Logo

नेकपाभित्र पाँच गुट सक्रिय; को कति बलियो



काठमाडौं, २३ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद फुटको अवस्थासम्म पुगेको छ । एक महिनायताको विवाद समाधानको साटो झन् चर्कदैछ । तर, नेकपा न फुट्न सकेको छ न जुट्न सकेको छ । विवादले गुट उपगुट निर्माण गर्ने देखि एक अर्कालाई तानातान र पेल्ने अवस्थासम्म बनेको छ ।

अहिलेको नेकपाको विवाद विचारप्रधान छैन । को शक्तिमा रहने र कसलाई हटाउने भन्नेमा केन्द्रित छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले राजीनामा मागेका छन् । ओली कुनै हालतमा राजीनामा नदिने पक्षमा छन् । सहमतिको बिन्दु तयार गर्ने प्रयास भएपछि कुरा मिल्न सकेको छैन । यसले गुट उपगुटको द्वन्द्व चर्किरहेको छ ।

संसदको कुल २७५ सिटमा नेकपासँग १७४ सिट छ । जसमध्ये ओलीको पक्षमा ८० को हाराहारीमा सांसद छन् । तर, ओली पक्षले १०० संख्या दाबी गरेको छ ।

नेकपा स्थायी कमिटीमा ४५ मध्ये पूर्व एमालेबाट २६ र पूर्व माओादीबाट १९ जना मनोनित भएका थिए । तर, पछिल्लो राजनीतिक घटनाक्रमले नेताहरु यताउता भइसकेका छन् । अग्नि सापकोटा सभामुख बनेपछि स्थायी कमिटीमा ४४ जना छन् ।

केपी शर्मा ओलीः प्रधानमन्त्री ओलीको गुट अहिले सबैभन्दा बलियो देखिन्छ । उनीसँग आफूसहित तीनजना सचिवालय सदस्य छन् । सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल ओलीको गुटमा छन् । स्थायी कमिटीमा १३ जना ओली पक्षमा थिए । पछिल्लो समय पूर्व माओवादीबाट लेखराज भट्ट थपिएका छन् । यो गुटले आफूसँग संसदीय दलमा आधाभन्दा बढी सांसद रहेको दाबी गर्दै आएको छ । ओलीको गुटमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल जस्ता हस्तीहरु पनि छन् । महेश बस्नेत जस्ता जुझारु नेता ओलीको शक्ति हुन् ।

प्रचण्डः नेकपा एकताका बखत प्रचण्डले ४० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षबाट बनाएका थिए । पूर्व माओवादीबाट सचिवालयमा तीनजना र स्थायी कमिटीमा १९ जना प्रचण्ड पक्षका थिए । तर, रामबहादुर थापा बादल तटस्थ भुमिकामा देखिएका छन् । उनी ओलीसँग नजिकिएका छन् । लेखराज भट्ट ओली पक्षमा गएका छन् । अब प्रचण्डसँग १६ जना स्थायी कमिटी देखिएका छन् । प्रचण्डसँग वर्षमान पुन, टोपबहादुर रायमाझी जस्ता हस्तीहरुको साथ रहेको छ ।

माधव नेपालः नेकपा वरिष्ठ नेता माधव नेपाल सचिवालयमा आफू पक्षबाट एक्लै छन् । स्थायी कमिटीमा उनीसँग १२ जना रहेकोमा पछिल्लो समय योगेश भट्टराई र घनश्याम भुषाल टाढिएका छन् । उनीहरु बामदेव गौतमसँग नजिकिदै ओलीतर्फ पनि सकारात्मक बनेका छन् । नेपालसँग अब ८ जना मात्र देखिएका छन् । नेपालसँग भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट जस्ता हस्ती नेताहरुको साथ छ ।

झलनाथ खनालः नेकपा वरिष्ठ नेता खनाल गुटमा कमै विश्वास गर्छन् । उनी सचिवालयमा एक्ला हुन् भने स्थायी कमिटीमा उनी पक्षका एकजना मात्र छन् । पूर्व प्रधानमन्त्री समेत रहेका उनी पछिल्लो समय प्रधानमन्त्री ओलीको राजीनामाको पक्षमा छन् ।

बामदेव गौतमः नेकपा उपाध्यक्ष बामदेव गौतमको आफ्नै गुट छ । उनी सचिवालयमा आफ्नो गुटका एक्ला हुन् । गौतमलाई पछिल्लो समय घनश्याम भुषाल र योगेश भट्टराईको साथ देखिएको छ । उनी आफू सांसद नभएपछि केही सांसद सदस्य निकट छन् । गौतम यसअघि प्रचण्डसहित ओलीको राजीनामा माग्ने समुहमा भएपछि अहिले कुनैपनि गुटमा नरहेको दाबी गर्दै आएका छन् । उनी अहिले ओलीसँग नजिकिएका छन् ।



प्रतिक्रिया दिनुहोस्