेसम्म सुरक्षाका उपया अपनाएको देखिन्छ । प्रदर्शनकारलाई पक्राउ गरेर भ्यानमा हालेपछि प्रहरीले एकआपसलाई डिसइन्फेक्सन स्प्रे छर्किने गरेका छन् । तर यतिले मात्रै पर्याप्त होला र ?

पछिल्ला दिनमा काठमाण्डौ उपत्यकामा पनि संक्रमितहरुको संख्या बढिरहेको छ । प्रहरीमा पनि संक्रमणको अवस्था विकराल बन्दै गएको छ । लकडाउन अन्त्यको घोषणा गरिएको अवस्थामा पनि अतिआवश्यकबाहेकका कार्यक्रम बन्द गर्दा जोखिम कम हुन्छ भन्ने कुरा त सबैलाई थाहा छ । तर किन सबै निकाय कानमा तेल हालेर बसिरहेका छन् ? कि कोरोना समुदायस्तरमा प्रवेश गरेर महामारीको रुप लिएपछि मात्रै आँखा खुल्ने हो ?

अहिलेसम्म करिब ८० जना प्रहरीमा कोरोना संक्रमण भइसकेको छ । संचार र सवारी शाखामा कार्यरत प्रहरीमा कोरोना देखिएपछि हेडक्वाटरमा कार्यरत अन्य प्रहरी पनि सशंकित भइरहेका छन् । शंकाको घेरामा रहेका प्रहरीमा परीक्षण भइरहेको छ । हेडक्वाटरको प्रहरीको कोरोना संक्रमणको लहरो प्रतिनिधिसभाका सभामुखको सरकारी निवास बालुवाटरसम्म पुगेको छ ।

सभामुख अग्नि सापकोटाको सुरक्षामा निवासमा खटिएका एक प्रहरीलाई कोरोना पुष्टि भएको छ । अहिले पनि ट्राफिक व्यवस्थापनका लागि सयौँ प्रहरी दिनभर फिल्डमा खटिने गरेका छन् । त्यसक्रममा सयौँ सर्वसाधारणसँग उनीहरुको भेट हुने गर्दछ । यसरी कोरोना संक्रमणको जोखिमको वेवास्ता गर्दै कहिलेसम्म लापरबाही गरिरहने ? अब सोच्ने बेला आयो कि ?



प्रतिक्रिया दिनुहोस्