Logo

कोरोना रोकथाम तथा राहत वितरणको खर्च सार्वजनिक



सिरहा, साउन २३ । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि जिल्लाका स्थानीय तहहरुले गरेको खर्चको विवरण सार्वजनिक गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका लागि गरिएको खर्च विवरण सार्वजनिक गर्न चौतर्फी माग उठेपछि जिल्लाका १७ स्थानीय तहमध्ये १२ ले खर्च विवरण सार्वजनिक गरेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहहरुले खर्च विवरण प्रस्तुत गरेका छन् ।

कोरोना नियन्त्रण र राहत वितरणका लागि सिरहा नगरपालिकाले सबैभन्दा बढी रु पाँच करोड ९० लाख ८६ हजार ४३० र सबैभन्दा कम अर्नमा गाउँपालिकाले रु ३९ लाख ५९ हजार १०३ खर्च गरेको छ । यस्तै गोलबजार नगरपालिकाले रु एक करोड ६० लाख ८५ हजार ५३, कर्जन्हा नगरपालिकाले रु एक करोड ४८ लाख १५ हजार ८१६, धनगढीमाई नगरपलिकाले रु ५५ लाख ९४ हजार ६३३ तथा लहान नगरपालिकाले रु एक करोड ९८ लाख ४० हजार ७८ खर्च गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै मिर्चैया नगरपालिकाले रु एक करोड ७२ लाख ८१ हजार ७७, विष्णुपुर गाउँपालिकाले रु ८८ लाख ६१ हजार ७१०, बरियारपट्टि गाउँपालिकाले रु एक करोड ५७ लाख २३ हजार ७६७, नरहा गाउँपालिकाले रु ७३ लाख ५९ हजार २४९, लक्ष्मीपुर पतारी गाउँपालिकाले रु ६९ लाख ६५ हजार ६९५ र औरही गाउँपलिकाले रु दुई करोड २० लाख ८० हजार ९३० खर्च गरेको विवरणमा जनाइएको छ ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले रु ३० लाख ८६ हजार २८८ र जिल्ला अस्पतालले रु एक करोड ३८ लाख ५९ हजार ७०७ खर्च गरेको विवरण प्राप्त भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । खर्च विवरण सार्वजनिक गर्न नसकेका कल्याणपुर नगरपालिक, सुखीपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिकालाई पनि खर्च विवरण सार्वजनिक गर्न पत्राचार गरिसकेको उनले बताए । रासस
–––



प्रतिक्रिया दिनुहोस्