Logo

पर्साः आजदेखि जिल्लाभर निषेधाज्ञा



वीरगञ्ज, साउन १९। साउन १० गतेदेखि पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका लागि जारी गरिएको निषेधाज्ञा आजदेखि जिल्लाभरका लागि जारी गरिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा साउन १७ गते शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्ज महानगरपालिकाभित्र रहेको निषेधाज्ञा साउन १९ गतेदेखि जारी गर्ने निर्णय गरेको थियो ।

पछिल्लो परिस्थितिको विश्लेषण गर्दै कोरोना भाइरस सङ्क्रमण व्यापक रुपमा फैलिन थालेपछि र सङ्क्रमितको व्यवस्थापनमा समस्या भएपछि अर्को सूचना नभइञ्जेलका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए।

पर्सामा साउनमा मात्रै १२ जना सङ्क्रमितको मृत्यु भएको छ भने पर्याप्त आइसोलेसन सेन्टर नहुँदा अधिकांश सङ्क्रमितहरूलाई घरमै राखिएको छ । लक्षणसहितका सङ्क्रमितलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने नीति अख्तियार गरिएको छ ।

होटलमा पेड आइसोलेसनको व्यवस्था पनि मिलाइएको छ । पछिल्लो परिस्थितिमा सङ्क्रमण अझै फैलिनसक्ने जोखिम बढेकाले जिल्ला सुरक्षा समितिले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्