Logo

संकटको घडीमा उद्धार उडान भर्ने निगमका पाईलटहरु



काठमाडौं, २२ साउन । विश्व यतिवेला कोभिड–१९ (कोरोना भाईरस) संक्रमणका कारण लकडाउनमा छ । कतिपय देशहरुले लकडाउन खुकुलो बनाएका छन् भने कतिपयले अझै जारी राखेका छन् । नेपालले पनि चार महिना लकडाउन गरेको थियो । अहिले लकडाउन खुकुलो बनाईएको छ । लकडाउनका कारण आन्तरिक तथा बाहृय दुवै उडान सेवा बन्द छ । आगामी भदौ १ गतेदेखि हवाई उडान सुरु गर्ने भनिएको छ । तर, यकिन भैसकेको छैन् । पर्यटन व्यवसायीहरू अझैपनि अन्यौलमा छन् ।

लकडाउनका कारण विदेशमा अलपत्र परेका नेपालीहरूलाई नेपाल सरकारले चाटर्ड–फ्लाईटमार्फत उद्धार गर्ने निर्णय गरेसँगै नेपाल वायु सेवा निगमले सेवा दिँदै आएको छ । उसले गत जेठ ३२ गतेदेखि उद्धार उडान सुरु गरेको हो । र, अहिलेपनि निगमको उद्धार उडान जारी छ । अहिलेसम्म निगमले अष्ट्रेलिया, जापान, बहराईन, साउदी अरब, ओमन, दुवई, मलेसिया, कतार, कुवेतलगायतका देशमा उद्धार उडान भरेको छ ।

कोरोना महामारीको बेलामा विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउनको लागि निगमले खेलेको भूमिकाको चौतर्फी प्रशंसा भैरहेको छ । उद्धार उडानमा खटिएका विमान चालक र सह–चालकहरूलाई उचित सम्मान गर्नुपर्ने पनि आवाज उठेको छ । संकटको यो घडीमा ती पाईलट तथा को–पाईलटहरुले आफ्नो ज्यान बाजी राखेर राष्ट्रप्रतिको दायित्व निर्वाह गरेका छन् । उनीहरुको भूमिका जति नै प्रशंसा गरेपनि कम हुन्छ ।

निगम व्यवस्थापनको मुख्य निकाय अप्रेसन विभाग प्रमुख क्याप्टेन दीपुराज ज्वारचनले उद्धार उडानको लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका हुन् । कोरोना महामारीको यस्तो विषम परिस्थितिमा पनि ज्वारचन दैनिक १८ घण्टासम्म खटिँदै आएका छन् । उनको भूमिकाबारे चौतर्फी प्रशंसा भैरहेको छ । निगमले तेस्रो चरणसम्म ७३ उडान गरेर १३ हजार ७ सय ९६ यात्रुलाई सेवा दिएको छ । र, चौथो चरणको उद्धार उडान १८ वटा गर्दै छ । निगमले दुई वार्डडबडी एयरबस ३३० र एयरबस ३२० सिरिजका दुई थान न्यारोबडीमार्फत उद्धार उडान भरेको हो ।

कोरोनाको संकटमा पनि उद्धार उडानको लागि ज्यानको बाजी राखेर उद्धारमा खटिने पाईलटहरुमा अप्रेसन विभाग प्रमुख दिपुराज ज्वारचन, पाईलटहरु यामप्रसाद ज्वारचन, योगेश हिराचन र उद्धव घिमिरे रहेका छन् । यी पाईलटहरुले आफ्नो ज्यानको बाजी राखेर उद्धार उडान भरेका हुन् । उद्धार उडानमा खटिएका पाईलटहरु काठमाडौंको सोल्टी होटलमा बसेका हुन् । उनीहरु यो बीचमा परिवारबाट टाढा नै रहेका छन् ।

निगमले उद्धार उडानका समयमा पाईलटहरुलाई भेदभाव गरेको भन्ने आरोप लागेपनि त्यसमा कुनै सत्यता नभएको निगमनिकट उच्च स्रोतको दाबी छ । यस्तो बेलामा राष्ट्रको सेवा गर्नेहरुलाई सरकारले विशेष सम्मान गर्नुपर्छ ।

उद्धार उडानमा क्याप्टेन योगेश हिराचनले (९८ घन्टा), क्याप्टेन यामप्रसाद ज्वारचननले (८७ घन्टा ३० मिनेट) र को–पाइलट उद्धव घिमिरेले (७५ घन्टा ३० मिनेट) उडान भरेका थिए । निगममा न्यारोबडी ३२० मा ३३ जना पाईलट र को–पाईलट छन् । निगमकै केही पाईलटलाई कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमण नदेखिएका पाईलटहरु पनि विभिन्न बहानाबाजी गरेर उद्धार उडानमा सहभागी नभएको विश्वस्त सूत्रको दाबी छ । उनीहरुले नै अहिले निगम व्यवस्थापनले आफूहरुलाई उडान भर्न नदिएको भनेर झुठो आरोप लगाएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्