Logo

सन्तोष पन्त भन्छन् : सरकारले नै गाईजात्रा देखाइरहेको छ



बरिष्ठ हाँस्यकलाकार सन्तोष पन्तले अहिले देशमा गाईजात्रा भैरहेको बताएका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेताहरुले देश र जनताप्रति उत्तरदायी भएर काम नगरेको गुनासो पोखेका छन् । उनले सरकारको कामबारे यस्तो टिप्पणी गरेका छन्,‘महँगी पटक्कै छैन । पानी आएर नुहाएर हामी बसिरहेका छौँ । यति व्यवस्थित छ । रेल आइसक्यो, घरघरमा ग्याँस आइसक्यो । नेपाली जनतालाई आश्वासन मात्र दिए पुग्छ । यस्तो राम्रो राम्रो नेताहरू पाएका छौँ । जनतालाई केही दिनै पर्दैन, आश्वासन दिनुस् पुगिहाल्छ ।’ प्रस्तुत छ कलाकार पन्तसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

गाईजात्रामा तपाई के गर्दै हुनुहुन्छ ? तपाईसँग गाईजात्राको के छ विशेष कोशेली ? केही कन्टेन्ट ल्याउनुभएको छ ?

छैन छैन । यसै गाईजात्रा भएको बेलामा के कन्टेन्ट ल्याउनु ? कन्टेन्ट त जम्मै हाम्रा देशका वरिष्ठ–वरिष्ठहरूले ल्याइहाल्नुभयो ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीबारे तपाईको भनाई के छ, आज गाईजात्राको दिनमा ?

म उहाँलाई केही पनि भन्न चाहन्न । हामी जस्तो मान्छेको के सल्लाह लिनुहुन्छ र उहाँले ? हामी जस्तो कमेडियन, जोकर, कलाकारहरूको कुरा कसले सुन्ने ?

कोरोनाको बारेमा बताउनुस् न ?

कोरोनाको विषयमा अघि भर्खर तपाईले अन्तर्वार्ता लिनुभएको प्लाज्मा थेरापीको बारेमा थाहा पाइयो । खाली खाली मास्क लगाउने भनेर हुन्न । कोरोना आँखा, नाक हुँदै घाँटीमा पुग्छ भनिरहनुभएको छ डाक्टरहरूले ।

सरकारले लकडाउन गर्ने कि नगर्ने भनेर छलफल पनि गरिरहेको छ नि ?

यतिका दिन छलफल नगरेर अनि आज आएर छलफल गर्ने ? सरकारले नै गाईजात्रा देखाइरहेको छ ।

गाईजात्रा त हाम्रो देशमा प्रत्येक दिन छ ?

हामीले जुन गाईजात्रा गर्न थालेका थियौँ, नेपाल प्रज्ञा प्रतिष्ठानमा, मैले एउटा कुरा सुनेको थिएँ, प्रताप मल्लको पालादेखि नै यो गाईजात्राको सुरुवात गरेको रहेछ । त्यो बेलामा प्रताप मल्लको छोरा बित्दाखेरि यो त हरेकको घरमा परेको छ भनेर यो प्रचलन सुरु भएको हो । नेवारी समाजको समुहले गाईजात्रा निकाल्न सुरु गरे ।

नेताहरूको बारेमा तपाईको टिकाटिप्पणी, प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतमको बारेमा केही छैन ?

हामीले गरेको टिकाटिप्पणी उहाँहरूले सुने पो हुन्छ त । के भन्ने हामीले उहाँहरूलाई ? आफै सोच्नुपर्दछ अब त ।

शीर्ष नेताहरूले जनताको चाहनाअनुसार काम गरेनन् भन्ने तपाईहरूको भनाई हो ?

महँगी पटक्कै छैन । पानी आएर नुहाएर हामी बसिरहेका छौँ । यति व्यवस्थित छ । रेल आइसक्यो, घरघरमा ग्याँस आइसक्यो । नेपाली जनतालाई आश्वासन मात्र दिए पुग्छ । यस्तो राम्रो राम्रो नेताहरू पाएका छौँ । जनतालाई केही दिनै पर्दैन, आश्वासन दिनुस् पुगिहाल्छ ।

लोकतन्त्रको व्यवस्थामा पनि केही समस्या देखियो ?

लोकतन्त्र व्यवस्था नाम मात्रको हो । नाम चाहि लोकतन्त्र भन्यो, तर काम भएन । हामीले यो सिक्नुपर्छ, लोकतन्त्र, प्रजातन्त्र भनेर नाम मात्र ल्यायौँ तर भित्र केही पनि छैन । ४ महिना लकडाउन भएर हामीले गाडी चलाउन पाएनौँ तर हामीले कर तिर्नुप¥यो । कर त मिनाहा गर्नुप¥यो नि । उल्टो हेर्दा कर, जरिवाना तिरायो । व्यवस्था देश अनुसारको हुनुपर्छ । हाम्रा जनता कस्ता छन्, हाम्रो परम्परा कस्तो छ, सबै हेर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्