Logo

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढ्यो



काठमाडौं, १७ साउन । नेपाल आयल निगमले आज मध्यराति देखि लागु हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको भन्दै आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको जनाएको छ ।

निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल र डिजेल दुवैमा दुई रुपैयाँ प्रतिलिटरका दरले मूल्य वृद्धि भएको जानकारी दिएको हो । मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मुल्य समान ९० रुपैयाँ छ ।

गएको १५ दिनमा निगमले पेट्रोल र डिजेलमा घाटा व्यहोरेको छ । निगमका अनुसार १५ दिनमा पेट्रोल प्रति लिटर ३ रुपैयाँ र डिजेलमा झण्डै एक रुपैयाँ घाटा व्यहोरेको छ ।

निगमले मट्टीतेल, एलपी ग्याँस र हवाई इन्धनमा भने मूल्य यथावत राखेको छ । यी इन्धनमा निगम नाफामा छ ।

मूल्य वृद्धिका बाबजुद नेपाल र भारतको सीमामा पनि तेलको मूल्यमा भिन्नता कायमै छ । रक्सौलमा पेट्रोल प्रति लिटर १३३.५८ नेपाली रुपैयाँ छ भने वीरगञ्जमा १०२.५० रुपैयाँ पुगेको छ । डिजेलको मुल्य रक्सौलमा १२४.४७ र वीरगञ्जमा ८८.५० छ । रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल ३१.०८ र डिजेल ३५.९७ रुपैयाँले सस्तो छ । यसकारण नेपालबाट भारततर्फ तेलको तस्करी समस्या बनेको छ ।



प्रतिक्रिया दिनुहोस्