Logo

काठमाण्डौमा फेरी लकडाउन कति आवश्यक ? (भिडियोसहित)



साउन १८, काठमाण्डौ । देशभर सर्वसाधारणदेखि प्रहरीसम्म कोरोना संक्रमित भइरहेकाबेला बिभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा लगाउन सुरु गरिएको छ । जोखिम बढेकै कारण काठमाडौंका नागरिक पनि लकडाउनको पक्षमा उभिन थालेका छन् ।। एक रिपोर्ट ।।

सुरुवाति दिनमा सरकारले दुईजना मात्रै संक्रमित हुँदा देश नै लकडाउन गर्यो । पछिल्लो पटक संक्रमितको संख्या बृद्धि भैरहँदा लकडाउन भने खुल्ला गरिएको छ । यसले झन खतरा बढाएको छ । पछिल्लो समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, न्यायाधीश, बैंक तथा सरकारी कर्मचारीमा संक्रमण बढेको छ । राजधानी काठमाडौंमा पनि संक्रमणको जोखिम बढेपछि यहाँका वासिन्दाले लकडाउन गर्न माग गरेका छन् ।

कोरोना संक्रमित र मृतक थपिँदै जाँदा देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने कतिपय क्षेत्रमा पुनः लकडाउन गरिँदैछ । अहिले सप्तरी, बिराटनगर, बाँके, पर्सा, बारा लगायतका क्षेत्रमा निषेधाज्ञा गरिएको छ । यसरी बिभिन्न स्थानमा कोरोना संक्रमणको मिटर उकालो लागेपछि न्यूनीकरणका लागि पुनः लकडाउन गर्न परेको हो । संक्रमणले भयावह रुप लिन थालेपछि स्वास्थ्य विज्ञहरुले पनि लकडाउन गर्नुको विकल्प नभएको बताएका छन् ।

हाल देखिने संक्रमितहरु लक्षणसहित भएकाले स्थिति खतरनाक बन्न थालेको हो । संक्रमितको संख्या बढेसँगै अस्पतालमा शैयाको अभाव हुन थालेको छ भने भ्यान्टिलेटरको संख्या पनि अपुग हुन थालेको छ । कतिपय संक्रमितहरु आफनै घरमा बसिरहेका छन । क्वारेन्टाइनमा बसेकाहरुलाई बिना परीक्षण घर पठाएकाले पनि संक्रमणको अवस्था भयावह हुन थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जोखिमलाई मध्यनजर गर्दैै अतिआवश्यक कामबाहेक अरु बेला घरबाट ननिस्कन आग्रह गरेको छ । विशेषगरी १२ बर्ष मुनिका बालबालिका र ६० बर्ष माथिका जेष्ठ नागरिहरुलाई घरबाट बाहिर ननिस्कन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आह्वान गरेका हुन् ।

मन्त्रालयले आडिटि विधिबाट कुनै पनि अस्पतालहरुलाई परिक्षण नगर्न सचेत गराएको छ । अब सरकारले पीसीआर परीक्षणलाई तीव्रता दिंदै क्वारेन्टाइन र उपचारको प्रभावकारी व्यवस्थापन गर्न जरुरी छ । अन्यथा, मुलुकलाई भयानक स्वास्थ्य दुर्घटनामा जानबाट कसैले रोक्न सक्ने छैन ।



प्रतिक्रिया दिनुहोस्