Logo

साहित्यले चाहिँ मृत्युपछि पनि बचाइरहन्छ : राजकर्णिकार



नामः घनश्याम राजकर्णिकार
जन्ममितिः वि.सं. १९९८ माघ ३
माता/पिताः प्राणमाया राजकर्णिकार÷कृष्णबहादुर राजकर्णिकार,
शिक्षाः (१) एम.ए. (अर्थशास्त्र) (वि.सं. २०२४ त्रि.वि.)
(२) प्रोफेशनल एजुकेशन एण्ड एडभान्स ट्रेनिङ (जर्मनी, सन १९७२)
प्रथम प्रकाशित रचना : मिलनको क्षण (एकांकी) (२०२४, गोरखापत्र)
रचनाः विभिन्न पत्रपत्रिकामा औद्योगिक तथा साहित्यिक रचना प्रकाशित
प्रकाशित कृतिः (१) केही चिन्तन केही मन्थन (वि.सं. २०३५)
(२) विदेशको यात्रा स्वदेशको सम्झना, यात्रा अमेरिकाको माया नेपालको लगायत नियात्रा संग्रह
(३) सम्झनाको लहरमा लहरिंदै जाँदा, पवित्र सम्झना आमाको लगायतका संस्मरण संग्रह
(४) गजराज राजकर्णिकारको वंशावली (अनुसन्धान) (वि.सं. २०६१)
(५) बुद्ध ज्योतिका केही रश्मि (निबन्धसङ्ग्रह) (वि.सं. २०६४)
(६) यात्राको लहरी हिउँफूलकी रानी (वि.सं. २०६५)

आफ्नो लेखनलाई कसरी बढाइरहनुभएको छ ?

सोचेअनुसार हुन नसके पनि लेखनलाई यथावत् राख्न पाएकोमा सन्तुष्ट छु । जीविकोपार्जनको लागि व्यवसायमा पनि संलग्न हुनु मेरो धर्म हो । फुर्सदको समयलाई साहित्य लेखनमा उपयोग गर्न पाउँदा मलाई निकै गौरवको अनुभूति हुने गर्छ ।

नयाँ कृतिको तयारीमा पनि हुनुहुन्छ कि ?

अहिले म पाँचौं नियात्रा पुस्तकमा लागिपरेको छु । ‘यात्राको लहरी हिउँफूलकी रानी’ मेरो आजसम्मको पछिल्लो कृति नियात्रा कृति हो । साथै नेपालमा पाउरोटी उद्योगका अग्रणी पिताजी कृष्णबहादुर राजकर्णिकारबारे पनि पुस्तक लेखिरहेको छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ ?

कुनै पनि देश कति विकसित छ भन्ने कुरा त्यो देशको बाहिरी र भित्री आवरणले देखाउँछ । बाहिरी आवरण भनेको ठूला निर्माण, उद्योग, बन्दव्यापार, आर्थिक गतिविधि आदि हुन् । भित्री आवरण भनेको त्यो देशमा साहित्यको स्थिति के कस्तो छ, साहित्यको विकास कति भएको छ र त्यहाँका स्रष्टाको स्थिति के कस्तो छ भन्ने कुरा हो । अतः देश विकासको क्रममा राष्ट्रले बाहिरी विकासको साथै भित्री अर्थात् साहित्यको विकासको लागि पनि उपर्युक्त कदम चाल्नुपर्छ, पहल गर्नुपर्छ ।

साहित्यकारहरू समाजका पथप्रदर्शक, सचेतक र गहना अनि क्रीम अफ सोसाइटी हुन् । यस्ता प्रबुद्ध वर्गले बेलाबखत सरकारी कुकृत्यको आलोचना, खबरदारी तथा विरोध पनि गर्छन् । उनीहरूको भनाइलाई सरकारले शिरोधार्य गर्नुपर्छ, दमन गर्नु हुन्न ।

तपाईंको साहित्यिक आदर्श के हो ?

‘स्वान्तःसुखाय’को माध्यमबाट राष्ट्र प्रेम र राष्ट्रियताको सन्देश प्रवाह गर्नु नै मेरो साहित्यिक लेखनको आदर्श हो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?

गर्नेले इमान्दारसाथ आफ्नो दायित्व वहन गरिरहेका छन्, नगर्नेहरूचाहिँ अनेक किसिमका चलखेलमा लागिपरेका छन् अर्थात् साहित्यजस्तो शास्वत क्षेत्रमा पनि छद्मभेषी नभएका होइनन्, छन् । यसलाई मानवीय गुण वा अवगुण नै भन्नुपर्ला । यसबारे अहिले यति नै भनौं ।

तपार्इं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

हो– म आफ्ना कृतिबाट सन्तुष्ट छु, ती सबै मेरा सन्तानसरह हुन् । आफ्नो सन्तान जे÷जस्तो भए पनि त्यसलाई माया वा प्रेम गर्नु मेरो कर्तव्य हो ।

हिजो र आजको तुलना कसरी गर्नु हुन्छ ?

