Logo

बदलिँदो परिवेशमा भारतको सामरिक भुमिका



विपिन देवः वर्तमान परिवेशमा उग्र राष्ट्रवाद, सामरिक द्वन्द्व, अन्तर–संघर्ष, घेराबन्दी, गोलाबन्दी र नाकाबन्दी अन्तर्राष्ट्रिय कुटनीतिक मंचको दैनिक गतिविधि नै भएको छ । विद्युतीय माध्यमबाट संवाद, वाक्ययुद्ध, व्यंग्यवाणको वर्षा संसारका छापाखानाहरुमा नियमित रुपमा हेर्न पाइन्छ । अमेरिका र चीनको व्यापारिक युद्ध सामरिक शक्ति प्रदर्शनमा परिवर्तित भइरहेको छ । अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पिओले चिनियाँ शासन पद्दति र शैली माथि प्रहर गर्दै के भनेका छन् कि चीनको बढ्दो दब–दबा र हैकमवादी शैली ले गर्दा आउने दिनहरुमा सयौं क्रान्ति र आन्दोलनबाट प्राप्त मानवीय स्वतन्त्रता नै अपहरित हुने सम्भावना रहेको छ । चीन र अमेरिकी चुनावको मुख्य मुद्दा नै चिनियाँ विरोधी नारा नै ध्वनित भइरहेको अवस्था छ ।

यस परिवेशमा चीनसँगको भिडन्तले गर्दा भारतले आफ्नो सामरिक नीतिमा व्यापक परिवर्तन गरेको अवस्था छ । एक अन्तर्वार्तामा भारतका सामरिक नीतिलाई आलोकित गर्दै भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले कुटनीति र बैंकिंग लाई तुलना गर्दै के प्रष्ट गरेका छन् कि कुटनीति र बैंकिंगको सफलताको दयोत्तक विश्वाश नै हुन् । अर्थात् कुटनीति पुर्णरुपमा विश्वाश र समझदारीबाट नै संचालित हुने गर्दछ । यस अर्थमा भारतले आफ्नो कुटनीतिको अर्जुनदृष्टि मित्रमण्डलीको संख्या बढाउन र दौत्य सम्बन्धलाई बलियो बनाउन निरन्तर वार्ता द्वारा हरेक मतभेद र मनभेदलाई चिर्दै अगाडि बढिरहेको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा भारतको अवस्था र हैसियतमा व्यापक परिवर्तन भएको देखिन्छ । अन्तर्राष्ट्रिय मुद्राकोषको अध्ययन अनुसार भारत कोरोनाको कहरबात प्रभावित भएता पनि विश्वको पाँचौं आर्थिक शक्तिको रुपमा रहेको छ । यही विकास दरलाई निरन्तरता दिँदै अगाडि जाने हो भने एक दशक पछी नै भारत विश्वको तेस्रो आर्थिक महाशक्ति हुने विज्ञहरुको प्रक्षेपण रहेको देखिन्छ । विश्व स्वास्थ्य संगठनको नेतृत्व पाउनु र इण्डोप्यासिफिक क्षेत्रमा नेतृत्व पाउनु जस्ता परिघटनाले गर्दा भारतको सामरिक पहुँच पक्कै बढेको देखिन्छ । अन्तर्राष्ट्रिय मुद्राकोषका सर्वेक्षण अनुसार संसारमा विगतको वर्षमा भारतमा विदेशी मुद्राको निवेश र लगानी संसारमा सबभन्दा बढी भएको थियो । अर्थात् विगतका वर्षमा भारतले लगानीकर्ताहरुको दिल र दिमाग जितेर ४४ बिलियन को लगानी भारतमा भित्रिएका थिए । अपेक्षाकृत अरु देशहरुको तुलनामा भारतको निवेश बढिरहेको कुरा जानकारहरुको विश्लेषण रहेको छ । यस वित्तीय वर्षमा पनि संसारको दोस्रो लगानी भित्रियाउने देश भारत नै हो । आउने दिनमा विदेशी लगानीलाई अभिवृद्धि गर्न भारतले आफ्नो पूर्वाधार विकासमा १.३ ट्रिलीयन डलरको लगानी गर्ने योजना बनाएका छन् ।

