Logo

राति सवारी साधन चलाउन रोक



नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम) साउन २३ । जिल्लामा आजदेखि रातको सयममा सवारी चलाउन रोक लगाइएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्ग तथा भूमही–भैरहवा सडकखण्डबाहेक अन्य क्षेत्रमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण यात्रुबाहक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आजदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवश्यक सवारी साधनबाहेक अन्य सवारी साधनको आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । कोरोना भाइरस फैलन सक्ने जोखिमलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको पाठकले बताए ।

यसैगरी नेपाल–भारत सीमानाकामा गस्ती बढाई अनधिकृत रुपमा हुन सक्ने आवागमनलाई थप कडाइका साथ नियन्त्रण गरिने प्रशासनले जनाएको छ । खुला सिमानाका कारण भारतबाट लुकीछिपी आवतजवात भइरहेकाले थप सङ्क्रमणको जोखिम बढेको छ ।

जिल्लामा रहेका शैलुन र ब्यूटीपार्लर बन्द गराउनाका साथै होटल र रेष्टुराँमा हुने सामूहिक भोज, पार्टी, गोष्ठी वा अन्य भेला पूर्णरुपमा निषेध गरिएको छ । बाह्र वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका व्यक्ति तथा दीर्घरोगीलाई कोरोना भाइरसको जोखिम उच्च रहेकाले घरबाट ननिस्कन आग्रह गरिएको छ । अत्यावश्यक कार्यका लागि बाहिर निस्किन परे स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्नुपर्ने प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गराउनका लागि सम्बन्धित सबै निकाय र स्थानीय तहबीच समन्वय गर्न निर्देशन दिइएको छ । साथै मास्क लगाउन प्रेरित गर्ने तथा सदरमुकाम प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा सचेतना अभिवृद्धि गराउनेसमेत निर्णय गरीएको छ । सचेत गराउँदासमेत स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लङ्घन गरे जो कोहीलाई पनि जरिवाना गरी सङ्क्रमण रोग ऐनअनुसार कारवाहीको दायरामा ल्याइने प्रजिअ पाठकले बताए।रासस



प्रतिक्रिया दिनुहोस्