Logo

दाहाललाई चुनावी सरकारको नेतृत्व गर्न दिन ओली तयार, भोलि ठोस सहमति हुँदै



काठमाडौं, १८ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भोलि ठोस सहमति हुने भएको छ । पछिल्लो समय पार्टीभित्र बढ्दै गएको अन्तरविरोधलाई हल गर्नेगरि अध्यक्षद्धय ओली र दाहालबीच आज बालुवाटारमा करिब तीन घण्टा लामो छलफल भएको थियो । उक्त छलफलमा बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङपनि सहभागी थिए ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अध्यक्षद्धयबीच उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्तावकै जगमा बसेर सहमति हुने भएको छ । दुई अध्यक्षबीच भोलि बालुवाटारमा एक्लाएक्लै भेटवार्ता तय भएको छ । ओलीले चुनावी सरकारको नेतृत्व दाहाललाई दिने र चैत्रमा महाधिवेशन गर्नेगरि दाहालसँग सहमति गरेका छन् । र, महाधिवेशन सम्पन्न नभएसम्म दुवै अध्यक्ष कायम रहने र दाहाललाई पार्टी सञ्चालनको एकल जिम्मेवारी दिईनेबारे ओली सकारात्मक भएका छन् । र, प्रधानमन्त्रीमा ओलीको विकल्प नखोजिने र उनलाई संसदको यो कार्यकालभरि नै निरन्तरता दिन दाहाल पनि सहमत भएका छन् । मोटामोटी यही जगमा टेकेर भोलि ओली र दाहालबीच सहमति हुने बुझिएको छ ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले पनि दुई अध्यक्षबीच भोलि ठोस सहमति हुने दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पछिल्लो विवाद हल गर्नेगरि दुई अध्यक्षबीच वार्ता भैरहेको र भोलि नै निकास निस्किने ठोकुवा गरेका छन् । नेम्वाङको उक्त दाबीले पनि के पुष्टि गर्छ भने दुई अध्यक्षबीच करिब करिब आजै सहमति भैसकेको छ ।

उता, दाहालले प्रधानमन्त्री ओलीसँग आज भएको भेटवार्ता र छलफल सकारात्मक नभएको आफूनिकट नेताहरुलाई जानकारी गराएका छन् । दाहालले आज साँझ आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेर ओलीसँग भएको भेटवार्तामा दुवैजनाले आ आफ्नो अडान राखेको र सहमतिको गाँठो नफुकेको सुनाएका थिए । उनले आफूले भोलिपनि ओलीसँग भेटवार्ता गर्नेपनि नेताहरुलाई जनाएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्