Logo

बाढीले तीन हजार हेक्टर धानखेती नष्ट



टीकापुर, २३ साउन : कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ ।

भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उनको ढाइ बिघा जमिनमा रोपिएको धानखेती नष्ट भएको हो । बाढीले सबै धानखेती नष्ट भएकाले उनको परिवारमा खाद्य सङ्कट आउने गुनासो गर्दै उनले भने, “यही खेतीको भरमा परिवारको पेट भरिन्छ, अब सबै नष्ट भयो । खेतमा धान रोपिएको थियो थिएन पत्तै छैन नहुने अवस्था आयो ।”

गोडचौराका धनराज तिमिल्सिनाको पनि एक बिघा जमिन धानखेती पूर्णरुपमा नष्ट भएको छ । “यस वर्ष डेढ बिघा क्षेत्रफलमा धान रोपेका थियौँ । दश कट्ठामा अलिअलि धान बचेको छ । बाँकी सबै नष्ट भयो”, तिमिल्सिनाले भने, “घर कसरी चलाउने, गुजारा कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।” भजनी–३ शत्रुधन चौधरीको पाँच कट्ठा क्षेत्रफल धान खेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उनले यस वर्ष सात कट्ठा जमिनमा धानखेती गरेका थिए । बाढीले खेती नष्ट हुँदा उनी पनि चिन्तामा छन् । “यति खेतमा फलेको धानले खान पुग्थ्यो, बाँकी घर खर्च ज्यालादारी गरेर चलाउँथे”, चौधरीले भने, “अब परिवारको पेट कसरी पाल्ने भन्ने चिन्ता बढेको छ ।”

उहाँजस्तै भजनी नगरपालिका क्षेत्रमा सयौँ किसानका करिब तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफल धानखेती नष्ट भएको कृषि शाखा भजनीका प्रमुख कमल चौधरीले जानकारी दिए । “बाढी डुबान क्षेत्रमा हप्तासम्म पानी जमेर रहेकाले अधिकांश किसानको धान गलेर नष्ट भएको हो”, कृषि शाखा प्रमुख चौधरीले भने, “कतिपय किसानको खेत पटान र कटानमा परेको छ । अधिकांश खेती पानी जमेर सडेको छ ।”

बाढीको डुबानले धानखेती नष्ट भएकाको लगत लिने कार्य आजदेखि सञ्चालन हुने र क्षतिको विवरणका आधारमा नगरपालिकाले राहत सहयोग गर्ने उनले बताए । बाढीका कारण यता टीकापुर नगरपालिका ३, ६, ७ र ९ मा दर्जनौँ बिघा धानखेती नष्ट भएको छ । बाढीपछि नदी कटान बढेपछि टीकापुर–८ श्रीलङ्कामा नदी कटान तीव्र भएको छ । टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले कर्णाली नदीले दर्जनौँ बिघा धानखेती कटान गरेको बताए । “नगरपालिकाले बाढीबाट कृषितर्फ भएको क्षतिको विवरण सङ्कलन थालेको छ”, ठकुल्लाले भने, “विपद् व्यवस्थापन समितिले निर्णय गरेर राहतका कार्यक्रम ल्याउँछौँ ।”-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्