Logo

निगमले पाँच गन्तव्यमा उडान गर्दै



काठमाडौँ, १९ साउन: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौँ १ गतेबाट शुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान गर्ने निगमले जनाएको छ । उडान हुने गन्तव्य निश्चित भए पनि उडान तालिका टुङ्गिन नसकेको निगमका प्रवक्ता अर्चना खड्काले बताए । निगमले उडान गन्तव्य किटान गरी प्राधिकरणबाट अनुमति लिनेछ ।

यता प्राधिकरणले जनाएअनुसार निगमले भारतको नयाँ दिल्लीमा १४, बैङ्लोरमा तीन, मुम्बईमा सात तथा चीनको ग्वाङ्जाओमा तीन, दुबईमा सात, दोहामा सात, क्वालालम्पुरमा सात, बैङ्कक हङ्कङ र नारितामा समान तीन उडान गर्नेगरी प्रस्ताव आएको छ ।

हिमालय एयरलाइन्सले पनि पाँच वटा गन्तव्यमा सातामा २१ उडान गर्ने तयारी गरेको छ । हिमालयले चीनको चोङचिङ, यूएईको अबुधावी, साउदी अरबको दमाम, कतारको दोहा र मलेसियाको क्वालालम्पुरमा उडान गर्ने गरी प्राधिकरणबाट उडान अनुमति लिएको छ । कम्पनीले चोङचिङमा एक, दोहामा पाँच, अबुधाबीमा चार, दमाममा सात, क्वालालम्पुरमा सात उडान गर्नेछन् ।

बन्दाबन्दीपछि स्वास्थ्य प्रोटोकल पालना गर्दै उडान सञ्चालनका लागि सरकारले स्वीकृति दिएपछि मात्रै विदेशी एयरलाइन्सले व्यावसायिक उडान गर्न पाउछन् । विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मार्गनिर्देशनलगायत आधारमा नेपालको नियामक प्राधिकरणले स्वास्थ्य प्रोटोकल बनाएको छ । नेपालमा उडान गर्न चाहने सबै एयरलाइन्सले उक्त मापदण्डमा रहेको उडान सञ्चालन गर्नुपर्ने हुन्छ ।

यद्यपि, अन्तर्राष्ट्रिय उडानका लागि कुन एयरलाइन्सको गन्तव्य अनुसार कति उडान गर्ने भन्ने विषय अझै छलफलमै रहेको प्राधिकरणले जनाएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका थिए । सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ उडान र अवतरण गरी सरदर १०० उडान हुने गरेको थियो ।

सरकारले कोभिड–१९ रोकथामका लागि गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म नेपालभर बन्दाबन्दी लागू गरेको थियो । उक्त अवधिमा नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरिसकेको छ । उक्त निर्णय अनुसार गएको ९ चैतदेखि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि रोकिएको आन्तरिक हवाई सेवा सञ्चालनको तयारीमा वायुसेवा कम्पनी जुटेका छन् । आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका ४८ उडान स्वीकृति भएको बताइएको छ ।

बुद्ध एयरको १८, यती एअरलाइन्सको ११, श्री एयरलाइन्सको आठ तथा समान तीन उडान पाएको सीता, समिट र सीम्रिक एयरले २ वटा उडान गर्ने अनुमति पाएका छन् । आन्तरिक उडानको पनि औपचारिक निर्णय भइनसकेको प्राधिकरणले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्