Logo

प्रधानमन्त्रीले किन स्थगित गरे प्रचण्डसँगको भेट र क्याबिनेट



काठमाडौं, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सबैजसो भेट र बैठकहरु स्थगित गरेका छन् । विहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार आउँदै गर्दा बाटैबाट अन्यत्र मोडिनुपरेको छ ।

प्रचण्ड कोटेश्वर कटिसकेकोमा बैठक स्थगित भएको भन्दै प्रधानमन्त्रीनिवासबाट जानकारी आएको बुझिएको छ । आजको भेटमा महत्वपूर्ण कुराकानी गरी नेकपा विवाद टुंग्याउने तय भएको थियो ।

यसैगरी, अपरान्हका लागि डाकिएको क्याबिनेट बैठक पनि स्थगित भएको छ । बैठक बस्ने भनी मन्त्रीहरुलाई खबर गरिसकेकोमा पछि स्थगित भएको बुझिएको छ । मन्त्रीहरुलाई आज बैठक नहुने जानकारी भइसकेको छ ।

प्रधानमन्त्री ओलीले बैठक स्थगित गर्नुमा कोरोना जोखिम पनि कारण रहेको छ । प्रचण्डका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पत्ता लागेको छ । खुमलटारको सुरक्षामा खटिने छजनामा संक्रमण पत्ता लागेको छ ।

यसैगरी ओलीलाई बालुवाटारमै भेटेका प्रदेश नम्बर २ का आन्तरिक मामलामन्त्री ज्ञानेन्द्र यादव पनि कोरोना संक्रमित भएका छन् । हाल अस्पतालमा आइशोलेशनमा रहेका यादवले गत हप्तामात्र ओलीलाई बालुवाटारमा भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्