Logo

उपत्यकामा जोखिम बढे पनि भीडभाड घटेन



काठमाडौँ, २५ साउन। पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको भीडभाड र जमघट गरी बस्ने बानी पुरानै शैलीमा फर्किएको देखिन्छ ।

यसरी बस्दा सामान्य सावधानी अपनाएको पाइँदैन । कतिले त सामान्य मास्क पनि नलगाई पसेका देखिन्छन् । जसले गर्दा उनीहरु मात्रै होइन परिवार र छरछिमेक पनि उत्तिकै जोखिममा रहेको रहेको अनुमान गाउन सकिन्छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार काठमाडौँको न्युरोड, असन, इन्द्रचोकमा नयाँ बिरामी थपिने क्रम जारी छ तर नागरिक त्यस क्षेत्रमा कुनै पर्वाह नै नगरी पसलहरु सञ्चालन गरिरहेका छन् । जोरबिजोर प्रणाली लागू भए पनि सबै खालका सवारी पनि सञ्चालन भएकै छ । यसले महामारी थप बढ्नका लागि सहयोग पुगेको स्पष्ट हुन्छ ।

यस विषयमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले अत्यावश्यकबाहेक अन्य पसल सञ्चालन नगर्न भनिएको बताउनुभयो । व्यापारीले आलटाल गरिरहेको भन्दै यस विषयमा कामपाले कडा कदम चाल्ने बताउनुहुन्छ उहाँ । प्रवक्ता डङ्गोलले भन्नुभयो, “केही सहज हुँदा सञ्चालन गर्न दिएकै हो, विषम परिस्थिति भएकाले केही दिन अनावश्यक रुपमा बाहिर ननिस्कन र आवश्यक कामका लागि पनि सजह हुन आवश्यक छ । काठमाडौँ आफैँमा घना बस्ती भएको स्थान हो । यस्तो स्थानमा सङ्क्रमण जोखिम बढी छ ।

लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डसमेत पालना नगरेको देखिन्छ । यसले पनि जोखिम बढाएको छ । हालसम्म काठमाडौँ उपत्यकामा मात्रै करीब एक हजारको हारहारीमा सङ्क्रमित पुष्टि भइसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ रहेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्