Logo

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक पक्षमा प्रहार भएको छ : यादव



जनता समाज पार्टी, नेपालका शीर्ष नेता तथा सांसद महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा आँच पुग्ने टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले यस्तो बताएका हुन् । उनले भनेका छन्,यसरी दुई देशबीचको धार्मिक तथा साँस्कृतिक पक्षमा प्रहार भएको छ । यो सरकार र प्रधानमन्त्रीबाट गर्नुहुँदैन थियो । प्रस्तुत छ यादवसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक हिजोबाट सुरु भयो । के-के एजेण्डामा तपाईहरू छलफल गरिरहनुभएको छ ?

हाम्रो छलफल भनेको ५१ जनाको कार्यविभाजन नै हो । पदको बारेमा टुंग्याउने, वर्तमान राजनीतिक पक्षको बारेमा छलफल हुने, सबैभन्दा ठुलो कुरा के हो भने कोभिड १९ को कारणले देशमा फैलिरहेको छ, यसमा सरकारले गम्भीरता देखाएको छैन । संयमता अपनाएन । यस बारेमा हाम्रो छलफल हुन्छ । बाढीपहिरो जुन यथावत विषयहरू ती सवालमा हाम्रो छलफल हुन्छ ।

पार्टीको आन्तरिक कुरा गर्दाखेरि तपाईहरू अझैपनि मिल्न सक्नुभएको छैन ? पूर्ण रूपमा पार्टी एक भएको छैन नि ?

हामीले सबै मिलेर सर्वसम्मत ढंगले बस्छौँ । राम्रो कुराहरू सबै मिलेको छ । हामीले घोषणापत्र बनायौँ । हामीले विधान बनायौँ । विधान अनुसार हामी अगाडि जाने नै हो । तत्कालीन पार्टीको समायोजन तलैदेखि माथिसम्म गर्ने विषय हो । अर्को विषय कार्यविभाजन हो । म्ुलुकको अहिले जुन भयावह स्थिति छ, त्यसलाई पार्टी पंक्तिभित्र, कसरी आम जनतालाई विश्वासको वातावरणमा संकटबाट मुलुकलाई कसरी जोगाउने, त्यसकारण यी सबै विषयहरूमा हाम्रो छलफल हुँदैछ ।

तर बाबुराम भट्टराईलाई कुन पद दिँदै हुनुहुन्छ ?

बाबुराम भट्टराई त विधानले उहाँ राष्ट्रिय परिषदको अध्यक्ष हुनुहुन्छ । बाबुराम नै १ नम्बरमा हुनुपर्ने हो ।

तर अहिले बाबुराम भट्टराई १ नम्बरमा हुुनुहुन्न पार्टीभित्र ?

१ नम्बरमा ठाकुरजी बस्ने हो भने संयोजक, अभिभावकको रूपमा बस्ने हो । त्यो ठिक छ । होइन उहाँ कार्यकारिणीमा बस्ने हो भने १ नम्बरमा बाबुराम बस्नुहुन्छ । त्यो विधानमा नै लेखेको कुरा कार्यान्वयन भईहाल्छ ।

महन्थ ठाकुर र उपेन्द्र यादवभन्दा पनि अब ठुलो नेता बाबुराम भट्टराई ?

ठुलो नेता होइन, यो विधानमा नै लेखिएको कुरा हो । यो सहमति गरेर दर्ता भएको विषय हो । यो त स्वतः कार्यान्वयन हुनुपर्ने विषय हो ।

तर कार्यान्वयन भएको छैन ?

कार्यान्वयनमा त्यो दिन समयको अभाव भयो । बाबुरामजीले ठुलो त्याग गर्नुभयो । उहाँ देशको पूर्वप्रधानमन्त्री, उहाँ १ नम्बरमा नै बस्नुपर्ने हो । यो पार्टी एकताको लागि उहाँले नै प्रस्ताव राख्नुभयो । महन्थ ठाकुरजी उमेरमा ठुलो हुनुहुन्छ । उहाँले संयोजक भएर बस्दा हुन्छ । उहाँले अभिभावक बन्दा हुन्छ । उहाँले सुरुमा हुन्छ भन्नुभयो । पछि कार्यकारिणीको लागि हामीले नै सहपाठीको उहाँले संस्थागत प्रस्ताव गरेका हौँ । उहाँ कार्यकारिणीमा आउनु पनि भयो । कार्यकारिणी अध्यक्ष हुने कुरा पनि सहमति पनि भएकै हो ।

हिजो भारतमा नरेन्द्र मोदीले अयोध्याको शिलान्यास गर्नुभयो । नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीले अयोध्या पनि नेपालमै पर्छ र राम पनि नेपालमा जन्मेका हुन् भनेर भनिरहँदा हिजो मोदीले जुन शिलान्यास गर्नुभयो, त्यसलाई कसरी हेर्नुहुन्छ ?

नेपाल र भारत दुई मुलुकको सम्बन्ध नराम्रो बनाउन मिल्छ ? दुई मुलुकबीचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने ठाउँमा धार्मिक आस्था, नेपाल भारतका नागरिकको समान धार्मिक आस्था, यस्तो साँस्कृतिक तथा धार्मिक यात्रामा बाधा ल्याउन मिल्दैन ।

त्यसो भए अयोध्या भारतमा पर्छ ? राम पनि भारतमा नै जन्मेका हुन् ?

धेरैले राम भारतमा जन्मेका हुन् भनेर भनेका छन् । यो नयाँ बखेडा÷कुराहरू निकालेर नेपाली जनतालाई साँस्कृतिक र धार्मिक भावनामा उथलपुथल गर्ने ? यसरी दुई देशबीचको धार्मिक तथा साँस्कृतिक पक्षमा प्रहार भएको छ । यो सरकार र प्रधानमन्त्रीबाट गर्नुहुँदैन थियो ।

कोरोनाको संक्रमणको संख्या २ नम्बर प्रदेशमा तीव्रताका साथ बढ्यो । अब तपाईहरूले प्रदेश नम्बर २ लाई बचाउन सक्नुहुन्छ ?

हाम्रो सरकारको जुन साधनस्रोत छ, केन्द्रिय सरकारले गर्नुपर्ने काम र दायित्व भएन । कहिले बन्द गरिदिने, कहिले छोडिदिने, कहिले घेराबन्दी गरिदिने, यो परीक्षणमा नै अहिले कमी भयो । अहिलेसम्म सामानहरू पुगेको छैन । सामानहरूको अभावमा मेयरहरूले आफ्नो पैसाले किने । सरकारको त राम्रो उपस्थिति नै देखिएन । यो सरकार यसबारेमा असफल भएको छ । जुन जिम्मेवारी थियो, त्यसअनुसार यो सरकारले काम गर्न सकेन । नेपाली जनताले सतर्कता अपनाउनुपर्छ । सरकारको अस्तव्यस्तताको कारणले, सरकारको राम्रो नीति नभएको कारणले सरकार असफल छ । सरकार आफ्नो पार्टीभित्रको स्वार्थ र भागबण्डामा समय बिताएको छ । यो दुनियाँलाई थाहा छ । file photo



प्रतिक्रिया दिनुहोस्