Logo

रिपोर्टर्स क्लबको ‘गाइजात्रा विशेष’ मा कलाकारले भने– नेताहरु ३६५ दिन नै गाइजात्रा झिक्छन् (भिडियोसहित)



काठमाडौं, २० साउन । रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेषमा बोल्दै हाँस्य कलाकार तथा व्यङ्ग्यकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनीहरुले नेताहरुले तीन सय ६५ दिन नै नक्कली गाइजात्रा देखाइरहेको भन्दै व्यङ्ग्य गरे । कलाकारहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरुलाई गल्ती गर्न नदिन समेत आग्रह गरे ।

लोकप्रीय व्यङ्ग्यकार शैलेन्द्र सिंखडाले नेपालका नेता र जनताहरुको प्रकार छुट्याउँदै कडा व्यङ्ग्य गरे । उनले भने, ‘नेताहरु कोटे, नोटे, भोटे र चोटे छन् र नेपाली जनता अनुशासित र अनुबन्धित दुई प्रकारका छन् ।’ मन्त्रीको गाडीमा ब्रिफकेश किन हालिन्छ भनी नेताहरुले पत्ता लगाउनुपर्ने बताए । नेताहरुले ३६५ दिन नै गाइजात्रा मनाएको समेत उल्लेख गरे । आफूले ४० वर्ष गाइजात्रा मनाइसकेको र त्यस क्रममा नेपालको राजनीतिक तथा सामाजिक जीवनको अनेकन घटनाक्रम देखेको समेत बताए ।

सिंखडाले व्यंग्य गर्दै भने, ‘ नेताहरु ३६५ दिन नै गाइजात्रा झिक्नुहुन्छ तर त्यो नक्कली गाइजात्रा हो, आजको दिन कलाकारहरुले गरेको गाइजात्रा मात्र सत्य हो ।’ उनले सामाजिक, लैगिंक, राजनीतिक घटनाहरुलाई प्यारोडी मार्फत व्यंग्य गरेका थिए । सिंखडाले ऋषि धमलाको नाक लिम्पियाधुरासहितको नक्शा जस्तै रहेको भन्दै आफूलाई मन पर्ने बताए । उनले भने, ‘ऋषि धमलाको नाक ठ्याक्कै लिम्पियाधुराको जस्तो छ मलाई मन पर्छ ।’

हाँस्य कलाकार दमन रुपाखेतीले प्रधानमन्त्री केपी शर्मा ओली आफैमा गाइजात्रा भएको टिप्पणी गरे । उनले भने, ‘केपी बा आफैमा गाइजात्रा हुनुहुन्छ तर उहाँका धुपौरेबाट सावधान हुनुपर्छ ।’ औषधोपचारको पैसा नेताले खाएको र जनताले उपचार नपाएको भन्दै दमनले व्यङ्ग्य गरे । देश कोरोना महामारीसँगै बाढीपहिरोको प्रकोपमा रहँदा सरकार उदासीन रहेको आरोप लगाए ।

उनले भने, औषधीउपचार खर्लप्पै नेताले खाए, जनताले पाएनन् । प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले बेसार पानी खान भनेकोतर्फ व्यङ्ग्य गर्दै गीत समेत बजाए । कलाकारहरुमा देशको भुभागबारे सामान्य ज्ञान हुन आवश्यक रहेको भन्दै केही कलाकारप्रति व्यङ्ग्य पनि गरे । दमनले डबलीबाट शुरु भएको गाइजात्रा डिजिटलमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे । उनले टिकटक बन्द गर्न माग गरे । उनले भने, ‘टिकटकले बेथिती ल्याएको छ, हेर्नैनसकिने भइसक्यो अब बन्द गर्नुपर्छ ।’

कार्यक्रममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले सरकार र प्रतिपक्षी नेतालाई कवितार्फत व्यंग्य गरेको थिए । उनले देशमा सबै मिलेर लुटिरहेको भन्दै व्यङ्ग्य कविता प्रस्तुत गरेका थिए । कवितामार्फत् उनले शिर्ष नेताहरुलाई सिस्नुपानी लगाएका थिए ।

हाँस्यकलाकार सुबोध गौतमले राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरुको क्यारिकेचर गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र शाह, कम्युनिस्ट नेता मोहन बैद्य किरणको क्यारीकेचर गरेका थिए ।

