Logo

भयावह स्थिति आईसक्यो, कडा लकडाउनको विकल्प छैन : डा. पाण्डे



जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले पछिल्लो समय कोरोना संक्रमण बढिरहेकोले आवश्यक सतर्कता सबैले अपनाउनुपर्नेमा जोड दिएका छन् । पाण्डेले तराई क्षेत्रमा समूदाय नै संक्रमित भएको अवस्थापनि सुनाए । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पाण्डेले जनघनत्व बढि भएका क्षेत्र, तराई र संक्रमण फैलिएका पहाडी क्षेत्रमा कम्तिमा पनि तीन साता कडा लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । उनले भनेका छन्,‘त्यो गरेमा संक्रमण सबैतिर नियन्त्रण हुन्छ भन्ने हाम्रो बुझाई हो ।’ प्रस्तुत छ डा. पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री ओलीले तपाईहरुलाई छलफल तथा परामर्शको लागि बालुवाटार बोलाउनुभएको हो ?

अहिले संक्रमण बढेको छ । तराइ क्षेत्रमा समुदाय नै संक्रमित भएको अवस्था छ । घनत्व धेरै भएका क्षेत्रहरू तराइ क्षेत्र र संक्रमण फैलिएका पहाडी क्षेत्रहरू ३ हप्ताको लागि कडाइका साथ लकडाउन गर्नसक्ने हुन सक्छ । त्यो गरेमा संक्रमण सबैतिर नियन्त्रण हुन्छ भन्ने हाम्रो बुझाई हो ।

लकडाउन नगरी फेरि जोर÷विजोरमा जान सकिन्छ ? सम्भावना के छ ?

अहिले समुदायमा नै संक्रमण देखिएको छ । हरेक क्षेत्रमा संक्रमण देखिएको छ । अहिले नै जोर÷विजोर लगाएर समाधान हुँदैन । अहिले कडा किसिमको लकडाउन गर्ने हो भने त्यस बीचमा ३ ओटा कुरा हुन्छ, कि त संक्रमित घरमै बस्दाखेरि निको हुन्छ, कि त अस्पतालमा जान्छन् गम्भीर भएर, कि त घरमै बस्दाखेरि अरू स्वस्थ मान्छेलाई सार्न सक्दैन । यसले ५५ प्रतिशत संक्रमण नियन्त्रण हुन्छ ।

त्यसो भए लकडाउनको विकल्प छैन ?

अहिले छैन किनभने अहिले धेरै भयावह स्थिति आइसक्यो ।

पहिला पनि त ३ महिना लकडाउन भयो । केही उपलब्धि त भएन । कोरोना रोकथाम त भएन ?

लकडाउन लामो समयसम्म गर्ने कुरा होइन । सीमामा नै शिल्ड गरिदिएको भए यस्तो अवस्था आउँदैनथ्यो । लकडाउन नियन्त्रण गर्न लाग्ने समय गर्ने र मापदण्डलाई एकदमै कडाइका साथ अपनाउने हो भने नियन्त्रण हुन्छ । हामीले लकडाउनको बारेमा पर्याप्त गृहकार्य गरिरहेका छौँ । अहिलेकै अवस्थाको कुरा गर्ने हो भने आइ.सी.यु प्याक छ । पहिलाको मोडल अहिले पनि प्रभावकारी हुँदैन ।

त्यसो भए अब नेपाललाई बचाउनको लागि लकडाउन र कफ्र्युसम्म जानुपर्छ ?

यो ३ हप्तालाई त्यसरी जानुपर्छ । ३ हप्तालाई एकदमै कडाइ गर्नुपर्छ । अहिले पश्चिम बंगालमा कोरोनाको संक्रमण बढेको छ कि त्यो निकै डरलाग्दो स्थिति छ । हामीले १०० प्रतिशत सीमा शिल्ड गरेनौँ भने हामी धेरै जोखिममा हुन्छौँ । हामीले व्यापक रूपमा टेस्ट बढाएर रेड जोनबाट मुक्त गर्नुपर्छ । रेड जोनमा लकडाउन गर्ने कि, त्यहाँ शिल्ड गर्ने कि, त्यो गर्नुपर्छ । पछि मात्र लामो दुरीको यातायात चलाउन सकिन्छ । रेड जोनमा आवतजावतलाई पूर्ण रूपले न्युनीकरण गर्नुपर्ने हुन्छ । यो गरेनौँ भने संसारमा कोरोनाको कारणले के के स्थिति भएको छ, ती देशहरूले कसरी आत्मसमर्पण गर्न पुगेका छन्, त्योभन्दा अप्ठ्यारो स्थिति यहाँ आउँछ । यसको उपचार पनि छैन, भ्याक्सिन पनि आएको छैन । त्यसो हुनाले हामी जनता सचेत हुनुको विकल्प छैन ।

जनताको सचेतना कम भएको हो भन्ने तपाईको बुझाई हो ?

नेपाली जनता सचेत छन्, अरू देशको भन्दा । अमेरिकाको नै कुरा गर्दा बन्दुक लिएर मान्छेहरू कोरोनाको विरुद्ध जुलुसहरू निकाल्ने, भारतमा जस्तो भीडमा हिँड्ने, त्यो खालको स्थिति नेपालमा छैन । अब सरकारले कडाई गरेर यो महामारीलाई नियन्त्रण गर्नुपर्छ । किनभने विश्व स्वास्थ्य संगठनले पनि भनेको छ, यो महामारी लामो समयसम्म जान्छ । अमेरिका, युरोपमा यसको संक्रमण व्यापक रूपमा बढेको छ । अहिले अष्ट्रेलियामा पनि भयकंर रूपले बढ्दै छ । भारतमा अहिले केही भन्न सक्ने स्थितिमा छैन । स्वास्थ्य उपचारका प्रणाली कम भएको हाम्रो देशले यसलाई ठेग्न सक्दैनौँ । त्यसैले हामी सकभर घरभित्रै बस्ने, जानैपर्छ भने सही तरिकाले मास्क लगाएर सामाजिक दुरी कायम गरेर हामी हिँड्नुपर्छ । त्यसपछि हामीले लकडाउन गर्नुपर्दैन ।



प्रतिक्रिया दिनुहोस्