Logo

जेरी खाँदै ओली-प्रचण्डबीच भोलि बैठक बस्ने



काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफललाई अगाडि बढाएका छन् । दुई अध्यक्षबीच आज ग्रीन टी पिउँदै छलफल भएको र भोलि विहान ९ बजे जेरी खाँदै कुराकानी गर्ने सहमति भएको बैठकमा सहभागी नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए ।

‘दुईजना अध्यक्षबीचको छलफल भोलि विहान ९ बजे जेरीसहितको खाजा खाएर बस्ने सल्लाह छ,’ नेम्वाङले भने । आजको बैठक निकै सकारात्मक भएको उनले बताए । छलफलबाटै समस्याको समाधान हुनेमा ढुक्क हुन आग्रह गरे । केही दिनयता संवाद नभइरहँदा कुराकानी हुनुले उत्साह जगाएको उनको भनाई थियो ।

नेम्वाङले दुई अध्यक्षबीच कुरा गरेर टुंगो लाग्छ भन्ने कुरा निर्विवाद भएको बताए । उनले भने, ‘यो छलफललाई आजै टुंगोमा पुर्याउने कुरा थियो । यो बैठकले निरन्तरता पाएको छ ।’

आजको बैठक एकदम सकारात्मक रहेको र यसै गर्ने भन्ने निष्कर्षमा नपुगेको बताए । बैठकमा विगतमा उठेको कतिपय सानातिना विषय उठेको खुलाए । उनले भने, ‘त्यो कुराहरु दुई अध्यक्षले छलफल गरी टुंगो लगाउँदै जाने भएको र फेरि फेरि नउठ्ने सहमति भएको छ ।’

आज बालुवाटारमा साँढे दुई घन्टा ओली र प्रचण्डबीच छलफल भएको थियो । छलफलमा प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल थिए भने ओलीको साथमा सुवासचन्द्र नेम्वाङ थिए ।



प्रतिक्रिया दिनुहोस्