Logo

राजनीतिक नक्सा आफ्नै पालामा सार्वजनिक भयो– मन्त्री अर्याल



काठमाडौं, १९ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको सम्पूर्ण भूमि समेटेर आफ्नै पालामा राजनीतिक नक्सा सार्वजनिक गरेको जानकारी दिएकी छन् ।

मन्त्रालयलले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगती समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मन्त्रालयले विगतमा छुटाइएको भूभाग समेटेर नेपालको अद्यावधिक÷राजनीतिक नक्सा सार्वजनिक, आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन, अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारका नाममा फिर्तालगायतका महत्वपूर्ण कार्य आफ्नो कार्यकालमा गरिएको जानकारी दिएकी हुन् ।

मन्त्री अर्यालले ३ करोड नेपाली जनताको सम्पत्ति सुरक्षा गर्ने जिम्मेवारी भूमि व्यवस्था मन्त्रालयलाई भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न कर्मचारीलाई निर्देशन दिईन् । उनले भनिन्– ‘जनताको सम्पत्तिको रक्षा गर्ने, जनताको सम्पत्तिको दस्तावेजहरुको स्क्यानिङ गरेर प्रविधिमैत्री बनाउने जिम्मेवारी हाम्रो काँधमा रहको छ’ तपाईहरु जिम्मवारीपूर्वक काममा लाग्नुस् ।’

मन्त्री अर्यालले स्थानीय तहमा सेवा हस्तान्तरण, भूमि बैंकको स्थापना, भूमिहीन सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी पुरा गर्नुपर्ने बताईन् ।

वार्षिक प्रगति समीक्षा वैठकमा बोल्दै मन्त्री अर्यालले प्रत्येक महिनाको कार्यतालिका बनाएर नतिजामूखी कार्यमा लाग्न आग्रह गर्दै तालिकाअनुसार समयमै काम पुरा गर्ने कार्यमा अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिईन्  । पहिलो चौमासिकदेखि नै कस्सिएर काममा लाग्नुपर्ने भन्दै उनले ऐन, नियम, कार्यविधि, नीति सम्बन्धिका लक्ष्यहरु समयमै सम्पन्न गर्नका निम्ति तदारुकताका साथ लाग्न आग्रह गरिन्  । सुशासन र सेवाग्राहीका सन्तुष्टीको लागि लाग्न आग्रह गर्दै मन्त्री अर्यालले मालपोत र नापीको हालको छबीलाई जनपक्षीय, जनमैत्री छ भन्ने विश्वास दिलाउन सक्दो प्रयास गर्नुपर्ने बताईन् ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि गत आर्थिक वर्ष र यस आर्थिक वर्षको प्रगतीमा तात्विक फरक नहुनु भनेको महत्वपूर्ण उपलब्धी रहेको मन्त्री अर्यालको भनाई थियो । यस आर्थिक वर्षमा मन्त्रालयले ७३.२० प्रतिशतको वित्तिय तथा ८०.११ प्रतिशतको भौतिक प्रगति गरेको छ । गत आर्थिक वर्षमा ६८.८० प्रतिशत वित्तिय र ९६.९४ प्रतिशत भौतिक प्रगती मन्त्रालयको रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्