Logo

ओली-प्रचण्डबीच छलफल भएर सहमति हुनुबाहेक अर्को विकल्प छैन : नेम्वाङ



सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले पार्टीभित्रको पछिल्लो गत्यावरोध फुक्ने र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाएका छन् । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपनेता नेम्वाङले पछिल्लो समय दुई अध्यक्षबीच सकारात्मक कुराकानी भैरहेको पनि जानकारी दिएका छन् । प्रस्तुत छ नेम्वाङ पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

सबैको ध्यान नेपाल कम्युनिष्ट पार्टीतर्फ छ । अब नेपाल कम्युनिष्ट पार्टीभित्र प्रधानमन्त्री के.पी. शर्मा ओली र प्रचण्डको बीचमा आज सहमतिको सम्भावना देखिएको हो ?

नेकपाप्रति सबैको ध्यान जानु स्वभाविक हो । सबैको ध्यान गएको छ, जान्छ भन्ने कुरालाई ध्यानमा राखेर यो पार्टी सबै नेता तथा कमरेडहरू चल्नुपर्छ भन्ने लाग्छ । दुई अध्यक्षको बीचमा राम्रो कुरा भएको छ र म आशावादी छु ।


के कुरामा राम्रो भयो ? सहमतिको संकेत देखिएको हो ? 

विषयको हकमा आज यस्तै भयो भनेर भन्न सक्ने अवस्थामा छैन । उहाँहरूबीचमा छलफल चलिरहेको छ । तर मैले कुन अर्थमा सकारात्मक र राम्रो भनेको हो भन्दा आज धेरै समयपश्चात दुई अध्यक्षको बीचमा राम्ररी सकारात्मक रूपमा र हार्दिकतापूर्वक छलफल भयो । साढे नौ बजेदेखि सुरु भएको छलफल साढे बाह्र बजेसम्म निरन्तर चल्यो । हामीले ग्रीन टि को साथमा त्यो छलफललाई अगाडि बढायौँ । यो छलफल भोली ९ बजेसम्मको लागि स्थगित भएको छ ।दुई अध्यक्षको बीचमा वार्ता र संवादलाई निरन्तर अगाडि बढाउनुपर्छ । सहमति गरेर नै पार्टीको समस्याको निकास निस्कन्छ भन्नेमा दुबै अध्यक्ष सहमत हुनुहुन्छ । त्यो अर्थमा आज सकारात्मक कुरा भएको छ ।

करिब करिब पार्टी फुटिसकेको थियो । फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीलाई बचाउनको लागि तपाईले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । आज तपाई जसरी बैठकमा के.पी. शर्मा ओलीको पक्षबाट प्रतिनिधित्व गर्नुभयो । झलनाथ खनाल र प्रचण्डले बैठकमा के भन्नुभयो ? के.पी. शर्मा ओलीले प्रधानमन्त्री छोड्नुपर्छ कि पार्टी अध्यक्ष छोड्नुपर्छ ?

सबैभन्दा पहिले त यो पार्टीलाई एकताबद्ध राख्नुपर्छ भनेर धेरैले प्रयास गर्नुभएको छ । त्यसमध्येको एक जना म पनि हुँ । हामी नेकपाको पक्षधर हौँ । यो नेकपालाई एकताबद्ध राखेर अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा हामीले हाम्रा २ जना अध्यक्षलाई सहयोग गरेका हौँ । जहाँसम्म आजका छलफलको विषय छ, थुप्रै विषयमा छलफलहरू भए । त्यसले निष्कर्ष प्राप्त गर्न बाँकी छ । त्यसैले यो विषयमा यस्तो छलफल भयो भनेर भन्न सक्ने अवस्थामा म छैन । छलफल सकारात्मक छ ।

प्रधानमन्त्रीले पार्टी अध्यक्ष के.पी. शर्मा ओली नै रहने गरी सहमति हुने सम्भावना कति छ ?

निष्कर्ष निस्किसकेपछि हामी यहाँहरूलाई जानकारी गराउँला । हाम्रो पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजान २ अध्यक्षको बीचमा सहमतिलाई वार्ता र संवादलाई टुंग्याउन आजको वार्ता सकारात्मक रह्यो ।

अहिले पार्टीमा रिसराग छ, द्वेष छ, त्यो मत्थर भयो ?

टुंगोमा नपुगेसम्म हिजो संविधान निर्माणमा यही प्रश्नहरू उठेका हुन् । एउटा विन्दुसम्म त सहमति नै भएन नि । तर भन्दाभन्दा तपाई हामी सबै लाग्दालाग्दा अन्तिममा सिंगो देशलाई एकजुट बनाउन सफलता हासिल भयो । संविधान बन्यो । त्यसैगरी अहिले पनि नेकपा एकताबद्ध भएर अगाडि बढ्छ भन्ने कसलाई विश्वास थियो ? तर आखिरमा त्यो विश्वास दिलाउँदै हामी एकताको प्रक्रियामा अघि बढ्यौँ । तर चाँडै हामी बीचमा विवाद उत्पन्न भयो । त्यो समस्यालाई समाधान गर्न फेरि हामी लाग्यौँ । केही दिन त बोलचाल नै बन्द भयो । यिनीहरू अब त बोल्दै बोल्दैनन् कि भन्ने स्थिति उत्पन्न भयो । तर सबैले आशाको सञ्चार गर्दै २ अध्यक्ष छलफल गर्न बसे । त्यसैले यो प्रक्रिया नै यस्तै हो । त्यसैले म त विश्वस्त छु । यो एउटा राम्रो टुंगोमा पुग्छ ।

संवादहीनताबाट तपाईहरु संवादमा आइपुग्नुभएको छ । संवाद निष्कर्षमा पुग्छ भन्ने आधार तपाईसँग छैन नि त ?

