Logo

कोरोना संक्रमणको जोखिम बढ्यो, आफूलाई व्यवस्थित् राखौं : डा. बास्तोला



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाले भारतबाट आएका व्यक्तिहरु काठमाडौं भित्रिने क्रम भएकोले पछिल्लो समय संक्रमितको संख्या देखिएको बताएका छन् । आइतबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । डा. बास्तोलाले तराइको हकमा निषेधाज्ञा र लकडाउन गरिएको सुनाए । उनले भने,‘त्यसलाई त्यहाँका जनताले पालना गरेका छन् । जति पनि व्यक्तिमा लक्षण आउँछन्, तिनीहरूमा टेस्ट हुनुपर्छ । तिनीहरूको उपचार बलियो हुुनुपर्छ ।’ प्रस्तुत छ डा. बास्तोलासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोनाको संक्रमणको संख्या ह्वात्तै बढ्यो काठमाडौँमा ? तपाईहरू के गर्दै हुनुहुन्छ ?

भारतबाट व्यक्तिहरू काठमाडौँ भित्रिने क्रम भएकोले संक्रमितको संख्या देखिएको हो । जो काममा गईरहेका छन्, तिनीहरूमा संक्रमण भएको देखिन्छ । तराइका जिल्लाहरूबाट आएका व्यक्तिहरूमा संक्रमण रहेको छ ।

जोखिम बढ्नुको कारण भनेर तथ्यांकहरू पनि बाहिर आएको छ । सामाजिक दुरी कायम नहुनु, नाकामा परीक्षण नहुनु, किन यस्तो भयो ? सामाजिक दुरी कायम गर्न हामीले किन सकेनौँ ?

सबैभन्दा मुख्य कुरा के छ भन्दाखेरि ६ महिना अगाडिदेखि हामीले यो संक्रमणको बारेमा बोलिरहेका छौँ । यो संक्रमणबाट जोगिन तीन वटा हाम्रो मुख्य हतियार भनेको मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, हात धुने कुरा छ । यसलाई व्यवहारमा नउतार्नाको कारणले यस्तो भयो । अर्को कारण धेरैले रोजगारी, व्यवसाय गुमाएका छन् । ती रोगग्रस्त क्षेत्रबाट रोजगारीको लागि फर्किने व्यक्तिहरू आउनेबित्तिकै एकान्तबास जुन सरकारले भनेको छ, त्यसमा बाहिर गएर घुलमिल गरिदिनाले जोखिम छ । प्रत्येक व्यक्ति व्यवस्थित हुन जरुरी छ । सुरुका दिनहरूमा भारतबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखियो । त्यसबेलामा हामीले ठुलो संख्यामा टेस्ट गरेका थियौँ । तर पछिल्लो समयमा टेस्ट राम्रोसँग अघि नबढेको देखिन्छ । पि.सि.आरमा १०० प्रतिशत पोजिटिभलाई पोजिटिभ र नेगेटिभलाई नेगेटिभ भन्न सक्ने अवस्था हुँदैन । १४ दिनको एकान्तवास हुन्छ, त्यसलाई रोगग्रस्त क्षेत्रबाट आएका व्यक्तिहरूले अपनाउन जरुरी छ ।

सांसदहरूलाई संक्रमण भएको छ, वीरगञ्जमा । चालक, अंगरक्षक, नेता, मेयरलाई पनि संक्रमण भएको छ । वीरगञ्जलाई बचाउन हामीले के गर्नुपर्ला ?

तराइको हकमा निषेधाज्ञा, लकडाउन गरिएको छ । त्यसलाई त्यहाँका जनताले पालना गरेका छन् । जतिपनि व्यक्तिमा लक्षण आउँछन्, तिनीहरूमा टेस्ट हुनुपर्छ । तिनीहरूको उपचार बलियो हुुनुपर्छ ।

उपचारको लागि डाक्टरहरू पनि वीरगञ्ज नगएको समाचारहरू पनि बाहिर आएको छ । इलामको समस्या पनि त्यस्तै छ । इलाममा पनि हिजो थप १७ जनामा संक्रमण देखिएको छ सशस्त्र प्रहरीमा । किन सुरक्षा निकायमा कोरोनाको संक्रमण बढ्यो पछिल्लो समय ?

सुरक्षा निकायका व्यक्तिहरू लकडाउनमा जतिपनि बाहिरबाट आएका व्यक्तिहरूको व्यवस्थापनमा खटिनुभएको छ । स्वास्थ्यकर्मी जसरी नै उहाँहरू खटिनुभएको छ । फ्रन्टलाइनरहरू संक्रमणको जोखिममा हुन्छन् । त्यसै कारणले गर्दा सुरक्षाकर्मीहरू पनि संक्रमित भएका हुन् । त्यस्ता कुराहरू अस्पताल, सुरक्षा निकायमा अपनाउनुपर्ने मापदण्ड, व्यवस्थापनका पक्षहरू, भीडभाड नगर्ने, ती व्यवस्थापनमा पनि हामीले ध्यान दिन जरुरी छ ।

प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कुरा गर्दाखेरि उहाँहरूले चालेको कदम पूर्णरूपले सफल भयो कि भएन ?

सुरुमा बाहिरबाट आएका १८००० व्यक्तिहरूलाई हामीले क्वारेन्टाइनमा राख्यौँ । त्यसकारणले संक्रमण समूदायमा फैलिएको अवस्था थिएन । तर के छ भन्दाखेरि हाम्रो मित्रराष्ट्र भारतमा ठुलो संख्यामा संक्रमितहरू छन् । ती ठुलो संख्यामा भएका संक्रमितहरू नेपालमा कामदारको रूपमा आउँछन् । अहिलेको पछिल्लो लकडाउनमा हामीले व्यवस्थापन नगर्नाले यो अवस्था आएको हो । अबका दिनहरूमा हामी अझै व्यवस्थित भएनौँ भने हामीले अहिलेसम्म जुन किसिमका सुधारहरू गरेका छौँ, त्यो जम्मै पानीमुनि जाने सम्भावना देख्छु ।



प्रतिक्रिया दिनुहोस्