Logo

‘ईनफ ईज ईनफ’ का अभियन्ताहरूको अनशनको विषयवस्तु के हो भन्ने कुरा अहिलेसम्म हामीले बुझेका छैनौँ: डा. खेम कार्की (विज्ञ सल्लाहकार)



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले आम नागरिकहरू अनुशासित नभएसम्म संक्रमण रोकिन्छ भनेर नसोचेपनि हुने स्पष्ट पारेका छन् । उनले देशका अरु विभिन्न भागमा कोरोनाको संक्रमण फैलिनसक्ने खतरा औंल्याएका छन् । उनले आवश्यक व्यक्तिहरुलाई सरकारले पिसिआर परक्षिणसमेत गरिएको दाबी गरे । सरकारले गर्नुपर्ने सबै काम गरिरहेको कार्कीको दाबी छ । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार डा. कार्कीले ‘ईनफ इज ईनफ’ का अभियन्ताहरूसँगपनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले वार्ता गरिरहेको र अभियन्ताहरूले अघि सारेका माग सम्बोधन गरेको जिकिर गरे । प्रस्तुत छ डा. कार्कीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोनाको महामारी फैलियो काठमाडौँमा पनि । तपाईहरु के गर्दै हुनुहुन्छ, रोकथाम र नियन्त्रणको लागि ?

संक्रमण बढ्दै छ । अहिलेसम्म हेर्दाखेरि जबसम्म नागरिकहरू अनुशासित हुँदैनन्, त्यतिखेर सम्म संक्रमण रोकिन्छ भन्ने कुरा नसोचे पनि हुन्छ । देशको अरू विभिन्न भागहरूमा कोरोनाको संक्रमण फैलिन्छ कि भन्ने सम्भावना छ ।

के कारणले बढ्यो त संक्रमण ?

लकडाउन हामीले खोल्नैपर्यो किनभने सामाजिक, आर्थिक सारा जीवनहरू ३/४ महिनासम्म लकडाउन गरिसकेपछि स्वभाविक रूपमा यसलाई विस्तारै खुकुलो पार्दै जाने कुरा हो । संसारभरिले गरेको तरिका नै त्यही हो । त्यसकारण हामीले पनि लकडाउन खुकुलो बनाउँदै जाँदाखेरि लकडाउनभरिमा जति पनि स्वास्थ्यको मापदण्डहरू सिक्नुपर्ने हो हामीले, कम्तिमा ३ ओटा कुरा त हो नि, मास्क लगाइदिने, भीडभाडमा जाँदाखेरि अलिकति डिस्टान्स मेन्टेन गरिदिने, स्यानिटाइजरको प्रयोग गरिदिने, कोरोनाको नियन्त्रणको लागि योभन्दा अरू केही छैन विकल्प । अहिले विश्वको अनुभवहरू त्यही देखिन्छ । जुन देशमा जनताहरू अनुशासित छन्, स्वास्थ्यको मापदण्ड पालना गर्छन्, ती देशहरूमा नियन्त्रण गर्न सहज भएको छ ।

प्रदेश नम्बर २ मा कोरोना संक्रमण ह्वात्तै बढेपछि भयावह अवस्था आउनसक्छ भनेर सबैले भनेका छन् । तपाईहरुले कसरी त्यहाँ टिमलाई खटाइरहनु भएको छ ? स्वास्थ्य मन्त्रालयको टिम त्यहाँ पुग्यो ?

हाम्रो टिम हाम्रो महानिर्देशकको नेतृत्वमा नै संघीय सरकार एउटा टिम प्रदेश २ मा कार्यरत छ । त्यहाँ जे/जस्तो खालको संघीय सरकारले सहयोग गर्नुपर्ने हो, त्यो सहयोग गर्नको लागि कञ्जुस्याइँ भएको छैन । नेपालको संविधानले तीन वटा सरकारको परिकल्पना गरेको छ–स्थानीय, संघीय र प्रदेश सरकार । संविधानको अनुसूचीमा हेर्ने हो भने महामारी नियन्त्रण सबैको जिम्मेवारी भएको हुनाले सबै सरकार मिलेर हामीले यो महामारीको नियन्त्रणमा लाग्नुपर्ने हुन्छ । त्यसो हुनाले त्यहाँको स्थानीय र प्रदेश सरकारले भरमग्दुर प्रयास गर्नुभएको छ । संघीय सरकारले उहाँहरूले गर्नुभएको प्रयत्नलाई जे खालको सहयोग गर्नुपर्ने हो, त्यो गरेको छ । जनस्वास्थ्यको मापदण्ड परिपालना आमनागरिक लेभलमा भएको छैन ।

‘इनफ इज इनफ’को कुरा गर्दाखेरि समस्या जटिलतातिर गईरहेको छ । तपाईहरु वार्ता पनि गर्नुहुन्छ, समस्याको समाधान पनि गर्नुहुन्न । किन ?

