Logo

भ्रष्टाचारमा मुछिएपछि स्पेनका ८२ वर्षीय पूर्वराजा कार्लोसले देश छाडे



एजेन्सी, २० साउन । भ्रष्टाचारमा मुछिएपछि स्पेनका पूर्व राजा जुआ कार्लोसले देश छाडेका छन् । उनी कुन देश पुगे नबताइएपनि देश छाडिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि ८२ वर्षीय पूर्व राजाले देश छाड्ने निर्णय गरेको स्पेनको राजदरबारले जनाएको थियो । पूर्व राजा कार्लोसले आफ्ना छोरा राजा फेलिपलाई चिठ्ठी लेखी देश छाड्ने निर्णय गरेको खुसाला भएको थियो । भ्रष्टाचारमा नातेदार मुछिई विवादमा आएपछि कार्लोसले फिलिपलाई छ वर्ष अघि सत्ता हस्तान्तरण गरेका थिए ।

देश छाडेपनि कार्लोसले भ्रष्टाचारको अनुसन्धानमा आफूसँग सोधपुछ गर्न चाहेमा उपलब्ध हुने भनेका छन् ।

कार्लोसमाथि साउदी अरेबियाको तिव्र गतिको रेल निर्माणको सम्झौतामा भ्रष्टाचार गरेको अभियोग छ । दुई महिना अघि स्पेनको सर्वोच्च अदालतले उक्त मामलामा अनुसन्धान शुरु गरेको थियो । ७ अर्ब ७० करोड डलर लागतको मक्का मदिनासम्मको रेल लिंक निर्माणमा स्पेनको निर्माण कम्पनिले ठेक्का पाएको थियो ।

सन् १९७५ मा जनरल फ्रान्कोको निधनपछि राजा कार्लोसले स्पेनलाई निरंकुशताबाट लोकतन्त्रतर्फ लगेका थिए । ३९ वर्ष शासन गरेर उनले सत्ता छाडेका थिए । स्पेन आर्थिक संकटमा पर्दा हात्तीको शिकारमा गएको र उनका ज्वाईं भ्रष्टाचारमा मुछिएर अनुसन्धानको दायरामा लग्दा विवादमा मुछिएपछि कार्लोसले सत्ता छाडेका थिए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्