भारत र चीनको अवस्थामा पहिले पनि खासै फरक थिएन । सज् १९८० को दशकका भारतका प्रधानमन्त्री राजीव गान्धी चीन भ्रमण गर्न जाँदा भारत र चीनको प्रति व्यक्ति आय लगभग एकनासको नै थियो । तर चीनले भूमण्डलीकरण र उदार व्यवस्थालाई प्रचुर रुपमा प्रयोग गर्दै आफ्नो आय र आर्थिक क्षमतामा व्यापक अभिवृद्धि गरेको अवस्था छ । वर्तमान अवस्थामा पनि चिनियाँ अर्थतन्त्रको आकार भारतको अर्थतन्त्रको आकार भन्दा ४ गुणा ले नै बढिरहेको देखिन्छ ।

चीनको आर्थिक प्रगतिको पछाडी पश्चिमा जगतले उद्घोष गरेको भू–मण्डलीकरण र नव–उदारवादको नीति नै प्रमुख हो । सोभियत रुस र अमेरिकाको टक्कर ले गर्दा चीनको सामर्थ्यमा प्रगति भएको कुरा अध्ययनले प्रमाणित गर्दछ । जानकारहरुको अनुसार वर्तमान अवस्थामा चीन र अमेरिकाको भिडन्तको प्रचुर मात्रामा भारतले उपयोग गरेको खण्डमा भारतको अर्थतन्त्र र सामरिक क्षमतामा व्यापक अभिवृद्धि हुने सम्भावनालाई नकार्न सकिदैन । तदनुरूप भारतले आफ्नो नीतिमा व्यापक परिवर्तन ल्याउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । हालका दिनसम्म युरोपका ६,००० कम्पनीहरुको लगानी भारतमा रहेको देखिन्छ । मोदीले युरोपियनसँगको वार्तामा भारतको बजारमा लचिलोपन ल्याउने संकेत गरेको छ ।

संकेतलाई प्रत्याभूति गर्न मजदूर कानुन देखि कर नीतिमा पनि व्यापक परिवर्तन ल्याउनुपर्ने आवश्यकता देखिन्छ । विगत एक दशकमा भारतले आफ्नो अर्थतन्त्रका क्षमता अनुसार युरोप देखि अफ्रिका सम्म आफ्नो लगानी र योजनालाई बढाइरहेको छ । क्यारेबियन देखि साउथ प्यासिफिक सम्म भारतका योजनाहरुको कार्यान्वयन भइरहेको छ । अफ्रिकी मुलुकहरुमा मात्रै ५४ वटा गुरुयोजनाहरु लागु भइरहेको छ । बेलायतमा लगानीकर्ताहरुको सूचीमा भारतको नाम दुई नम्बरमा रहेको देखिन्छ व भारतको हैसियत अभिवृद्धिको कारण भारतले लिएको र अङ्गीकार गरेको शासन पद्दति नै हो । बहुलवादी समाज र लोककल्याणकारी लोकतान्त्रिक व्यवस्थाका कारण अमेरिका लगायत युरोप, जापान, आसियान र अस्ट्रेलिया भारतका पक्षमा उभिएको देखिन्छ । सेन्टर फोर स्ट्राटेजीक इन्टरनेशनलका जानकार प्याट्रिक वुचनले भारतको सामरिक नीतिलाई प्रशंसा गर्दै के भनेका छन् भने बदलिँदो परिवेश भारतको पक्षमा रहेको देखिन्छ ।

इण्डोप्यासिफिक क्षेत्रमा अगुवाई पाउनु, भारतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण हुनु, हिन्द महासागरीय क्षेत्रमा प्रभाव हुनु, जनसांख्यिक लाभांश हुनु, भारतीय उच्च मानव संशाधनको उच्च स्तरीय अमेरिकी र युरोपेली संरचनामा पहुँच हुनु जस्ता कारणले आउने दिनमा भारत आर्थिक र सामरिक रुपमा बलियो हुँदै जानेछ । जवाहर लाल नेहरु अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानका प्राध्यापक डा. स्वर्ण सिंह ले आउने दिनमा आधुनिकीकरण को माध्यमबाट भारतले “मेक इन इण्डिया” को नारा लाई मुर्त रुप दिन भारतलाई “म्यानुफ्याकचरिङ्ग हब” (उत्पादनको केन्द्र) को रुपमा रुपान्तर गर्नुपर्दछ भन्ने कुरा बताएका छन् । वर्तमान परिपेक्ष्यमा युरोप र अमेरिका का लगानीकर्ताहरु धमा–धम चीनबाट आफ्ना लगानीलाई भियतनाम, साउथ कोरिया र अन्य आसियानका मुलुकहरुमा विस्थापित गर्दै छ । संसारका १८ प्रतिशत जनता ओगटेको मुलुक भारत उनीहरुको रुचिमा पनि पर्दछ । आवश्यक रणनीति र पूर्वाधार विकास गरेर ती कम्पनीहरुलाई भारतले निमन्त्रणा गरेको खण्डमा भारतका अर्थतन्त्रको कायापलट हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन ।