उहाँहरूको मागको बारेमा म अलिकति कन्फ्युज छु । उहाँहरूले जे माग गर्नुभएको छ, त्यो हामीले स्वास्थ्य मन्त्रालयको तर्फबाट पूरा गरेका छौँ । उहाँहरूले के भन्नुभएको थियो भने टेस्टको दायरालाई बढाउनुपर्यो, त्यसपछि हामीले गाइडलाइन नै परिवर्तन गरेर टेस्टको दायरालाई बढायौँ । जो मान्छेहरूलाई आवश्यक हुन्छ, उहाँहरूको टेस्ट गरेका छौँ । उहाँहरूको माग हामीलाई बुझ्न गा¥हो भईरहेको छ । १०० प्रतिशत पि.सि.आर भन्नुहुन्छ । यो एउटा समस्या के छ भने पि.सि.आर भनेको टेस्ट हो । त्यो टेस्ट गरिसकेपछि निको हुने होइन । त्यो त पूर्ण संक्रमण छ कि छैन भनेर थाहा पाउने हो । आम जनसंख्याको टेस्ट गर्नुपर्छ भन्ने कुरा नै मैले बुझिरहेको छैन । टेस्ट त आवश्यकताअनुसार सबै मान्छेको गर्दै जाने हो ।

परीक्षणको संख्या बढाउन सक्नुभएन भन्ने ‘इनफ इज इनफ’को आरोप छ नि ?

उहाँहरूले भनिदिनुपर्यो त्यसोभए, क–कसको जाँच गर्नुपर्यो ल आउनुस् भनेर । टेस्ट गर्ने मान्छेहरू आउनुपर्यो  नि । टेस्ट गर्न आउने मान्छेलाई हामीले नजाँचेको भए उहाँहरूले लगाउने आरोप नि ठिकै कुरा हो । सुरक्षाकर्मी, स्वास्थ्यकमीहरूको टेस्ट गरिएको छ । उहाँहरूको माग के भन्ने कुरा हामीले बुझेका छैनौँ ।

अनशन नतोड्दाखेरि समस्याहरु आउन सक्छ । कांग्रेसले प्रस्ट रुपमा भनिसक्यो–रामचन्द्र पौडेलले पनि हिजो भन्नुभएको छ, माग पूरा नभए हामी संघर्षमा उत्रन्छौँ भनेर । अहिलेको अवस्थामा अनशन तोड्नका लागि तपाईहरुसँग के अस्त्र छ ?

हामी उहाँहरूसँग पटक/पटक कुराकानीहरू गरिरहेका छौँ । उहाँहरूको हाम्रो माननीय मन्त्रीज्युसँग पनि दुई दिन अगाडि लामो कुराकानी भयो । उहाँहरूको जति पनि मागहरू गरिएको छ, त्यो मागहरू त हामीले सम्बोधन गरिसकेका छौँ । तर उहाँहरूको अनशनको विषयवस्तु के हो भन्ने कुरा अहिलेसम्म हामीले बुझेका छैनौँ । १०० प्रतिशत पि.सि.आर भन्नुभएको छ, त्यो त आजको भोली हुने होइन । हरेक जनतालाई संक्रमण हुँदै गयो भने हामी टेस्ट गर्दै जान्छौँ । अहिले हाम्रो ३ लाखको हाराहारीमा पि.सि.आर टेस्ट नै भएको छ । ४ लाख नै पुग्न लागिसक्यो । हामी यो त निरन्तर गरिराख्ने प्रक्रिया हो । आजको भोली नै १०० प्रतिशत त कुनै पनि देशमा हुन सक्दैन । निरन्तर रूपमा टेस्ट कसलाई गर्नुपर्ने हो, ती व्यक्तिहरूलाई हामीले टेस्ट गरिरहेका छौँ । उहाँहरूको माग त कस्तो भने आजको भोली कुनै देशमा १०० प्रतिशत गरेको छ भने त्यो हामीलाई उदाहरण ल्याउनुपर्यो । त्यो कसरी गर्यो भन्ने प्रविधि हामीलाई थाहा भयो भने हामी १०० प्रतिशत टेस्ट गरिदिन सक्छौँ । अहिले सम्भव हुने विषय होइन । त्यसैले निरन्तरको प्रक्रिया हो । टेस्ट जसलाई गर्नुपर्ने हो, त्यो हामीले गरिरहेका छौँ । नमूनाहरू आएन भने हामीले विभिन्न ठाउँमा गएर नमूना संकलन गरेर टेस्टहरू गरिरहेका छौँ । यो भन्दा बढी के गर्नुप¥यो, त्यो उहाँहरूले हामीलाई भन्नुपर्यो, त्यो हामी गर्छौँ । file photo



प्रतिक्रिया दिनुहोस्