Logo

हरियो मटर सहित मिनीट्रक नियन्त्रणमा



मोरङ, २२ साउन । अवैध रुपमा चोरी निकासी गर्दै गरेको हरियो मटर सहित मिनीट्रक बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा भारततर्फ चोरी निकासी गर्दै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ६ हजार २ सय ५० केजी हरियो मटरसहित को.१ ख ४८८७ नम्बरको मिनीट्रकलाई धनपालथान पौठाबाट नियन्त्रणमा लिएको हो ।

उक्त स्थानमा हरियो मटरको अवैध रुपमा चोरी निकासी भइरहेको सुचना आएलगत्तै सिमा प्रहरी चौकी मायागंजबाट खटिएको प्रहरीलाई देखेर मिनीट्रक नै छाडेर चालक फरार भएपछि प्रहरीले उक्त ट्रक सहितको सामान नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद हरियो मटर सहितको ट्रक आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त हरियो मटर धनपालथानेका दिलिप साहको रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । हाल फरार दिलिप साह र मिनी ट्रकका चालकको प्रहरीले खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्