Logo

साँढे १२ बजेको साइत पारेर मोदीले यसरी गर्दैछन् राममन्दिर निर्माणको शुभारम्भ



एजेन्सी, २१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ गर्ने भएका छन् । उनले भारतीय समय अनुसार दिनको ठिक साँढे १२ बजे भुमिपुजा गर्नेछन् । पुजा १५ मिनेटमा सकिनेछ ।

मोदीले गर्ने भुमिपुजामा १७५ जना चुनिएका अतिथिहरु मात्र सहभागी हुनेछन् । मोदी, उत्तर प्रदेशी गभर्नर आनन्दीवेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र विश्व हिन्दु महासंघका प्रमुख मोहन भागवत र मन्दिर ट्रष्टका अध्यष नृत्य गोपाल दास मञ्चमा हुनेछन् ।

मोदीले पारिजातको विरुवा रोप्नेछनर मन्दिरको तस्बिर अंकित हुलाक टिकट सार्वजनिक गर्नेछन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीले राम मन्दिर निर्माणलाई विशेष दिनका रुपमा लिएको छ । भारतभर दिपप्रज्वललनको अनुरोध समेत गरेको छ ।

यसैगरी, राम मन्दिर निर्माणको शुभारम्भमा भारतलगायत विश्वभरका हिन्दु संघसंगठनले विशेष उत्सवका रुपमा मनाउने भएका छन् । नेपालमा पनि विश्व हिन्दू परिषद्, नेपालले उत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।

परिषद्ले हिजो प्रेस विज्ञप्ति जारी गरी कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै भोलि स्थानीय स्तरमै कार्यक्रमहरु गरी उत्सव मनाउन अनुरोध गरेको छ । परिषदले भजन कीर्तन, शोभा यात्रा र दिपोत्सवको कार्यक्रम तय गरेको जनाएको छ ।

परिषद्का अनुसार श्रीराम मन्दिरलाई सन् १५२८ मा तोडिएको थियो । लगातार ४९२ वर्षको संघर्षको प्रतिफल अयोध्यामा पुनः श्रीरामन्दिर निर्माण हुन लागेको भन्दै खुशी व्यक्त गरेको छ ।

यसैगरी, राम मन्दिर निर्माणको शुभारम्भ हुनु ठिक एक दिन अघि कँग्रेस आईकी महासचिव प्रियंका गान्धीले उक्त अवसरलाई राष्ट्रिय एकताको अवसर बनाउन भनेकी छिन् । उनले हिजो वक्तव्यमार्फत् भगवान रामको गाथाबारे समेत उल्लेख गरेकी छिन् ।

प्रियंकाले भनेकी छिन्, सरलता, साहस, संयम, त्याग, वचनवद्धता, दीनबंधु राम नामको सार हो । राम सबमा छन्, राम सबको साथ छन् । उनले रामायणको योगदानको समेत चर्चा गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्