Logo

कोरोनासँग जुध्न कफर्यु लाग्ला ?



काठमाडौं, २० साउन । ‘लकडाउन गर्नुपर्नेमा लगभग सबै विज्ञको सुझाव रह्यो । तर, लकडाउनको ढाँचा कडा कि नरम भन्ने मात्र थियो,’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे गरेको परामर्शमा एकजना विज्ञले रिपोर्टर्स नेपाललाई भने । ओलीले सबैको सुझाव सुने र आफ्नो कुरा पनि राखे । जनताको जीवनभन्दा ठुलो अरु नहुने भन्दै उनले रोकथामका लागि जस्तोसुकै कडा निर्णय गर्नुपरे पनि सरकार पछि हट्न नहुने बताए ।

विज्ञको सुझाव पनि लकडाउन निश्चित समयका लागि नयाँ ढाँचा अनुसारको हुनुपर्ने रह्यो । प्रधानमन्त्री ओलीले पनि त्यस्तै संकेत गरे । तर, केही विज्ञले कफर्यु सम्मको कुरा झिकेपछि अन्यले त्यो हदसम्म जान नहुने भने । मानिसहरु भिडभाडमा देखिएको मास्क नलगाई हिंडेकोलगायतका विषय उठाउँदै कफर्यु लगाउनुपर्ने सम्मको सुझाव दिइएको थियो । तर, अधिकांश विज्ञले धेरै कडा बन्दा जनजीविकामा समस्या आउनसक्नेतर्फ सचेत गराए ।

स्वास्थ्य क्षेत्रका विज्ञहरु लकडाउन कडाई गर्ने देखि कफ्र्युसम्ममा जानुपर्ने भन्दै थिए । तर, आर्थिक क्षेत्रका विज्ञहरुले भने लकडाउन गर्दा उत्पन्न हुने परिस्थितिकोबारे सतर्क हुनुपर्ने भने । बरु मानिसहरुलाई मास्क अनिवार्य लगाउने देखि भीडभाडमा जान निरुत्साहित गर्ने कदम चाल्नुपर्नेमा जोड दिए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट उत्पन्न पछिल्लो परिस्थितिबारे ब्रिफिङ गरेका थिए । उनले स्थिति भयावह हुनसक्नेसम्मको जानकारी गराए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि सुझाव प्रस्तुत गरे । तर, उनी लकडाउनभन्दा अन्य विकल्पमा जानुपर्ने पक्षमा देखिए । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि महामारीमा एकजुट हुनुपर्नेमा जोड दिए ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्