हाँस्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले २०७७ सालको गाइजात्राको शुभकामना दिदै गएको वर्षको जस्तो अहिलेको गाइजात्रामा व्यस्त हुन नपाएको बताइन् । कोरोना भाइरसको महामारीका कारण गाइजात्रा फरक किसिमको भएका भन्दै भाइरसको संक्रमणबाट जोगिन सबैलाई आग्रह गरिन् । डंगोलले अब आउने वर्षमा यस्तो समस्या नआउने विश्वास गरिन् ।

हास्य कलाकार दिनेश काफ्लेले गाइजात्रा विशेषमा राजनीतिक, सामाजिक घटना र मिडिया प्रति व्यंग्य गरे । उनले कलाकारहरु मिडियामा भाइरल हुनुमा ऋषि धमलालको हात रहेको बताए । कलाकारहरुको विवादास्पद अन्तवार्ता लिएर धमलाले भाइरल बनाइदिएको बताए ।
कलाकार सन्दीव क्षेत्रीले मिठाइलालको क्यारिकेचरलाई लिएर कारबाहीका लागि गरेको सिफारिशलाई दुःखद भने ।

कलाकारले व्यङ्ग्य र क्यारिकेचर स्वतन्त्र र भयरहित तरिकाले गर्न पाउनुपर्ने बताए । उनले कलाकारले हराउदै गएको लवज (मिठाई लाल) को जर्गेना गर्दा कलाकार सन्दिप क्षेत्रीको विरोध हुनु दुखद भएको बताए । उनले भने, ‘कलाकारहरुले पुरानो परम्पराका लवजको जर्गेना गर्नुपर्छ, नत्र हराउछ ।’ उनले कलाकारहरु संयमित हुनुपर्ने भन्दै भुवन केसी र नायिका साम्राज्ञी शाह प्रति पनि व्यंग्य हाने । कलाकार दुर्गेश थापालाई प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलाले गाउन लगाएको गीतको कलाकारको नाम र गीत फरक भएको उक्त भिडियो निकै भाइरल भएको प्रसंगमा ऋषि धमलालाई व्यंग गर्दै काफ्लेले भने, ‘रातारात कलाकार भाइरल हुनुमा ऋषि धमलाको पनि हात छ ।’

हाँस्य कलाकार श्रीकृष्ण सिंखडाले भ्रष्टाचारीलाई टुँडिखेलमा राखेर नंग्याउनुपर्ने बताए । उनले नेताहरुप्रति व्यङ्ग्य गर्दै भ्रष्टाचारविरुद्ध कलाकारले आ आफ्नो ढंगबाट सक्रिय हुनुपर्ने बताए । उनले भने, भ्रष्टाचारीलाई टुँडिखेलमा राखेर नंग्याउनुपर्छ । नेकपा अध्यक्ष प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्रको सिंखडाले क्यारिकेचर गरेका थिए ।

गाइजात्रा विशेषमा व्यंग गर्दै भने, ‘दलालहरु कतिबेला कसलाई सिध्याउन पाइन्छ भनेर रातदिन लागेर बसेका छन् ।’ सिंखडाले नेताहरुले दुई वटा गाडी र दुई वटा घर जोड्न लागेको आरोप लगाउदै भने, ‘गाडी र घर बनाउने सोच सबै भन्दा सानो हो ।’

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले गाइजात्राको शुभकामना दिदै कोरोना भाइरसको महामारीमा सुरक्षित भएर देशहितमा सक्रिय हुनुपर्ने बताए । गाइजात्रामा स्वस्थ र सभ्य तरिकाले आलोचना र व्यङ्ग्य गर्ने परिपाठी विकास भएको बताए । उनले गाइजात्रा महामारीको बीच पनि भौतिक दुरी कायम राखेर मनाइउनुले परम्परा महत्वपूर्ण र बलियो रहेको प्रमाणित भएको बताए । उनले भने, ‘हिन्दु धर्म अनुसार गाईको महत्व धेरै छ यसको संरक्षण गर्ने हाम्रो दायित्व हो । त्यसरी नै हाम्रो चाडपर्व पनि संरक्षण गर्नुपर्छ ।’

कार्यक्रममा शिव शंकर रिजालले गीत र लामो कविता मार्फत सरकारलाई कडा रुपमा व्यंग्य हानेका थिए । अर्का हाँस्य कलाकार सुमन कार्कीले पत्रकार ऋषि धमलाको क्यारिकेचर गरेर नेताहरुलाई व्यङ्ग्य गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्