हिजो धेरै कुरामा अभाव र अकालको स्थिति थियो भने आज साहित्यको क्षेत्रमा पनि धेरै सहज तथा सुधारको वातावरण छ । साहित्य विकासको लागि यो उपयुक्त स्थिति हो ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

अनन्तकालसम्म मानिसलाई पे्ररणा र प्रोत्साहन दिने युगबोध, शिक्षाप्रद, जीवनोपयोगी, व्यवहारोपयोगी र राष्ट्रोपयोगी साहित्य लेख्नुपर्छ भन्ने मेरो विचार छ ।

लेखकीय जीवनबाट कहिलेकाहीँ निराश हुनुभएको त छैन ?

लेखनजस्तो शास्वत क्षेत्रमा समाहित हुन पाउनुमा म आफूलाई गौरवान्वित ठान्छु र यसमा लागेर म कहिल्यै निराश भएको छैन । बरु कहिलेकाहिँ जति गर्नुपर्ने हो– त्यति गर्न सकेको छैन भन्ने भावनाले उतर्सिन्छु ।

लेखनप्रति केले पे्ररणा दिइरहेको छ त ?

मैले जीवनमा जे/जस्तो कटुमधु, आरोहअवरोह र लाभहानि पाएर बाँचिरहेछु तिनै स्थिति÷परिस्थितिबाट सिर्जित भावनालाई मनभित्रै सीमित नराखी त्यसलाई प्रचारप्रसार गरी पाठकलाई अवगत गर्न लेखनले मलाई प्रेरणा दिइरहेको छ ।

लेख्ने निश्चित समय छ कि ?

लेखनको लागि मेरो त्यस्तो कुनै निश्चित समय छैन । बिहान, दिउसो, बेलुका जुनसुकै समय हुन सक्छ तर मनचाहिँ शान्त र सुव्यवस्थित भएको हुनुपर्छ र साथै मुड अर्थात् अन्तस्करणबाट प्रस्फुटित चाहना हुनुपर्छ ।

लामो समय लेखनमा बिताउँदा कस्तो महशुस गर्नुहुन्छ ?

पहिले/पहिले लहडले सुरु गरेको लेखनलाई निरन्तरता दिँदै समय बित्दै जाँदा यसबाट पाइने सन्तोष अवर्णनीय भएको अनुभव हुँदै गयो । साहित्यले चाहिँ हामीलाई मृत्युपछि पनि बचाइरहन्छ भन्ने कुरा लेखनमा लामो समय बिताउँदा महशुस भइरहेछ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?

लेख्ने बेलामा एकान्त वातावरण चाहिन्छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

मेरो अन्तस्करणबाट प्रस्फुरित आफूलाई मन पर्ने विषयमा अध्ययन, मनन, एवं अनुभव र अनुभूति गरी लेख्न मन लाग्छ ।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?

पाठकको मनमा स्थान पाउन सक्नु नै सफल स्रष्टाका गुण हुन् ।

तपाईंका साहित्यिक यात्राका सम्झनै पर्ने रोचक सन्दर्भ पनि छन् कि ?

मेरो साहित्यिक यात्राको क्रममा भए÷गरेका रोचकघोचक सन्दर्भ एवं प्रसङ्ग धेरै छन् । ती सबैलाई मेरा कृतिले स्पष्ट रूपले बोलेका छन् ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?

साहित्यको विभिन्न विधामा विभिन्नथरिका पाठक छन् तर विशेषगरी कथा, उपन्यास, संस्मरण, नियात्रा, जीवनी, ऐतिहासिक विवेचना आदि विधामा पाठक विशेष रूपले आकर्षित भइरहेका छन् कि जस्तो लाग्ने गर्छ मलाई ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्छ ?

सृजनामा सजीवता र काल्पनिकतामध्ये दुवैको वा दुईमध्ये एकको बढी प्रयोग भएको हुन्छ । यो सर्जकको क्षमता र प्रस्तुतिमा भर पर्दछ । सृजनामा सजीवता होस् वा काल्पनिकता मुख्य कुरा त्यसमा कलात्मक प्रस्तुति हुनुपर्छ किनभने साहित्यिक सृजनामा यी नभइ नहुने मूल तत्व हुन् ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?

जतिबेला मलाई आफूभित्रको संवेदनाले घच्घच्याउने गर्दछ– तब म लेख्न बस्छु, यसलाई मैले बाध्यता ठानेको छैन । तर व्यवसाय र लेखनतिर लागिपर्दा कहिले व्यवसायको लागि आफ्नो लेख्ने कामलाई तिलाञ्जली दिँदै नलेखिकन मन मिच्छु त कहिले लेख्नुपर्ने अवबोधले गर्नुपर्ने व्यावसायिक काम मिच्छु । यसैलाई मेरो बाध्यता भनूँ कि ?

तपार्इं साहित्यकार नहुनुभएको भए के हुने सम्भावना थियो ?

औद्योगिक व्यवसाय त मेरो पैतृक आर्जन नै हो । यसलाई त छोड्ने कुरै थिएन । तसर्थ साहित्यमा नलागेको थिएँ भने म केवल रुखो तर आर्थिक हिसाबले अझ सम्पन्न घनश्याम राजकर्णिकार हुने थिएँ । प्रस्तुति : जयराम सापकोटा



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम