Logo

यो सरकार अटेरीको सरकार हो : पौडेल



काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  यो सरकार अटेरीको सरकार भएको आरोप लगाएका छन् । कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनसनमा बसेका इनफ इज इनफ अभियानका अभियान्ता ‘ई’ लाई भेट्दै पौडेलले ओली सरकारलाई अटेरीको आरोप लगाएका हुन् ।

पार्टीका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूका साथ सत्याग्रह स्थल बसन्तपुर पुगेका वरिष्ठ  नेता पौडेलले मुलुकमा देखिएका सम्पूर्ण समस्याको जड भ्रष्टाचार भएको बताए । उनले नेकपा नेतृत्वको सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै सरकारको हेलचेक्राई विरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानका आफु र आफ्नो पार्टीको साथ रहेको बताए । नेता पौडेलले पीसीआरको दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै अभियन्ताहरु अनसन बस्नु दुर्भाग्यपूर्ण भएको पनि बताए ।

पौडेलले भने– ‘जनताको स्वास्थ्यसँग जोडिएको सामान्य विषयमा अनसन बस्दा पनि नसुन्ने भनेको सरकार साच्चै नै अटेरी सरकार हो । पीसीआरको दायरा बढाउ, क्वारेन्टाइन व्यवस्थित होस भनेको छ । अति नै सामान्य र अति नै आवश्यक मागहरु लिएर उहाँहरु अनसन बस्नुनै दुर्भाग्यपूर्ण कुरा हो ।’

उनले अनसनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले ध्यान नदिएर  सरकारले गरिरहेको बेवास्ताप्रति आपत्ति जनाए । पौडेलले १६–१६ दिनसम्म अनशन बस्दा पनि माग सम्बोधन नगर्नु सरकारको चरम लापरवाही भएको बताए । अभियन्ता ‘ई’ विगत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बसेका छन् । यसअघि उनी पहिलो पटक ललितपुरको पटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्