यी सबल पक्ष हरुका बाबजुद पनि भारतका केहि कमजोर पक्षहरु अपनी छन् । भारतका कमजोर पक्ष मध्ये भारतका सीमा सम्बन्धी समस्या मुर्धन्य हुन । भारत र चीनको सीमा विवादका कारणले गर्दा सन् १९६२ देखि हालसम्म पनि भारतले एका तर्फ चीन सँग आफ्नो सामरिक र सुरक्षा नीतिमा सजग रहनु परेको छ भने अर्को तर्फ सन् १९६५ देखि हालसम्म पनि पाकिस्तान सँग बारम्बार भिडन्त को सामना गरी रहनु परेको छ ।

अर्थतन्त्रको विकासको निमित भारतले उच्च कुटनीतिलाई प्रचुर मात्रामा प्रयोग गरेर चीन विरोध भइरहेको इण्डोप्यासिफिक, क्वार्ड लगायत प्रजातान्त्रिक ध्रुवीकरण को प्रयोग गरेर चीन सँगको सीमा विवाद र पाकिस्तान सँग भइरहेको समस्यालाई छिनोफानो गर्नुपर्दछ । भारतका पुर्व राजदुत मन्दिप सिंह पुरीले भारतले आफ्नो अर्थतन्त्र लाई सुदृढ गर्न आफ्ना छिमेकी सँगको अन्तर सम्बन्ध मा सुमधुरता दिनु पर्दछ भन्ने जिकिर गरेका छन् । बंगलादेश को धाई, आमा रहेका भारतले बंगलादेश को विकासको यात्रामा सहभागिताको कारणले गर्दा नै दक्षिण एसियाको द्रुत गतिले आर्थिक विकास गर्ने मुलुकमा बंगलादेश पनि परेको हो ।

भुटानको आर्थिक विकासमा पनि भारतको भूमिकालाई नकार्न सकिदैन । यती हुँदा हुँदै पनि भारतले श्रीलंका र नेपाल सँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक पक्षमा केन्द्रित हुनुपर्दछ । भारतका छिमेकीहरु भारतको सांस्कृतिक र सामरिक सम्बन्ध भएको कारणले गर्दा सम्बन्धलाई सुमधुर बनाउन सहज हुन्छ । भारत आर्थिक रुपमा प्रगति हुँदै जाँदा त्यसको प्रचुर प्रभाव छिमेकी अर्थतन्त्रमा पक्कै नै पर्दछ । दुर्भाग्यवश भारतका छिमेकी मुलुकहरुको राजनीति र चुनावमा भारतका मुद्दा मुर्धन्य नै हुने गर्दछ ।

पाकिस्तानको चुनावमा राजनेताले भारतको विरोध नगरेको खण्डमा नेताको जमानत पनि बच्ने अवस्था हुँदैन । नेपाल पनि त्यसै मार्गको धावक हुने सम्भावना देखिन्छ तर यस्ता भावनाहरुको घनत्वलाई निस्तेज र न्यूनीकरण गर्न भारतले आर्थिक पक्षमा ध्यान दिएर छिमेकीहरु सँगको सम्बन्धमा बढी ध्यान दिनुपर्दछ । कोरोनाको कहरपछी विश्व परिदृश्य भारत सुहाँउँदो भएको अवस्थामा त्यसलाई पंजीकृत गर्न आवश्यक रणनीति बनाउनु पर्ने टड्कारो आवश्यकता रहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम