Logo

प्लाज्मा थेरापी उपचार हाम्रो देशको लागि उपयोगी हुन्छ : डा. दास



छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले प्लाज्मा थेरापी उपचार नेपालजस्तो गरिब देशको लागि उपयोगी हुने बताएका छन् । उनले कोभिड–१९ को हकमा यो उपचार नेपालमा नयाँ भएको बताए । उक्त उपचार प्र्रविधि कत्तिको प्रभावकारी हुन्छ भनेर पत्रकार धमलाले राखेको जिज्ञासामा डा. दासले भने,‘ यो प्रविधि अहिले पनि इन्भेष्टिगेसनको फेजमा छ । कतिपय ठाउँमा यसको राम्रो प्रभाव देखिएको छ भने कतिपय ठाउँमा अपेक्षित प्रभाव देखिएको छैन । कुनैमा हामीले अपेक्षा गरेकोभन्दा राम्रो देखिएको छ ।’ नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार धमलाले डा. दाससँग विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ डा. दासँगको कुराकानीको सम्पादित अंश :

तपाईले नयाँ प्रविधि भित्र्याउँदै हुनुहुन्छ ?

प्रविधि आफैंमा नयाँ त होइन । पहिलादेखि पनि अरू रोगहरूको लागि प्रयोग भईराखेको हो । कोभिड–१९ को केशमा नयाँ हो ।

तपाईले यो प्रविधि कत्तिको प्रभावकारी हुने देख्नुभएको छ ?

यो प्रविधि अहिले पनि इन्भेष्टिगेसनको फेजमा छ । कतिपय ठाउँमा यसको राम्रो प्रभाव देखिएको छ भने कतिपय ठाउँमा अपेक्षित प्रभाव देखिएको छैन । कुनैमा हामीले अपेक्षा गरेकोभन्दा राम्रो देखिएको छ ।

तपाईले जुन किसिमको उपचार भित्र्याउनुभएको छ, त्यसले सफलता प्राप्त गर्न सक्छ ?

पहिलो केशमा राम्रो रिजल्ट देखियो । हामीले सोचेभन्दा छिटो रिजल्ट देखियो । अहिलेको अवस्थामा लक्षण भएका कोरोनाको इफेक्ट धेरै देखिएको छ । अहिलेपनि धेरै जना आइ.सी.युमा हुनुहुन्छ । त्यस्ता विरामीहरूको लागि यो उपचार प्रविधि लाभदायी हुन सक्छ ।

यसको महत्वको बारेमा र उपचारबारे बताउनुहोस् न ?

कोही संक्रमित भएर निको भईसकेको छ भने त्यस्ता व्यक्तिको ब्लडबाट, त्यस्ता व्यक्तिले दान गरेको ब्लडबाट अरू संक्रमित जो आइ.सी.युमा हुनुहुन्छ, जो भेन्टिलेटरमा जान सक्ने अवस्थामा हुनुहुन्न र जो पहिले नै भेन्टिलेटरमा गईसकेको छ, त्यस्ता व्यक्तिहरूलाई यो प्रविधिबाट उपचार गर्दाखेरि हामीले धेरै हदसम्म मान्छेको ज्यान जोगाउन सक्छौँ । नयाँ भ्याक्सिन पनि अहिले आइसकेको अवस्था छैन । यस्तो अवस्थामा नेपालमा नै बनाउन सकिने, विदेशबाट मगाउन नपर्ने, ठुला मेसिनहरू नचाहिने प्रविधि भएकोले हाम्रो गरिब देशको लागि उपयोगी हुन्छ ।

तपाईले कसरी उपचार गर्नुहुन्छ विरामीलाई यो प्रविधिमार्फत ?

सबैभन्दा पहिला त रक्तदान गर्ने मान्छे चाहियो जो संक्रमित भएर निको भईसकेको कम्तिमा २ हप्ता भईसकेको हुनुपर्ने, त्यस्ता व्यक्तिको हामीले पि.सि.आर टेस्ट गरेर त्यस्ता व्यक्तिको ब्लड लिइन्छ । र यो ब्लड लिइने प्रक्रिया २ ओटा छ । ब्लडबाट रेड ब्लड सेल र प्लेट्लेट्स छुट्याईन्छ । छुट्याएर बाँकी भएको तरल पदार्थलाई प्लाज्मा भनिन्छ ।

प्लाज्मा थेरापीको बारेमा बताउनुहोस् ?

प्लाज्मामा भाइरससँग लड्ने एन्टीबडीहरू हुन्छ । यसले संक्रमित भाइरसलाई निष्क्रिय पारिदिन्छ । एउटा व्यक्तिमा भएको एन्टीबडी हामी अर्को व्यक्तिमा दिएर उपचार गर्छौँ ।

प्लाज्मा थेरापीले मान्छेमा एउटा उत्साह आयो ?

पहिलो केशले त त्यस्तै देखाएको छ । पछिपछि अगाडि टेस्ट गर्दै जाँदा के हुन्छ, त्यो ठ्याक्कै भन्न सकिँदैन । तर पहिलो केशले हामीलाई उत्साह जगाएकै हो ।

विरामीहरू उत्साहित छन् कि छैनन् ?

जुन विरामीलाई हामीले उपचार ग¥यौँ, उहाँलाई हामीले ४८ घण्टाभित्र आइ.सि.युबाट निकाल्यौँ । कतिपय अवस्थामा भेन्टिलेटर नचाहिने अवस्थामा पुग्यो । अक्सिजन पहिले ८० देखि ९० प्रतिशतसम्म राखिएको थियो । ४८ घण्टापछि त्यो झरेर ३४ देखि २८ प्रतिशतमा पुग्यो ।

प्लाज्मा थेरापीले सबै कोरोनाका विरामीहरूलाई अक्सिजन दिन सक्छ, सञ्जीवनी बुटि हो यो ?

प्लाज्मा थेरापी सबै कोरोना विरामीका लागि होइन । यो केही लक्षणहरू देखिएको हुन्छ, ती विरामीहरूलाई मात्र हुने हो । जसलाई आइ.सी.यु, भेन्टिलेटर चाहिएको छ, ती विरामीहरूलाई हामी प्रयोग गर्नसक्छौँ । क्रिटिकल अवस्थामा पुगेका विरामीहरूका लागि हो, सबै कोरोना विरामीका लागि होइन ।

अहिले भ्याक्सिन पनि बनेको छैन । थेरापीले पनि अहिले केही उपचार हुन्छ ?

भ्याक्सिन बनेको पनि छैन । सन् २०२० मा भ्याक्सिन बन्लाजस्तो पनि लाग्दैन । केही औषधीहरूले राम्रो रिजल्ट देखाएको छ तर त्यो औषधी अहिले हाम्रो पहुँचमा छैन । अहिले त्यो औषधी विदेशबाट मगाउनुपर्ने हुन्छ । त्यो ज्यादै महँगो हुन्छ । प्लाज्मा थेरापी भनेको हाम्रो यहीको व्यक्तिले ब्लड दान गर्न सक्छ । ब्लड बैंकबाट हामीले ब्लड प्राप्त गर्न सक्छौँ । यो प्रविधिले उपचार गर्नको लागि धेरै नै हित हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस्