Logo

आइसोलेसन बेडहरू पनि भरिँदै गयो भने लकडाउन गर्नुपर्छ : सिडिओ पाण्डे



भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आईसोलेसन बेडहरु पनि भरिँदै गए भने लकडाउनपनि लगाउनुपर्छ भनेर आफूहरुले सिफारिश गरेको स्पष्ट पारेकी छिन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले हिजोमात्रै काठमाडौं, ललितपुर र भक्तपुर काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सिडिओ बसेर महत्वपूर्ण निर्णय गरेको सुनाईन् । सोहीअनुसार आफूहरु निर्णय कार्यान्वयनमा खरो उत्रिने उनको भनाई छ । प्रस्तुत छ सिडिओ पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

हिजो तपाईहरूले सरकारी सेवा ठप्प पार्नुभयो । तपाईहरूको रणनीति के छ ?

भक्तपुरमा व्यापक रूपले फैलिरहेको कोरोना संक्रमणलाई समुदायसम्म संक्रमण रोक्नका लागि हामीले केही रणनीतिहरू तय गरेका छौँ, जिल्लाभित्र । यसमा ३/४ वटा रणनीतिहरू छन्, जस्तो एउटा रणनीति स्वास्थ्यसँग सम्बन्धित छ । स्वास्थ्यसँग सम्बन्धित चेकजाँचको अभियानलाई व्यापक रूपमा लैजाने, समुदायसम्म फैलिन नदिनको लागि त्यहाँ रहेका होटेल क्वारेन्टाइन, स्थानीय तथा राष्ट्रिय स्तरका क्वारेन्टाइनहरूलाई थप व्यवस्थित गर्ने, पि.पि. पर्याप्त मात्रामा राख्ने, मोडिफाइड एम्बुलेन्सहरूको तुरुन्तै उपलब्धता गराउने योजना छ । सभा, सेमिनार र गोष्ठीहरू पनि गरिरहेको र हामीले कारबाही पनि गर्नुपर्ने अवस्था छ । यसरी आइसोलेसन बेडहरू पनि भरिँदै गयो भने लकडाउन गर्नुपर्छ भन्ने सिफारिस पनि हो हामीहरूको ।

त्यसोभए लकडाउन गर्ने, नगर्ने भन्ने कुरा सबै सरकारको हातमा छ ? बल सरकारको कोर्टमा छ ?

हामीले कफ्र्यु लगाउन सक्ने, एरिया शिल्ड गर्नसक्ने अधिकार ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले समन्वय गरेर त्योपनि गर्नसक्ने भयौँ ।

नाकामा एकदमै राम्रोसँग अनुगमन भएन भन्ने धेरैको प्रतिक्रिया छ नि ? तपाईहरुले अनुगमन गर्नुभएको छ त ?

नाकामा मानिसहरूको तीव्र आवागमन भएको हुनाले ३००० नमुना ल्याएर टेस्ट गरेको थियो । त्यसमा केही व्यक्तिहरूमा संक्रमण देखिएको पनि थियो । हामीले साँघा र थानकोटको नाकालाई चेक गरेर मात्र भन्दा पनि सम्बन्धित जिल्ला जिल्लाका नाकामा कडाइ गर्नुपर्ने देखिएको हो । यहाँसम्म मान्छेहरू नआउन् र यहाँबाट हिँडदै हिँडदै मान्छेहरू नजाऊन् भन्ने हिसाबले गुहमन्त्रालयले निर्देशन पनि गरिसकेको हुनाले जिल्लाहरूले पनि यसै गरेर नाकामा मुभमेन्टलाई नियन्त्रण गरेर यता आउन नदिने हो भने यहाँका मानिसहरूको हिडडुलमा पक्कै नियन्त्रण आउँछ ।

साँगाको कुरा गर्दाखेरि धेरै मान्छेहरू रातारात काठमाडौँ भित्रिएको तथ्यांकहरू मसँग छ । तपाईहरूले त्यतातिर ध्यान दिनुभएन ? सुरक्षाकर्मीले किन त्यसरी मानिसहरुलाई छोडे ?

