Logo

के प्रचण्डमा साहस हराएकै हो ?



समाचार विश्लेषण । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डेढ दशकयता नेपाली राजनीतिको केन्द्रबिन्दुमा छन् । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लाने मुख्य श्रेय उनैलाई जान्छ । प्रचण्ड नेतृत्वको दश वर्ष लामो हिंसात्मक माओवादी जनयुद्धले देशको राजनीतिक कोर्स नै बदल्यो । अढाई सय वर्ष देखिको केन्द्रिकृत राज्य प्रणाली र राजसंस्था नै ढल्यो । यसमा प्रचण्डको साहसिक राजनीतिक यात्रा नै मुख्य कारण थियो ।

जब प्रचण्ड गणतन्त्रको एजेन्डा लिएर जनयुद्धका लागि भुमिगत थिए तब अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रको कल्पना सम्म गरिरहेका थिएनन् । २०६२/६३ को जनआन्दोलनले गणतन्त्र आउँदैन भन्ने ठोकुवाका साथ ओलीले भनेका थिए, बयलगाडा चढेर अमेरिका पुगिदैन र यो आन्दोलनले गणतन्त्र आउँदैन । तर, उनै ओली गणतन्त्रका शक्तिशाली प्रधानमन्त्री बने । त्यो पनि प्रचण्डको साथ पाएर ।

ओलीले कुनैबेला माओवादीसँग मिल्नेलाई कायर भनेका थिए । तर, उनै ओलीले प्रचण्डलाई पार्टीभित्र आफूसहित अध्यक्ष बनाउन सहमत भए । चुनावमा एकता गरेर जाँदा बहुमत हासिल गरी आधा आधा अवधि सरकार चलाउने सहमतिमा प्रधानमन्त्री बने । तर, ओलीले प्रचण्डलाई गलाउँदै र कमजोर बनाउँदै लगेको घटनाक्रमले पुष्टि गरेको छ ।

आधा आधा सहमतिबाट प्रचण्ड ब्याक हुनुपर्यो । नेकपामा प्रचण्ड यति कमजोर हुँदै गएका छन् कि उनको पूर्व माओवादी समुहका केही प्रभावशाली नेताहरु ओलीसँग नजिकिएका छन् । समुहमा विस्तारै पहिरो गएको र ओलीले एकलौटी सरकार र पार्टी चलाएको भन्दै राजीनामा समेत मागे । दुईपटक राजीनामा माग्दा पनि ओली टसमस भएका छैनन् । प्रचण्डले ओलीविरुद्ध ठुलो साहस पनि गर्न सकेका छैनन् । उनी निकटस्थले नै प्रचण्ड किन यति कमजोर भए र साहस हरायो ? भनी प्रश्न गर्न थालेका छन् ।

गणतन्त्र ल्याउँदा होस् या विगत १५ वर्ष यताका कतिपय राजनीतिक घटनाक्रममा प्रचण्डले साहसिक निर्णयहरु गरेका थिए । उनले कतिपय निर्णयमा पछुतो समेत मानेका छन् । कटवाल प्रकरण गल्ती थियो भनेका छन् । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनुलाई पनि गल्ती मानेका छन् । पछिल्लो समय ओलीले एमालेसँगको एकीकरणलाई गल्ती मान्न थालेको निकटस्थले बताए । प्रचण्डले सार्वजनिक रुपमा आफूले कम्युनिस्ट एकता गर्दा गरेको त्यागबाट पश्चात्ताप त गर्नुपर्ने होइन भन्ने लाग्न थालेको बताएका छन् ।

प्रचण्ड अझै राजीतिको केन्द्रमा छन् किनभने अहिलेको राजनीतिक परिवर्तनको एजेन्डा र कार्यान्वयनमा उनकै मुख्य भुमिका हो । उनी तत्काल रक्षात्मक देखिएका छन् तर आक्रामक बन्न पनि तयार हुन्छन् । प्रचण्डले सार्वजनिक रुपमै भनेका छन् कि उनी बिघटन गर्न पछि पर्दैनन् । एकता केन्द्र बिघटन गरी माओवादी गठन गरे, माओवादी बिघटन गरी नेकपा बनाए । उनी कुनैपनि बेला साहसिक निर्णय गरी राजनीतिमा हावी भइरहने स्वभावका छन् । उनको यही स्वभावले कुनैपनि बेला अकल्पनीय कदम चालेर राजीतिक माहोललाई बदलिदिन सक्छन् ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्