Logo

पशुपतिका सम्पदामाथिको थिचोमिचो सह्य हुँदैन: मन्त्री भट्टराई



काठमाडौँ, २३ साउन:  त्रिभुवन विश्वविद्यालय संस्कृति विभागले अध्ययन अनुसन्धान गरी तयार पारेको पुस्तक आज पशुपतिमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै पशुपति क्षेत्रका सम्पदामाथिको थिचोमिचो र अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने बताए । “पहिले जस्तो राजनीतिक अस्थिरता अहिले छैन, जन अनुमोदित र बलियो सरकार भएकाले राजनीतिक सौदाबाजी गर्नुपर्ने आवश्यकता छैन, राजनीतिक उद्देश्य वा अरु कुनै पनि कारणले पशुपति क्षेत्रको सम्पदामाथिको थिचोमिचो र अतिक्रमण टुलुटुलु हेरर बस्न सकिँदैन”, उनले भने ।

कुनै पनि राजनीतिक उद्देश्य तथा गलत मनसायका साथ आर्थिक लेनदेनका कारण सांस्कृतिक सम्पदामाथि ज्यादती गर्न नपाइने मन्त्री भट्टराईको भनाइ थियो । सांस्कृतिक सम्पदामाथि हुने अनावश्यक अतिक्रमण हटाउन सरकार लाग्ने प्रतिबद्धता पनि उनको छ । २०४३ सालमै सरकारले तोकेको पशुपति क्षेत्रको चारकिल्लाप्रति कसैको पनि विमति नरहेको उल्लेख गर्दै मन्त्री भट्टराईले चारकिल्लाभित्र बन्ने निजी संरचना पनि सम्पदा मापदण्डभित्र हुनुपर्ने बताए ।

पशुपति क्षेत्रको प्रस्तावित गुरुयोजना बाहिर आएपछि सङ्र्घष समितिको नाममा भएको विरोधलाई सम्बोधन गर्न मन्त्रालयमै छलफल कार्यक्रम आयोजना गरेको र आवश्यक छलफल गरेर सो प्रस्तावलाई अन्तिम रुप दिने प्रयोजनका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

लोकतान्त्रिक व्यवस्थामा व्यक्तिका असन्तुष्टि वा फरक मतप्रति सम्मान रहने भएकाले कार्यदल बनाइएको उनको भनाइ थियो । सरकारले कुनै पनि नागरिकलाई विकल्पविना निवासबाट नहाउने र त्यसो गर्न कानूनले पनि नदिने उल्लेख गर्दै मन्त्री भट्टराईले भने–‘सरकारले कानुनी सर्वोच्चतालाई सम्मान गर्छ, त्यसो भन्दैमा पशुपति क्षेत्रभित्र मापदण्ड विपरीत मनलागी गर्न पाइदैन’ ।

पशुपति क्षेत्र पवित्रतामा रमाउने र धर्म कमाउने ठाउँ भएकाले आर्थिक लेनदेनबाट कुकर्म कमाउने बाटोमा नलाग्न पनि उनले कोषका पदाधिकारी तथा कर्मचारीलाई सचेत गराए । खार्थिक लेनदेन र गलत मानिसलाई प्रश्रय दिने काममा लागेमा कारबाही गर्ने मन्त्री भट्टराईले चेतावनी दिए । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङले पशुपति क्षेत्रको तिलगङ्गामा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वले युक्त त्रिविक्रमको मूर्तिलाई संरक्षण गर्न माग गरे ।-रासस/Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्