Logo

अब काठमाडौंसँग कतिसम्मको नाता राख्ने भन्ने प्रश्न मनमा उब्जन्छ : मनिष सुमन



जनता समाजवादी पार्टी, नेपालका नेता तथा प्रदेशसभा सदस्य मनिष सुमनले केन्द्र सरकारले प्रदेश नम्बर २ मा कुनै सहयोग नगरेको आरोप लगाएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो गुनासो पोखेका हुन् । उनले भनेका छन्-‘मैले देखेको प्रदेश नम्बर २ मा सरकारको अनुभूति भएको छैन । त्यो भनेको प्रदेश र स्थानीय सरकारमात्र हो । संघीय सरकारको अनुभूति हामीले देख्न सकिरहेका छैनौँ । अब काठमाडौँसँग कतिसम्मको नाता राख्ने भन्ने प्रश्न मनमा उब्जन्छ । मात्र उनको निर्देशन मान्ने या हामीले पनि केही गर्ने, मात्र बेला बेलामा सुन्छौँ, ओम्नीमा भ्रष्टाचार भयो भन्नेजस्ता कुरामात्र सुनिरहेका छौँ । यी सबै भनिरहँदा प्रदेश र स्थानीय सरकारले धेरै राम्रो काम ग¥यो भन्ने होइन । कोरोनाको औषधी छैन । कोरोना रोकथामको कुनै पनि उपाय अहिलेसम्म पत्ता लागेको छैन । हिजो राति मात्र रुसमा एउटा भ्याक्सिन प्रयोग भयो भन्ने त सुन्यौँ तर साँच्चै पत्ता लागेको छैन । सामाजिक दुरी कायम गर्ने, हात बेला बेलामा धोइराख्ने, आफुलाई स्यानिटाइज राख्ने जस्ता उपायहरू जनताले आफै अबलम्बन गर्नुपर्ने बाहेक अर्को उपाय सरकारसँग छैन जस्तो लाग्छ ।’ प्रस्तुत छ पत्रकार धमलाले नेता सुमनसँग गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश नम्बर २ मा कोरोनाको महामारी छ । तपाईहरू काठमाडौँमा बसेर झगडा गरिरहनु भएको छ ?

प्रदेश नम्बर २ मा कोरोनाको महामारी छ, यो सत्य छ तर काठमाडौँमा हामीले झगडा होइन कि हामीले हाम्रो बैठक गरिरहेका छौँ ।

तपाइकोे पार्टीको बैठकमा पनि त झगडा भईरहेको छ । जिम्मेवारी कसले लिने, पद कसलाई दिने भन्ने बारेमा ?

३ दिनदेखि एकदम सैद्धान्तिक तबरले आज डा. बाबुराम भट्टराईजीले, माननीय उपेन्द्र यादवजीले, माननीय राजेन्द्र महत्तोजीले एउटा एउटा विषय छनौट गरेर त्यो विषयमा हामीलाई प्रशिक्षित गराउने काम गर्नुभएको छ । हिजो हामीले हाम्रो आन्तरिक आचारसंहिता र जिम्मेवारीमा बसेपछि त्यसका बारेमा छलफल ग¥यौँ । पार्टीको अस्तित्वहरूलाई कसरी समायोजन गर्ने ? त्यसका बकारेमा छलफल ग¥यौँ ।

बाबुराम भट्टराईलाई के जिम्मेवारी दिनुहुन्छ ? बैठकमा एजेण्डाहरू त उठाउनुभएको छ ?

अहिलेसम्म उठेको छैन । कुनै व्यक्ति विशेषको नाम लिएर फलानो व्यक्तिलाई के दिने भनेर उठेकै छैन । हाम्रो नेता नै हुनुहुन्छ । हामीले चिन्ता गर्नु स्वभाविक नै हो । उहाँ सम्मानित हुनुहन्छ । अझै पनि सम्मानित हुँदै जानुहुनेछ ।

त्यसो भए बाबुराम भट्टराईलाई जिम्मेवारी दिनका लागि विवाद छैन, पार्टीभित्र ?

उहाँ अहिले पनि जिम्मेवारीमा हुनुहुन्छ । जनता समाजवादी पार्टीको नेता हुनुहुन्छ । देश र जनताका ढुकढुकी हुनुहुन्छ ।

पहिलो, दोस्रो र तेस्रो नम्बरको नेता को हुनुहुन्छ ?

