Logo

लोकगायक प्रेमराजा महतलाई कोरोना संक्रमण



काठमाडौं, २४ साउन । लोकगायक प्रेम राजा महत र उनकी श्रीमती कविता केसीलाई कारोना भाइरसको संक्रमणको भएको छ । अमेरिकास्थित मेरिल्याण्ड र पेन्सिलभेनिया राज्यका लागि महावाणिज्यदूत रहेका महतले गए राती आफ्नै फेसबुक मार्फत संक्रमित भएको जानकारी दिएका हुन् ।

महतले आफूहरु हाल अमेरिकास्थित आफ्नै निवासमा आइसोलेसनमा रहेको जानकारी दिएका छन् । सिमसिमे पानीमा,पानको पात,बाँझो खेतमा,सालैको पातैले आदि उनका चर्चित र सदाबहार गीत हुन् । महत विगत दुई दशकभन्दा बढी समय देखि अमेरिकामा स्थायी बसोबास गर्दै आएका छन् ।

महतले फेसबुकमा लेखेका छन् :

समुदायका सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरूमा हार्दिक अपिल । यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाऊने वाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ । हामी अहिले आफ्नै घरको एक एक कोठामा आईसोलेसनमा छोरा डा. सरगम महतको निरिक्षण र निगरानीमा बसेका छौं।

यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्मनमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सु-सुचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण बिश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु। ईमान्दारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मि र बिश्वस्वास्थ्य संगठनप्रति नै सहयोग पुग्नजानेछ। जय पशुपतिनाथ।



प्रतिक्रिया दिनुहोस्