Logo

२०२० भित्रै सँसारभर कोरोना भ्याक्सिन आउनसक्ने, १६५ भन्दा बढी प्रकारका भ्याक्सिन विकासको चरणमा



प्रभात सिंहः अब कोरोना भाइरसको खोप उत्पादन हुन लागेको छ । रुसको गेमिलियाले केही दिनमै उत्पादन गर्न लागेको घोषणा गरिसकेको छ । खोप विकासमा रुस सबैभन्दा अगाडि देखिएको छ । रुसले क्लिनिकल परीक्षण पुरा गरेको त्यहाँका स्वास्थ्य मन्त्रीले घोषणा गरेका छन् ।

कोरोना भ्याक्सिनको विकासमा विश्वका पाँच कम्पनि अगाडि छन् । उनीहरु तेस्रो चरणको क्लिनिकल परीक्षणमा प्रवेश गरेका छन् । जसमध्ये सबैभन्दा अग्रपंक्तिमा रहेका खोप निमार्तामा रुसको गामेलिया, युरोपको अक्सफोर्ड आस्ट्राजेनेका, अमेरिकाको मोर्डना र पिफिजर छन् । उनीहरुले प्रति महिना दशौं लाख डज उत्पादन गर्ने देखि लिनसक्ने बजारको तयारी समेत गर्दै आएका छन् ।

रुसको गेमिलियाले क्लिनिकल परीक्षण पूरा गर्दा अन्य चार कम्पनि दोस्रो र तेस्रो चरणको परीक्षणको क्रममा छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो सुचीमा १६५ थरीका भ्याक्सिन विश्वभर विकासका क्रममा छन् । त्योभन्दा बढी पनि हुनसक्ने तर सबै प्रारम्भिक चरणमा छन् । २३ थरी भ्याक्सिन क्लिनिकल परीक्षणको क्रममा छन् । यति धेरै भ्याक्सिन किन विकास भइरहेको छ ? यो प्रश्न रोचक छ ।

भ्याक्सिन विकासमा धेरै कममात्र सफल हुन्छन् । अहिले विश्वभर १६५ भन्दा बढी प्रकारको भ्याक्सिनको विकास भइरहेपनि कमैमात्र सफल हुने सम्भावना रहन्छ । यो वर्षौ लामो प्रक्रिया हो जसमा ठुलो धनराशी र स्रोत खर्च हुन्छ । त्यसले भ्याक्सिन विकास अति जोखिमयुक्त हुन्छ । असफल भए करोडौं डलर र मिहेनत गुम्छ । त्यसमाथि विकास गरिहालेमा बजार राजनीतिक जटिल छ ।

भ्याक्सिन विकास भइहालेमा उत्पादक देशहरुले अन्य देशहरुलाई तत्काल उपलब्ध गराउने सम्भावना कमै छ । रुसले अक्टोबरमा सर्वसाधारणलाई भ्याक्सिन लगाउने घोषणा गरिसकेको छ । तर, उसले अन्य देशमा आपूर्ति गर्न विश्व स्वास्थ्य संगठनको मान्यता पाउन जरुरी हुन्छ । अर्कोतर्फ, उसले निकट देशहरुलाई पहिलो प्राथमिकतामा राख्न सक्छ । अमेरिककी कम्पनिहरुले भ्याक्सिनको विकास नगर्दै बुकिङ भइसकेको छ ।

भ्याक्सिन समयमै उपलब्ध नहुने हो कि भनेर सँसारका धेरै मुलुक परीक्षणमा जुटेका छन् । भ्याक्सिनको विकासमा इजिप्ट, नाइजेरिया, थाइल्यान्ड, अर्जेन्टिना, बँगलादेशलगायतका देशहरु पनि लागेका छन् ।

बलिया देशको स्वार्थ

खोपको विकासका लागि हजारौं वैज्ञानिकहरु सक्रिय भएका छन् । न्युयोर्क टाइम्सका अनुसार चीनमा मात्र हजारभन्दा बढी वैज्ञानिक कोरोनाविरुद्धको खोप विकासमा अहोरात्र सक्रिय छन् । चीनले खोपको विकासमा सैन्यकरण गरेको टिप्पणीहरु पनि भइरहेको छ ।

खोपको विकासका लागि रिसर्चका लागि मात्र अरबौं डलर खर्च भइरहेको छ । विश्वका धनाढ्यमध्येका बिल गेट्सले पनि खोपको विकासमा चाहिने धनराशी खर्च गरिरहेका छन् । धनी र शक्तिशाली देशहरुले अरबौं डलर खन्याइरहेका छन् । उनीहरु यसको परिणाम देखेरै लगानी गरिरहेका छन् ।

अमेरिकाको पिफिजर कम्पनिले खोपको विकासमा निकै आशा राखेको छ । उसले अरबौं डलर धनराशी कमाउने योजना समेत बनाएको छ । १० करोड डोज भ्याक्सिनवापत् उसले झण्डै दुई अर्ब डलर कमाउने हिसाब निकालेको छ । प्रति डोज भ्याक्सिनको २० डलरसम्ममा उपलब्ध गराउन सकिने पिफिजरको निष्कर्ष छ ।

अमेरिकाको मोर्डना कम्पनि पनि भ्याक्सिन विकासमा ढुक्क छ । उसले पनि अरबौं डलर आम्दानीको योजना बनाएको छ । १० करोड डोज भ्याक्सिन तयार गर्दा मोर्डनाले ५ अर्ब डलर कमाउने आँकलन गरिएको छ । उसले प्रति डोज भ्याक्सिनको ५० डलर मुल्य राख्नसक्ने जनाइएको छ ।

खोप निर्माता कम्पनिहरुले परीक्षण गरिरहँदा बजार समेतमा ध्यान दिन थालिसकेका छन् । रुसी, अमेरिकी र युरोपेली कम्पनिहरुको ध्यान विश्व बजारमा पनि रहेको छ । विश्वको अरबौं जनसंख्याका लागि भ्याक्सिनको बजार लिन सके खरबौं डलर आम्दानी हुनसक्छ ।

विश्वको सात अर्ब जनसंख्यालाई भ्याक्सिन पुर्याउने र भ्याक्सिनको एक डोजको २० डलरको मात्र हिसाब हुने हो भने एक अर्ब ४० अर्ब डलर हुनआउँछ । प्रतिडोज ५० डलर मुल्य राखिए झण्डै तीन खर्ब डलर हुनआउँछ । कोरोनाविरुद्धको खोप विकास गर्ने कम्पनिले अरबौं डलर आम्दानी गर्ने निश्चित छ । ती कम्पनिहरुले विश्वको तीन खर्ब डलरभन्दा ठुलो आम्दानी हुने खोप बजारमा नियन्त्रण कायम गर्न सक्छन् ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्