Logo

लेबनानलाई सहयोग गर्ने राष्ट्रपति म्याँक्रोको प्रतिबद्धता



२३ साउन : लेबनानको भ्रमणमा बेरुत पुग्नु भएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो समक्ष स्थानीयबासीहरुले बेरुतको बन्दरगाह बिस्फोटका लागि लेबनानी नेताहरु जिम्मेवार रहेको भन्दै आक्रोश पोखेका छन् ।

बिस्फोटको प्रत्यक्ष अबलोकनका लागि पुग्नुहुँदा त्यहाँ भेला भएका स्थानीयबासीले म्याँक्रोमाथि लेबनानी नेताहरुको अकर्मण्यताले जनधनको ठूलो क्षति भएको गुनासो गरेका थिए । राष्ट्रपति म्याँक्रोले राजनीतिक नेताहरुमाथि सुधारका व्यापक कदम चाल्न आफूले सक्दो दबाब र मद्दत गर्ने बताएका थिए ।

मंगलबारको बिस्फोटको अनुसन्धानको नेतृत्व गरिरहनु भएका एकजना सैनिक न्यायाधीशले बेरुत बन्दरगाहमा कार्यरत १६ जना कामदारलाई गिरफ्तार गरिएको बताएका छन् । उनले बन्दरगाह र भन्सार अधिकारीहरु समेत अरु १८ जनामाथि विभिन्न प्रश्न सोधिएको जानकारी दिए ।

अनुसन्धान अधिकृतहरुले बन्दरगाहका अधिकारीहरुमाथि छानबिन गरिरहेका भए पनि धेरैजसो लेबनानी नागरिकहरुले राजनीतिक नेतृत्वमाथि दोष दिइरहेका छन् । उनीहरुले मुलुकमा व्याप्त भ्रष्टाचार र अव्यवस्था पनि बिस्फोटका लागि मुख्य जिम्मेवार रहेको बताएका छन् ।

बेरुतको बन्दरगाह बिस्फोटको घटना हुनुअघि नै लेबनानको आर्थिक अवस्था पतनतर्फ अग्रसर भइसकेको बताएका छन् ।

लेबनानी मन्त्रिपरिषदलाई बन्दरगाहमा राखिएको एमोनियम नाइट्रेट खतरनाक रहेको भन्दै पहिल्यै सुरक्षा निकायहरुले जानकारी गराएका लेबनानका भन्सार प्रमुखले जानकारी दिएका छन् । भन्सार प्रमुखको उक्त भनाई सार्वजनिक भएसँगै लेबनानको उच्च नेतृत्वले प्रज्ज्वलनशील पदार्थका बारेमा गम्भीरता नदेखाएको पुष्टि हुन्छ ।

बन्दरगाहमा लागेको आगो करिब २ हजार ७५० टन एमोनियम नाइट्रेटको भण्डारमा सल्किएसँगै अचानक बिस्फोट भएको थियो । उक्त रसायनिक पदार्थ सन् २०१३ मा लेबनानी भन्सार अधिकारीहरुले बरामद गरी बन्दरगाहमा राखेका थिए ।

छिमेकी मुलुक साइप्रससम्म सुनिएको त्यस विशाल बिस्फोटनबाट १३० जनाभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै बन्दरगाह वरिपरिका सयौं घरहरु ध्वस्त हुँदा चार हजार भन्दा बढी मानिस घाइते भएका थिए ।

दुई दिनपछि पनि बेरुतको कूल जनसंख्याको १२ प्रतिशतभन्दा बढी अर्थात् करिब तीन लाख मानिस आफ्ना घर फर्कन सकेका छैनन् । केही अस्पताहरुमा पनि नराम्रोसँग क्षति पुगेको छ । दर्जनौं व्यक्ति अझै बेपत्ता छन् । अधिकारीहरुले बिस्फोटबाट १० देखि १५ अर्ब डलर बराबरको क्षति पुगेको बताएका छन् ।

यसबाहेक, यो वज्रपात मानिसको बचत समाप्त हुनैलाग्दा आइपरेको छ । आर्थिक संकटका कारण लेबनानमा बेरोजगारी र गरिबी व्यापक रुपमा बढेको छ । केही मानिसमा मात्र आफ्ना घरहरु र व्यवसाय पुनः निर्माण गर्ने क्षमता छ, तर सरकारसँग डलरको नितान्त अभाव छ ।

लेबनानी नेताहरुसँगको भेटवार्तापछि फ्रान्सेली राष्ट्रपति म्याँक्रोले लेबनानका लागि खाद्यान्न, औषधि, आवास र अरु आपतकालीन सहायता जुटाउन युरोपेली मुलुकहरु, अमेरिका, मध्यपूर्व र अरु दाताहरु सम्मिलित एउटा सम्मेलन केही साताभित्रै आयोजना गर्ने बताएका छन् ।

तर उनले लेबनानका राजनीतिक नेताहरुलाई जनताको विश्वास गुमाएको सरकारमाथि त्यतिकै विश्वास गर्न नसकिने चेतावनी दिएका छन् । उनले नेताहरुलाई नयाँ राजनीतिक स्थायित्व निर्माणका लागि आग्रह गरेका छन् ।

राष्ट्रपति म्याँक्रोले स्पष्ट र पारदर्शी सरकार संचालन पहिलो शर्त हुने बताउँदै यस्तो व्यवस्थाबाट मात्र अन्तर्राष्ट्रिय सहायता जनतामा प्रत्यक्ष रुपमा पुग्ने बताए ।

लेबनानका लागि अन्तर्राष्ट्रिय आपतकालीन सहायता आइपुग्न शुरु भएको छ । युरोपेली, अरब र एसियाली मुलुकहरुले चिकित्सक, औषधि वा फिल्ड अस्पताल लेबनान पठाएका छन् । संयुक्तराष्ट्र संघले लेबनानका लागि आपतकालीन कोषबाट ९० लाख डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ ।-एपी



प्रतिक्रिया दिनुहोस्