छ । म विश्वस्त छु, आशावादी छु । त्यहाँ जे जे कुराहरू भएका छन्, त्यो कुराकानीबाट अहिले जुन कारणबाट समस्याहरू देखिएका छन्, त्यसलाई हामी सम्बोधन गर्न सक्छौँ भन्ने मलाई विश्वास छ । कहिलेकाहीँ समय नपुगिकन कुरा भन्दा त्यसले समस्यालाई सुल्झाउने होइन समस्यालाई बल्झाउने काम गर्छ । त्यसैले यति मात्र म भन्न चाहन्छु, पर्खिदिनुस् । यहाँहरूले आ–आफ्नो ठाउँबाट हाम्रो पार्टीलाई सकारात्मक दबाब दिनुस् ।

हामीले दबाब दिइरहेका छौँ कि पार्टी फुट्नुहुन्न भनेर । तर जेठ २ अनुसार जान्छ कि मंसिर ४ को सहमति अनुसार जान्छ कि पछिल्लो समय वामदेव गौतमले ६ बुँदे प्रस्ताव राख्नुभयो, त्यतातिर जान्छ ? के हुन्छ मिलनविन्दु ?

छलफल गर्दै जाँदा धेरै कुराहरूलाई आधार बनाएर हामी निष्कर्षमा पुग्छौँ । खाली के हो त भन्दा त्यो निष्कर्ष पार्टीलाई एकताबद्ध बनाउने हुन्छ । त्यसमा विवाद नै छैन । पार्टी एकताबद्ध हुनुपर्छ, एकताबद्ध हुनुको विकल्प छैन । त्यसको लागि २ अध्यक्षको बीचमा वार्ता र संवाद हुनुपर्छ । पार्टी फुट्ने भन्ने तहमा पुग्नु भनेको ठिक होइन ।

प्रधानमन्त्रीको राजीनामा तपाईकै पार्टीको शीर्ष नेताहरुले माग्नुभयो । प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपालले माग्नुभयो नि ? 

मैले आफ्नो विश्वास व्यक्त गरिरहेको छु । अहिले हाम्रा नेताहरू कुरा त्यस्तो होइन, कुरा यस्तो हो भनेर छलफल गरिरहनु भएको छ । त्यसैले यो विवादको विषयमा म जान चाहन्न । यतिमात्र भन्छु, हाम्रो पार्टी नेकपा एकताबद्ध रहनुपर्छ । के.पी. शर्मा ओली र प्रचण्डबीच छलफल भएर सहमति हुनु बाहेक अर्को विकल्प छैन । सबैले अहिले यो कुरा मानेका छन् ।

एक व्यक्ति एक प्रमुख जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीभित्र सहमतिको मिलनविन्दु त्यही हो ?

बेला–बेलामा यी प्रसंगहरू आएका छन् । यस्ता प्रसंगहरू आउनुलाई म अन्यथा मान्दिनँ । तर म भन्दैछु –हामी एउटा टुंगोमा पुग्छौँ । यसले पार्टी एकताबद्ध हुनेछ । हामी त्यसैका लागि लागिरहेका छौँ । सिद्धान्तको कुरा गर्दा पार्टीको महाधिवेशनबाट अध्यक्ष फेरिन्छन् । के.पी. ओलीले म फेरि क्लास दोहो¥याएर पढ्दिन भन्नुभएको छ । हाम्रो पार्टीको जब महाधिवेशन हुन्छ, त्यो महाधिवेशन एकता र सहमतिको महाधिवेशन हुन्छ । त्यसले सम्पूर्ण विवादका विषयहरूलाई पनि टुंगो लगाउँछ । नयाँ अध्यक्ष पनि त्यो महाधिवेशनले छनौट गर्छ । जहाँसम्म प्रधानमन्त्रीको कुरा छ, त्यसमा नयाँ निर्वाचन हुन्छ, त्यसपछि देशले नयाँ प्रधानमन्त्री प्राप्त गर्छ । सिद्धान्तको कुरा यही हो, यसमा विवाद नै छैन । यो कसैको पक्षमा, कसैको विपक्षमा होइन ।

आज तपाईहरुको बैठकमा समस्या समाधानको पोको खोल्नुभएन अध्यक्ष प्रचण्ड र के.पी. शर्मा ओलीले ?

म नेकपाको निकट हुँ । उहाँहरू दुई जना अध्यक्षबाट म टाढा छैन । त्यहाँभित्र के–के कुरा भयो भनेर अहिले म भन्ने अवस्थामा छैन । अहिले मसँग धेरै कुराहरू जानकारी छ, तर त्यो सबै कुरा मैले अहिले भनेँ भने त त्यो परिपक्वता हुँदैन ।



प्रतिक्रिया दिनुहोस्