Logo

नक्कली सुनको सक्कली कथा



काठमाडौं, २० साउन । प्रहरी अधिकृत इमान्दार भएर मात्र हुँदैन, ठिक समयमा उचित निर्णय क्षमता पनि चाहिन्छ भन्ने कुरा गत साता काठमाडौंमा भएको प्रहरीको एक अप्रेसनले पुष्टि गरेको छ । नक्कली सुन कारोबारी गिरोहलाई पक्राउ गर्ने क्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहालको कमजोर कमाण्ड क्षमताका कारण प्रहरी नै यतिबेला बदनाम हुन पुगेको छ ।

डिएसपी दाहाल इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर, इमान्दार हुनु नै क्षमतावान र राम्रो प्रहरी अधिकृत हुनु होइन भन्ने कुरा यो घटनाले पुष्टि भएको छ ।

नक्कली सुनको सक्कली कथा

यो बहुचर्चित घटनाको कथा गहना व्यापारी कौशल पटेल र प्रहरी जवान बहादुरसिंह कडायतको दोस्तीबाट सुरु हुन्छ । व्यापार चौपट भएपछि पटेल आर्थिक संकटमा फसेका थिए । उनी गलत काम गरेर पैसा कमाउने योजनामा थिए ।

उनका दाई देवान पटेलको सुनको अवैध कारोबार गर्ने इल्ताफ अन्सारीको समूहसँग चिनजान थियो । सो समूहले चाँदीमा सुनको जलप लगाएर भारतमा लगेर सुुन भनेर बेच्दै आएका थिए । सुनको जलप लगाउने काममा उनले सघाएका थिए ।

सो सुन लुट्ने र बरामद गराएर कमिसन लिने योजनामा कौशल र प्रहरी जवान कडायतबीच छलफल भएको थियो । कडायतले सुन बरामद गर्ने र कमिसन दिने प्रस्ताव राखे । सोही अनुसार उनी सुराकी बने । यसमा उनको दाई देवानसँग पनि छलफल भयो ।

सहमतिअनुसार नै गत मंगलबार सुन लिएर निस्कने गाडीको सुन देवान पटेलले कौशललाई दिए, कौशलले प्रहरी जवानलाई । सोही अनुसार कमलपोखरीको दुई बाटोमा प्रहरी एम्बुस राखेर बसे । कमलपोखरी अपार्टमेन्टबाट गाडी कमलादी मोड हुँदै हुँइकियो । प्रहरी जवान कडायतले मोटरसाइकलमा गाडीको पिछा गरे । सुन्धारामा गएर गाडीलाई उनीहरुले भेटे । तर, गाडी रोएिकन । थापाथलीतर्फ गयो, माइतीघर हुँदै फेरि सुन्धारा नै आयो । प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करका नाइकेद्वय इल्ताफ अन्सारी र सञ्जय पटेलले गाडीमा रहेका निलेश सखियालाई सुन र पेस्तोल रहेको झोला बोकेर झर्न र बसमा चढेर आउन भने । उनी झरेलगत्तै पक्राउ परे । प्रहरी जवान कडायतले उनलाई सुन्धाराको आकाशेपुलमा लिएर गए । त्यहाँ सुन र पेस्तोल रहेको झोला लिएर उनलाई छाडिदिए । सुन लुकाउने योजनाअनुसार उनले सखियालाई छाडिदिएका थिए । केही समयपछि डिएसपी दाहाल त्यहाँ पुगेर सुन लिए ।

त्यहाँ डिएसपी दाहालको कमजोरी थियो । एक उनले ढिला गरी त्यसबारे माथिका हाकिमलाई जानकारी दिए । अर्काे घटनास्थल कमलादी भनेर ढाँटेका थिए । आफ्नै क्षेत्रमा सुन बरामद भएको बताउँदा अन्य क्षेत्रका प्रहरीको सहयोग नचाहिने र कमिसन बाढ्न नपर्ने लोभमा परेर उनले यस्तो गल्ती गरेका थिए । सोही गल्तीका कारण उनलाई दरबारमार्ग वृत्तबाट हटाइएको छ ।

घटनामा संलग्न नौ जना पक्राउ परिसकेका छन् । फरार निलेश लगायत चार जनालाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको हो । दुई प्रहरी जवान बहादुरसिंह र प्रसन्न श्रेष्ठलाई समेत अभियुक्त बनाइएको छ । चाँदीमा सुनको जलप लगाउने मनिष मल्लिक तथा सुन लुकाउने उमेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुनको झोला बरामद भएलगत्तै एक टुक्रा सुन जवान बहादुरसिंहले श्रेष्ठलाई राख्न दिएका थिए । घटना शंकास्पद भएपछि महानगरीय प्रहरी कार्यालयले एसएसपी सुशील यादबको नेतृत्वमा छानबिन गरिरहेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्