Logo

एसियाली शेयर बजारमा सामान्य गिरावट



२३ साउन : अधिकाँश एसियाली शेयर बजारको कारोबार शुक्रबार ओरालो लागेको छ । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबका साथै कोरोनाभाइरसका कारण सिर्जना भएको आर्थिक मन्दीले शेयर बजारमा असर परेको हो ।

लगानीकर्ताहरु शुक्रबार सार्वजनिक हुने अमेरिकी रोजगारको मासिक प्रतिवेदनको समेत प्रतिक्षा गरिरहेका छन् । यो प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको पछिल्लो अवस्थालाई चित्रण गर्दछ ।

अमेरिकी शेयर बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । अमेरिकी संसद र ह्वाइट हाउसले अमेरिकी अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन थप आर्थिक सहायता उपलब्ध गराउने गरी एक सम्झौतामाथि छलफल भइरहेको छ ।

एसियाली शेयर बजारमा भने कोरोनाभाइरसको संक्रमण बढेसँगै थप असर परेको देखिएको छ । खासगरी दक्षिणपूर्वी एसियाली मुलुकहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप चिन्ता बढेको हो ।

सिंगापुरको मिजुहो बैंकका हायाकी नारिताले लकडाउन खुकुलो बनाएसँगै अर्थतन्त्र पुनरुत्थान हुने अपेक्षा गरिए पनि कोरोना संक्रमणको दोस्रो लहर शुरु हुने खतरा रहेको बताए । उनले चीन–अमेरिका व्यापार तनाबले समस्या अरु बढाएको बताए ।

जापानको शेयर बजार निक्की ०.६ प्रतिशतले घटेर २२ हजार २७३ विन्दुमा पुगेको छ भने अस्ट्रेलियाको एसएन्डपी ०.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.२ प्रतिशत, हङकङको हाङसेङ १.८ प्रतिशत तथा चीनको साङ्घाई कम्पोजिट १.२ प्रतिशतले घटेका छन् ।

टोयोटा मोटर कर्पको शेयर भने बिहानीपख २ प्रतिशतले बढेको छ भने निन्टेन्डो कम्पनीको शेयर पनि २.३ प्रतिशतले सुधार भएको छ । जापानी भिडियो–गेम निर्माता निन्टेन्डोको नाफा बढेसँगै शेयर मूल्य बढेको हो ।

गएराति अमेरिकी डाउजोन्स पनि ०.७ प्रतिशतले वृद्धि भइए २७ हजार ३८७ विन्दुमा पुगेको थियो । नास्डाग कम्पोजिटमा पनि १ प्रतिशतले सुधार भई ११ हजार १०८ विन्दुमा अडिएको थियो ।

अमेरिकामै गत साता करिब १२ लाख कामदारले बेरोजगारी भत्ताका लागि आवेदन दिएको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । अघिल्लो हप्ताको तुलनामा यो संख्यामा सामान्य कमी आएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी अर्थशास्त्रीहरुले सोचेझैं यो त्यति खराब अवस्था नरहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अरु बढेको छ । सुनको मूल्य १२ डलरले वृद्धि भई प्रति औंश २ हजार ८१ डलर पुगेको छ ।

बेन्चमार्क अमेरिकी कच्चा तेलको मूल्य प्रति ब्यारेल १२ सेन्टले घटेर ४१.८३ डलरमा न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा कारोबार भएको छ । बे्रन्ट कच्चा तेलमा भने प्रति ब्यारेल १० सेन्ट बृद्धि भई प्रति ब्यारेल ४४.९० मा कारोबार भएको छ ।-एपी/File Photo



प्रतिक्रिया दिनुहोस्