उहाँ अहिले पनि वरिष्ठ नेता हुनुहुन्छ । उहाँ अहिले पनि जिम्मेवारीमा नै हुनुहुन्छ । पार्टीको जिम्मेवारी पनि थप्पिदै जानेछ ।

त्यसो भए बाबुराम भट्टराई पहिलो नम्बरको नेता ?

यसरी नम्बर छुट्याइएकै छैन । अहिले हामीलाई जानकारी भए अनुसार पहिलो नम्बरको नेता भनेको महन्थ ठाकुरजी हुनुहुन्छ । दोस्रो अध्यक्ष भनेको माननीय उपेन्द्र यादव हुनुहुन्छ । तेस्रो वरियताको वरिष्ठ नेता भनेको अशोक राईजी हुनुहन्छ । चौथोमा बाबुरामजी हुनुहुन्छ । पाँचौमा माननीय राजेन्द्र महत्तोजी हुनुहुन्छ । त्यसपछि हामी सबैजना सदस्य छौँ ।

प्रदेश नम्बर २ को कुरा गर्दाखेरि मुख्यमन्त्री पनि काठमाडौँमा अनि तपाईहरू बैठकमा व्यस्त भइरहँदाखेरि कोरोनाको रोकथाम र नियन्त्रणका लागि तपाईहरूले किन कदम चाल्न सक्नुभएन ?

यस महामारीसँग हामी पनि एकदमै बढी संवेदनशील छौँ । हामी भनेको कुनै पार्टी, सरकार विशेष पनि होइन । यो डरलाग्दो तरिकाले सोच्दै नसोचेको जस्तो बढिरहेको छ । हुन त पहिले हामीलाई थाहा पनि थियो, यसरी बढ्छ, तर चीनको उहानबाट सुरु भएको यो महामारी अब नेपालभरि पनि फैलिसक्यो । तसर्थ हामीलाई अत्याधिक डर लागिरहेको छ । केही सुखद खबरहरू आइरहेको छैन । संक्रमितहरू पनि बढिरहेका छन् । संक्रमितलाई राख्ने आइसोलेसनको अवस्था अव्यवस्थित छ । यी सबै विषयमा सरकारलाई पनि हामीले सल्लाह सुझाव दिएकै थियौँ । सरकार कति सल्लाह सुझाव मान्छ, त्यो त थाहा नै छ । १० अरब सकिसक्यो, रिजल्ट केही छैन, शून्य छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बोलाएर अहिले जुन किसिमको समस्या बढिरहेको छ, त्यसमा चासो राख्नुभयो नि ?

राष्ट्रपतिज्युको चासो त हामीले हेरिहाल्यौँ । प्रधानमन्त्रीले त हल्दी बेसार खाऊ, निको भइहाल्छ भन्ने उनको भनाई पनि हामीलाई याद नै छ । यो चासोलाई हामीले गम्भीरताका साथ लिएका छौँ । प्रदेश नम्बर २ को ८ को ८ वटै जिल्ला आफंै लकडाउन गर्न बाध्य छ । केन्द्रिय, संघीय सरकारबाट कहिले ठुलाठुला निर्देशन जान्छन् । १२ वर्षमुनिका बच्चा घरबाट बाहिर ननिस्कनु, ६० वर्षमाथिका वृद्ध घरबाट बाहिर ननिस्कनु भन्ने जस्ता ठुलाठुला निर्देशन मात्र जान्छन् तर सहयोग भन्ने नाममा खासै हामीले केही देखेका छैनौँ । प्रशासनहरूले पनि खासै केही सहयोग गरिरहेका छैनन् । जसले सीमाको सुरक्षा गर्ने जिम्मा पाएको छ, उसले सहयोग गरिरहेको छैन । जसले स्थानीय सुरक्षाको जिम्मा पाएको छ, उसले पूरा गरेको छैन । राजविराज शहर अहिले जनता आफैले लकडाउन गरेका छन् । जनता आफै घरबाट बाहिर निस्किरहेका छैनन् । जनता आफैं डर र त्रासले अनुशासित भएर बसेका छन् । न त कुनै सरकारको दबाबले न त कुनै प्रहरीको पहलले त्यस्तो केही भईरहेको छैन । संघीय सरकारको उपस्थिति हामीले देख्न पाइरहेका छैनौँ । अस्ति १ करोड रूपैयाँ सरकारले विनियोजन गरेर गयो ।

स्थानीय र प्रदेश सरकारले पनि काम गरेन भनेर डा. मदन उपाध्यायले बताउनुभएको छ नि ?

