Logo

नेकपा विवादः बामदेवको छ बुँदे प्रस्ताव परिस्कृत गरी ओलीले एक पद छाडे कुरा मिल्ने



काठमाडौं, २१ साउन । नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानका लागि आज पनि बालुवाटारमा बैठक बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साँझ ५ बजेका लागि तय भएको बैठकमा समाधानको बिन्दु तयार गर्नेबारे छलफल हुने बुझिएको छ ।

हिजोको बैठकमा ओली र प्रचण्डबीच चर्काचर्की भएपछि विवाद झन् पेचिलो बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले झन् एकलौटी ढंगले पार्टी चलाएको भन्दै प्रचण्डले असन्तुष्टि पोखेका थिए । उनले ओलीको सन्देश बोकेर बालुवाटार आउने दोस्रो पुस्ताका नेताहरुलाई दासको संज्ञा दिइसकेका छन् । यसबाट अब प्रचण्ड खरो रुपमा अगाडि बढ्ने संकेत गरेका छन् ।

प्रचण्डले हिजो भैंसेपाटी पुगेर उपाध्यक्ष बामदेव गौतमलाई भेटेका छन् । भेटमा गौतमले प्रस्ताव गरेको छ बुँदेबारे छलफल भएको बुझिएको छ । प्रचण्डले छ बुँदामा केही परिस्कृत गरे कुरा मिल्ने बताएको स्रोतले बताएको छ । प्रचण्डले ओलीले पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने बुँदा थपेर जानुपर्नेमा जोड दिएको बुझिएको छ । यसो भएमा कुरा मिल्नसक्ने उनको भनाई थियो ।

आफूहरुले प्रधानमन्त्री नै छाड्नुपर्छ नभन्ने तर ओलीले पार्टी र सरकार दुवै एकैपटक संचालन गर्न नसक्दा कमजोरीहरु देखिएको विषय राखेका थिए । सहमतिको बिन्दु ओलीले एक पद छाड्नुपर्नेसम्म हुनसक्ने र त्यो हदसम्म लचिलो हुनसकिने प्रचण्डको भनाई थियो । बामदेवले यसबारे थप छलफल गर्न सकिने धारणा राखेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्