मेचीदेखि यहाँ आइसकेको मान्छेलाई रोकेर साध्य चाहीँ हुँदैन । त्यो मान्छे कतै न कतैबाट गाडी फर्किन्छ तर मान्छे हिँडेर आउँछ । त्यसैले हामीले गृहमन्त्रालयमा यस्तो अवस्था छ भनेर भनिसकेको अवस्था पनि छ । हिँडडुललाई नियन्त्रण गर्नका लागि कडाइ पनि गरिरहेका छौँ । उतैबाट सम्बन्धित जिल्लाबाटै रोकिनुपर्छ । यहाँ नाकामा आएको मान्छेलाई त्यहाँदेखि आएको मान्छेलाई हामीले मानवीयताका हिसाबले पनि त हेर्नुपर्ने हुन्छ ।

त्यसो भए झापाबाट मान्छे काठमाडौँ आउनको लागि यता प्रवेश भइसकेपछि तपाईहरूले रोक्न सक्ने अवस्था छैन ?

सम्बन्धित जिल्लाको नाकामा नै रोकिनुपर्छ । यहाँ आइसकेपछि त्यो मान्छे कतै न कतैबाट हिँडेर आउँछ । जंगलको बाटो हिँडेर भएपनि एक डेढ घण्टाको बाटो हो, कुनै न कुनै रूपमा उपत्यकाभित्र छिर्ने हुनाले हामीले यहाँ आइसकेर उनीहरूलाई रोक्न त रोक्छौँ, तर त्यो अमानवीय व्यवहारको रूपमा देखिएको छ ।

जोखिमको ग्राफ एकदम उकालो लागेको छ । समस्या जटिलतातिर गएको छ । ३ वटै जिल्लाका सि.डि.ओ हरूले प्रस्ट रूपमा पठाएको सुझाव र प्रस्ताव कार्यान्वयन होला त ?

हाम्रो बढ्दो संक्रमण र घट्दो सतर्कता देखिएको हुनाले मैले समुदायलाई हृदयदेखि नै अनुरोध गर्दछु । मास्क सबैले अनिवार्य रूपमा सबैले लगाउने, सबै हामीले बैठक, सेमिनार बन्द गर्नुपर्ने देखिन्छ । स्वास्थ्य मन्त्रालयले पनि यसमा जोड दिएको छ । स्थानीय तहले अनिवार्य व्यवस्थापन गर्ने र त्यसमा सेक्युरिटिले स्थानीय तहमा काम भईरहेको छ । हाम्रो सहकार्य पनि भईरहेको छ । हामी सँगसँगै अगाडि बढिरहेका छौँ । आइसोलेसन बेड थप गर्नको लागि लक्षण नभएका घरमा बसेर पालना गर्नुपर्ने मापदण्ड पनि आइसकेको हुनाले त्यसलाई पालना गर्ने, धार्मिक कार्यक्रम, चाडपर्व मनाउँदाखेरि पालना गर्नुुपर्ने निर्देशिका स्वास्थ्य मन्त्रालयले निकालिसकेको हुनाले त्यसलाई हामी सबैले पालना गर्ने गरेर हामी अगाडि बढ्यौँ । तर समुदायले बुझ्न सक्नुहुन्न । सबैले हृदयदेखि म हिँडे भने अर्को पनि निस्कन्छ भनेर मनन गर्ने र त्यसलाई आत्मसात भएर ननिस्कने र निस्के पनि सुरक्षित भएर मास्क लगाएर अरू भीडभाडमा नगएर निस्कने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ नत्र कडा कारबाहीको अवस्थामा जानुपर्ने हुने देखिन्छ ।

तर खोइ त कारबाही भएको ?

हामीले मास्क नलगाउने गाडीदेखि नियम पालना नगर्ने यातायात, त्यसैगरी व्यक्तिहरूलाई अहिले संक्रमणमा भक्तपुर जिल्लाको सन्दर्भमा हेर्नुहुन्छ भने मास्क नलगाउने व्यक्तिलाई मात्र ३००० जनालाई कारबाही गरिसकेका छौँ ।



प्रतिक्रिया दिनुहोस्