Logo

जब ओलीले बामदेव र नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने तुरुप फाले



काठमाडौं, २१ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्ने समुहलाई तहसनहस पार्ने रणनीति बनाएका छन् । त्यसका लागि एकपछि अर्को राजनीतिक तुरुप फालिरहेका छन् । उनले फालेका तुरुपले धेरै हदसम्म काम पनि गरिरहेको छ । ओलीले आफ्नो राजीनामा माग्ने समुहलाई फुटाउन सफल भइसकेका छन् । सचिवालयमा उनको विपक्षमा रहेका बामदेव गौतम र रामबहादुर थापा बादलले साथमा लिन सफल भइसकेका छन् ।

ओलीले घरमै पुगेर डिनर गफ गरी बामदेव गौतमलाई फकाउन सफल भएका छन् । गौतमसँग केही राजनीतिक लेनदेन पनि भइसकेको बुझिएको छ । उनलाई राष्ट्रियसभामा लैजाने र उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने तयारी गरिएको छ । यसका लागि हुने संवैधानिक जटिलता आउन नदिने वातावरणबारे समेत कुरा बढाइसकेका छन् । गौतमले छ बुँदे प्रस्ताव सार्नुमा ओलीसँगको केही सहमति पनि हो । छ बुँदे प्रस्तावलाई ओलीले सकारात्मक मानिसकेका छन् ।

मन्त्रिमण्डल पुर्नगठन गरेर जान भन्दा पनि प्रचण्डले नमानेपछि ओली रणनीतिक ढंगले प्रस्तुत भएका हुन् । ओलीले प्रचण्ड पक्षका नारायणकाजी श्रेष्ठलाई पनि फकाउन खोजेका छन् । श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनाउने आश्वासन दिइएको छ । तर, श्रेष्ठ फकिएका छैनन् । उनले प्रचण्डलाई नै साथ दिइरहेका छन् ।

सचिवालयका बामदेव र नारायणकाजी पनि ओली नजिक आएमा अर्को समुहमा तीनजना मात्र बाँकी रहनेछन् । विगतमा ओलीसँग तीनजना रहेकोमा उल्टिएर अब ओलीइतर समुहमा तीनजना मात्र सचिवालय सदस्य हुने अवस्था बन्ने ओली समुहको निष्कर्ष छ । त्यसैले ओलीले सचिवालयबाट टुंगो लगाउन भन्न थालेका छन् । यसलाई ओली ठुलो सफलतातर्फ उन्मुख भएको रुपमा बुझिन थालिएको छ ।

मन्त्रिमण्डल पुर्नगठन गरी विरोधी तह लगाउने र आन्तरिक व्यवस्थापन पनि गर्ने ओलीको तयारी छ । विश्वस्त स्रोतका अनुसार ओलीले भीम रावललाई पनि परराष्ट्र मन्त्री बनाएर फकाउन खोजेका छन् । माधव नेपालबाट टाढिएका दोस्रो पुस्ताका योगेश भट्टराई र घनश्याम भुषालहरुलाई पनि मन्त्रीमा कायमै राख्ने ओली पक्षको योजना बनिसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्