Logo

दशैंका लागि नयाँ नाेट जाेहाे गर्दै राष्ट्र बैंक,पाँच सय र हजारका नयाँ नाेट तयार,पाँच र दशकाे छापिँदै



काठमाडौँ २३ साउन : नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट ल्याउने भएको छ । हजार दरका नयाँ नोट यही साउन ७ मा र ५ सयका नयाँ नोट असार २२ मा ल्याएको राष्ट्र बैंकले ५ र १० रूपैयाँका नयाँ नोट दशैंअगाडि ल्याउने भएको हो । यस वर्षको विजया दशमी कात्तिक १० गते परेको छ ।

दशैंअघि नै नयाँ नोट छापेर ल्याउने काम भइरहेको नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले बताए । ‘दशैंअघि नै ५ र १० रूपैयाँका नयाँ नोट ल्याउने तयारी भइरहेको छ,’उनले भने, ‘हजार र ५ सयका नयाँ नोट हालै मात्र छापेर ल्याइएकोले दशैंका लागि थप छाप्नु पर्दैन् ।’

राष्ट्र बैंकले यसअघि ५ र १० रुपैयाँको नायाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । एक सय दरका नयाँ नोट पनि छाप्नका लागि चिनियाँ कम्पनीलाई नै दिएको छ ।

दशैंमा बढी खपत हुने ५,१०,२०, ५० र १०० दरका नयाँ नोट छापेर ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ ।

दशैंअघि नै ५ रुपैयाँ दरको ३० करोड थान नयाँ नोट नेपाल ल्याइदै छ । त्यसैगरी, १० रुपैयाँको दरका ३४ करोड थान नोट राष्ट्र बैंकले दशैं अघि ल्याउँदै छ ।

मुद्रा व्यवस्थापन विभागका अनुसार ५ रुपैयाँँ दरका नोट ४३ लाख ९५ हजार ५०० अमेरिकी डलर र १० रुपैयाँ दरका नोट ४१ लाख ४० हजार ४०० अमेरिकी डलरमा छाप्ने सम्झौता गरेको थियो । दुबै नोटमा नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने छ ।

राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं अघि नयाँ नोट वितरण गर्ने गर्छ । राष्ट्र बैंकले आफ्ना क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरूबाट समेत सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिँदै आएको छ ।

अघिल्लो वर्ष राष्ट्र बैंकले नेपाल बैंकको न्यूरोड, किर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ भने राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुबाट समेत सर्वसाधारणले नयाँ नोट सटही गर्न पाउने व्यवस्था गरेको थियो ।

यसैगरी, उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध गराउँदै आएको छ ।

राष्ट्र बैंकले प्रत्येक वर्ष एक जना व्यक्तिलाई कम्तिमा ५, १०,२०, ५० र १०० दरका एक–एक बन्डल नयाँ नोट दिँदै आएको छ । तर, दशैं तिहारमा प्रयोग हुने रंगले नयाँ नोटको आयु भने घटने गरेको छ ।
राष्ट्र बैंकले नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । नोट जलाउने,केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैर कानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध समेत गर्दै आएको छ ।

गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन को दफा २६३ मा नोटमा केरमेट गरे जलाए तथा नोटमा विभिन्न किसिमले हानि नोक्सानी पु¥याए ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।मेरोलागानी/File Photo



प्रतिक्रिया दिनुहोस्