Logo

राजापाक्षे र ओलीबीच टेलिफोन वार्ता : के भयो कुराकानी ?



प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई उनको श्रीलंकन पिपुल्स पार्टी (एसएलपीपी) ले शुक्रबार सम्पन्न निर्वाचनमा पाएको सफलतालाई लिएर बधाई दिएका छन् ।

ओलीले शुक्रबार राजपाक्षलाई टेलिफोन गर्दै नेपाल सरकार र नेकपाको तर्फबाट बधाई तथा कार्यकालको लागि पनि शुभकामना दिएका हुन् । दुई प्रधानमन्त्रीले नेपाल र श्रीलंका बीचको सम्बन्धलाई आगामी दिनमा थप मजबुद बनाउँदै जाने विषयमा कुरा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

दुई प्रधानमन्त्रीले आ–आफ्नो मुलुकमा कोभिड–१९ को संक्रमणविरुद्ध लड्नको लागि भइरहेको राष्ट्रिय अनुभवको आदान–प्रदान गरेका थिए । उनीहरुले कोरोना भाइरस संक्रमण सकिएपछि एक आपसमा उच्चस्तरीय भ्रमण गर्ने सम्बन्धमा पनि कुरा भएको थियो ।

यस्तै राजपाक्षले प्रधानमन्त्री ओलीलाई बधाई दिएकोमा धन्यवाद भन्दै नेपाल भ्रमणको निम्तो दिएको ट्वीटमार्फत जानकारी गराएका छन् । राजपाक्षको पार्टी एसएलपीपीले संसदको २२५ सिटको मध्ये १४५ सिट जितेको थियो भने थप ५ सिट एसएलपीपीकै गठबन्धनमा रहेको पार्टीहरुले हात पारेका छन् ।

निर्वाचनमा ७५ प्रतिशत मतदाताले आफ्नो मताधिकार गरेको बताइएको छ । एसएलपीपीको प्रमुख प्रतिपक्षी दलले केवल ५४ सिटमा जित हासिल गरेको छ ।

प्रधानमन्त्री महिन्दा राजपाक्षले सोही पदको लागि आफ्नै भाइबाट शपथ ग्रहण गर्नेछन् । प्रधानमन्त्रीका भाइ गोटाभाय राजपाक्ष श्रीलंकाका राष्ट्रपति हुन् । यो निर्वाचनमा जित हात पारेसँगै राजपाक्ष दाजुभाइलाई संविधान परिवर्तन गर्ने र सरकार बलियो बनाउने मौका मिलेको छ ।



प्रतिक्रिया दिनुहोस्