Logo

नेकपाभित्र ‘विदेशी चलखेल’



काठमाडौं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र विदेशी चलखेको विषय चर्चामा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्य गोकुल बास्कोटाले आज घुमाउरो तरिकाले ओलीइतरका नेताहरुप्रति विदेशीको प्रभावमा परेको भन्दै आलोचना गरेका छन् । यसबाट नेकपाभित्र विदेशी चलखेल बढेको विषय खुल्दै गएको छ ।

पछिल्लो समय नेकपाभित्र विदेश सम्बन्धले धेरै विवादहरु जन्माइरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाको सुमधुर सम्बन्ध स्थापित छ । दुवै पार्टीको प्रशिक्षण पनि बेला बेलामा संयुक्त रुपमा चल्न थालेको छ । तर, भारतसँगको सम्बन्धमा भने दुरी बढेको देखिन्छ । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँग सम्बन्ध चिसिएको छ ।

२०५४ सालमा नेकपा विभाजन हुँदा भारतसँगको महाकाली सन्धी नै कारण बन्यो । त्यतिबेला माधवकुमार नेपाल र केपी शर्मा ओली महाकाली सन्धीको पक्षमा उभिए भने बामदेव गौतम विपक्षमा । यही मुद्दाका कारण भारतलाई हेर्ने दृष्टिकोणले नेकपा विभाजित भयो । त्यतिबेला विदेशी चलखेको विषय चर्चामा रह्यो । अहिले पूर्वमन्त्री गोकुल बास्कोटाले नेकपाको अहिलेको झगडालाई २०५४ को घटनासँग जोडेर हेर्नुपर्ने तर्क गरेका छन् ।

अहिले नेकपाभित्र विवाद उत्कर्षमा छ । प्रधानमन्त्री ओलीको राजीनामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाको समुहले मागेका छन् । ओली राजीनामा दिन तयार छैनन् । अहिले यो झगडा मिलाउन भरपुर सक्रियता बढाइएको छ । तर, साँझ कुरा मिल्ने र विहान नमिल्ने अवस्था प िनबनेको छ । यसलाई पूर्वमन्त्री बास्कोटाले कुनै कन्ट्रोल कक्ष कारण भनेका थिए । उनको संकेत विदेशी तिर नै देखिन्छ ।

अहिले नेकपाभित्र ओली भारतप्रति कठोर बन्दै गएका छन् । उनको अभिव्यक्ति भारतप्रति कडा छ । ओलीले राष्ट्रवादी परिचय बनाउन भारतको खुलेर विरोध गरेका छन् । उनले आफ्ना विरोधीलाई विदेशी प्रभावमा परेको घुमाउरो तरिकाले आरोप लगाउने गरेका छन् । उनका निकटस्थहरुले त खुलेआमा विदेशी शक्तिकेन्द्रबाट प्रभावित भन्न थालेका छन् ।

नेकपाभित्रको पछिल्लो विवादलाई विदेशी चलखेलसँग जोडेर हेरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नै दलका नेताहरुबाट भन्दा विदेशीबाट सरकारमाथि खतरा देखेका छन् । उनले एकपटक भारततर्फ संकेत गर्दै सरकार ढाल्न खोजेको आरोप लगाएका थिए । सरकार ढाल्ने कल्पना पनि नगर्न चेतावनी दिएका थिए । यसरी ओली र उनका निकटस्थले विरोधीहरुलाई विदेशी इशारामा चलेको देखाउन खोजेका छन् ।

नेकपाभित्र अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे गम्भीर बहस भयो । यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नदिने प्रचण्डलगायत ओली इतर समुहले अडान लिए । एमसीसीकै विषयले नेकपाभित्र निकै विवाद भई फुटको अवस्था पनि आएको थियो । यसरी विदेशीलाई हेर्ने दृष्टिकोणमा नेकपाभित्र विवाद हुनेगरेको छ । यसलाई नेकपाभित्रको विदेशी चलखेलका रुपमा पनि विश्लेषण गर्न थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्