Logo

राहतमा कुहेको चामल



भोजपुर, २५ साउन । रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो ।

वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए । ‘लकडाउनले मजदुरी टुटेपछि परिवारको छाक टार्न धौधौ भएका बेला राहतमा पनि कुहिएको चामल पाइयो । योभन्दा ठूलो विडम्बना अरू के हुन्छ रु ’, उनले भने । गाउँपालिकाले ६ वडाका २ हजार १ सय ८४ परिवारलाई राहत दिएको थियो ।

वडा नम्बर ४ दलगाउँमा बाँडिएको चामलमा पनि ढुंगा, कनिका, चुराको टुक्रा र प्रशस्त बिया भेटिएको स्थानीयको गुनासो छ । राहतका नाममा सडिएको चामल पाएपछि विपन्न तथा मजदुरका परिवारलाई निल्नु न ओकल्नु भएको टंकराज भट्टराईले सुनाए । राहतका नाममा कुहिएको चामल पाउँदा अन्य विकल्प खोज्न बाध्य बनाएको ओखे्रेकी प्यारी राईले सुनाइन् । भनिन्, ‘चामलको बोरा खोल्दा कम गुणस्तरको पाइयो ।’

वडा नम्बर १ ओख्रेका वडाध्यक्ष सहदेव राईले पनि राहतका चामल गुणस्तरहीन भएको स्वीकार गरे । राहतको चामल जनताको घरमा पुगेपछि मात्र खानै नमिल्ने पाइएको उनले बताए । भने, ‘जनताको गुनासो आएपछि अनुगमन गर्दा चामलमा बिया, ढुंगा, कनिका मिसिएको पाइयो । कतिपय बोराभित्र कुहिएको चामल र किरा लागेको पाइयो । यसले राहतका नाममा निराशा थपिदिएको छ ।’

यससँगै गाउँपालिकाले वडा नम्बर ७ र ८ मा राहत वितरण रोकेको छ । वडा ८ खोक्सिकका वडाध्यक्ष मनोज राईका अनुसार चामल गाउँपालिका केन्द्र बैकुण्ठेमै छ । ‘गुणस्तर नभएको थाहा पाउनासाथ राहतको चामल वडामा ल्याएका छैनौ ’, उनले भने, ‘त्यो चामल ठेकेदार कम्पनीले फिर्ता लगेर गुणस्तरीय र स्वस्थ चामल ल्याउनुपर्छ । अनि, मात्र हामी राहत वितरण गर्छौ । ’ आजको खबर अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्