Logo

‘ऋषि धमलाको नाक ठ्याक्कै लिम्पियाधुराको चुच्चो जस्तो छ, मलाई मन पर्छ’ : शैलेन्द्र सिम्खडा



काठमाडौं, २० साउन । रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेषमा बोल्दै हाँस्यव्यङ्ग्य कलाकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनीहरुले नेताहरुले तीन सय ६५ दिन नै नक्कली गाइजात्रा देखाइरहेको भन्दै व्यङ्ग्य गरे । कलाकारहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरुलाई गल्ती गर्न नदिन समेत आग्रह गरे ।

लोकप्रीय व्यङ्ग्यकार शैलेन्द्र सिंखडाले नेपालका नेता र जनताहरुको प्रकार छुट्याउँदै कडा व्यङ्ग्य गरे । उनले भने,‘नेताहरु कोटे, नोटे, भोटे र चोटे छन् र नेपाली जनता अनुशासित र अनुबन्धित दुई प्रकारका छन् ।’ मन्त्रीको गाडीमा ब्रिफकेश किन हालिन्छ भनी नेताहरुले पत्ता लगाउनुपर्ने बताए । नेताहरुले ३६५ दिन नै गाइजात्रा मनाएको समेत उल्लेख गरे ।

आफूले ४० वर्ष गाइजात्रा मनाइसकेको र त्यस क्रममा नेपालको राजनीतिक तथा सामाजिक जीवनको अनेकन घटनाक्रम देखेको समेत बताए । सिंखडाले व्यंग्य गर्दै भने,‘नेताहरु ३६५ दिन नै गाइजात्रा झिक्नुहुन्छ तर त्यो नक्कली गाइजात्रा हो, आजको दिन कलाकारहरुले गरेको गाइजात्रा मात्र सत्य हो ।’

उनले सामाजिक, लैगिंक, राजनीतिक घटनाहरुलाई प्यारोडी मार्फत व्यंग्य गरेका थिए । सिंखडाले ऋषि धमलाको नाक लिम्पियाधुरासहितको नक्शा जस्तै रहेको भन्दै आफूलाई मन पर्ने बताए । उनले भने,‘ऋषि धमलाको नाक ठ्याक्कै लिम्पियाधुराको चुच्चो जस्तो छ, मलाई मन पर्छ ।’



प्रतिक्रिया दिनुहोस्