Logo

आज जेरी खाँदै ओली-प्रचण्डबीच बस्ने बैठकले नेकपा विवाद समाधान होला ?



काठमाडौं, १९ साउन । नेपाल कम्युनिस्ट पार्टीलाई फुटबाट जोगाउन भरमग्दुर प्रयास भइरहेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति निकाल्न विभिन्न विकल्पमा छलफल भइरहेको छ जुन आज पनि हुँदैछ ।

आज विहान नौ बजे ओली र प्रचण्डबीच जेरी खाँदै कुराकानी गर्ने तय भए अनुसार बालुवाटारमा प्रचण्ड पुग्दैछन् । दुई अध्यक्षबीच ९ बजे जेरी खाँदै कुराकानी गर्ने सहमति भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए ।

दुवै नेताबीच लेनदेन र केही विषयमा ब्याक हुनसक्नेबारे समेत छलफल हिजो पनि भएको थियो । तर, निष्कर्ष निस्केन । ओली अर्ली महाधिवेशन गर्ने, चुनावी सरकारको प्रधानमन्त्री प्रचण्डलाई दिनेसम्ममा लचिलो भएको बुझिएको छ । तर, प्रचण्डले एक व्यक्ति एक पदको बटमलाइन छाडेका छैनन् ।

राजीनामा माग्ने समुहका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल कुनै हालतमा ओलीले राजीनामा दिनुपर्ने अडानबाट टसमस भएका छैनन् । उनी आफ्नो समुहबाट भएपनि ओलीलाई चुनौती दिइरहने पक्षमा उभिएका छन् । प्रचण्ड ओलीसँग मिलेपनि माधव नेपाल नमिल्ने गरी प्रस्तुत भएका छन् । त्यसैले ओलीले प्रचण्डसँगै कुरा मिलाउन बढी ध्यान दिएका छन् ।

सचिवालय सदस्यहरु बामदेव गौतम र रामबहादुर थापा बादल आफ्नो पक्षमा तानिएपछि ओली उत्साही भएका छन् । उनले सचिवालय बसेर टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । तर, प्रचण्ड र माधव नेपाल केन्द्रीय कमिटीबाट टुंगो लगाउने पक्षमा छन् । तर, ओली केन्द्रीय कमिटी टार्ने तयारीमा छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्