मैले देखेको प्रदेश नम्बर २ मा सरकारको अनुभूति भएको छैन । त्यो भनेको प्रदेश र स्थानीय सरकार मात्र हो । संघीय सरकारको अनुभूति हामीले देख्न सकिरहेका छैनौँ । अब काठमाडौँसँग कतिसम्मको नाता राख्ने भन्ने प्रश्न मनमा उब्जन्छ । मात्र उनको निर्देशन मान्ने या हामीले पनि केही गर्ने, मात्र बेला बेलामा सुन्छौँ, ओम्नीमा भ्रष्टचार भयो भन्ने जस्ता कुरा मात्र सुनिरहेका छौँ । यी सबै भनिरहँदा प्रदेश र स्थानीय सरकारले धेरै राम्रो काम ग¥यो भन्ने होइन । कोरोनाको औषधी छैन । कोरोना रोकथामको कुनै पनि उपाय अहिलेसम्म पत्ता लागेको छैन । हिजो राति मात्र रुसमा एउटा भ्याक्सिन प्रयोग भयो भन्ने त सुन्यौँ तर साँच्चै पत्ता लागेको छैन । सामाजिक दुरी कायम गर्ने, हात बेला बेलामा धोइराख्ने, आफुलाई स्यानिटाइज राख्ने जस्ता उपायहरू जनताले आफै अबलम्बन गर्नुपर्ने बाहेक अर्को उपाय सरकारसँग छैन जस्तो लाग्छ ।

प्रदेश नम्बर २ मा धेरै लापरबाही भईरहेको छ, प्रदेश सरकार सुतेर बसेको छ भन्दा हुन्छ ?

स्थानीय सरकारले कमसे कम संक्रमितलाई आइसोलेसनसम्म लगेर राखेको छ । संक्रमितको घरघरमा गएर टेस्ट गराइरहेको छ । लकडाउन अथवा निषेधाज्ञाहरू निवेदन गरिरहेको छ । आम जनताको अगाडि काम गरिरहेको छ । प्रदेश सरकारले त्यस्तो गरिरहेको मलाई थाहा छैन । प्रदेश सरकारले गत वर्ष भेन्टिलेटर, इक्वीपमेन्ट किन्ने पैसा नै फ्रिज गरिदियो । प्रदेश सरकारलाई मैले थुप्रै धन्यवाद दिइनँ । तर पनि थोरै भए पनि प्रदेश सरकारले सहयोग गरेको छ । मार्किङ्ग गर्दा स्थानीय सरकारलाई सबैभन्दा बढी नम्बर, प्रदेश सरकारलाई त्यसपछिको नम्बर र संघीय सरकारलाई शून्य नम्बर मैले दिन खोजेँ ।

तपाईको पार्टीको बैठक आज सकिन्छ कि भोलि ?

हाम्रो स्पिड अनुसार हामीले बैठक आजै सक्ने विचार गरेका छौँ । बैठक आजै सकिन्छ भनेर दाबा किन गर्न सकिन्न भने लोकतान्त्रिक बैठकको पालो हो, सबै साथीको बोल्ने पालो हुन्छ । प्रश्न आयो भने त्यसमा सबै साथीहरूले आफ्ना विचार राख्न चाहन्छन् । यसरी विचार राख्ने समय लम्बियो भने बैठक भोलीसम्म जान सक्दछ । नभए कोरोनाको यो महामारीमा छिटोभन्दा छिटो बैठक सकियोस् भन्ने सबैको उद्देश्य छ । हेरौँ आज बैठक सकिन्छ होला ।

सामाजिक दुरी कायम गर्नुभएको छ, बैठकमा बस्दाखेरि ?

एकदम । हामीले एकदम नियम, अनुशासन पालना गरेका छौँ । सामाजिक दुरी कायम गरेका छौँ । एक अर्कोलाई छुँदै नछुने, स्यानिटाइज गरिराख्ने, हात बेला बेलामा धोइराख्ने, मास्कबिना एकछिन नरहने, सबैले मास्क अनिवार्य रूपमा लगाउने भन्ने जस्ता सबै कोभिड १९ सँग लड्न सक्ने डब्ल्यू.एच.ओ. को निर्धारित नियमहरू छन्, ती सबै नियम पालना गरेर हामीले बैठक गरिरहेका छौँ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम