Logo

मास्क : मुखमा लगाउने कि चिउँडोमा ? यस्ता आयो तथ्याङ्क (भिडियो)



साउन २५, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट बँच्न अपनाउनुपर्ने मापदण्ड अधिकांशले पालना नगरेको पाइएको छ । काठमाण्डौ उपत्यकामा गरिएको एक सर्वेक्षणले सामाजिक दुरी, मास्क र स्यानिटाइजरको प्रयोग लापरबाही हुने गरेको खुलासा गरेको हो । नागरिककै लापरबाहीका कारण संक्रमण फैलिनसक्नेप्रति चेतावनी पनि दिइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको संक्रमणबाट बच्न नागरिकले के कति सतर्कता अपनाएका छन् भनेर सर्वेक्षण गरेको थियो । सर्वेक्षणका क्रममा समान्य सतर्कता र मापदण्डप्रति पनि सर्वसाधारणले वेवास्ता गरेको पाइएको छ । परिषदका सदस्य सचिव प्रदिप ज्ञवालीले जनस्वास्थ्य मापदण्ड शीर्षकमा गरिएको अध्ययनले सर्वसाधारणले स्वास्थ्य सतर्कता नपनाएको पाइएको जानकारी दिए ।

सामाजिक दुरी, मास्क र स्यानिटाइजरको प्रयोगसम्बन्धी सर्वेक्षणका क्रममा ७२ दशमलब १ प्रतिशले मास्क लगाएको पाइएको थियो । बाँकी २७ दशमलब १ प्रतिशतले मास्क लगाएका थिएनन् । मास्क लगाउनेमध्ये कपडाको मास्क लगाउनेको संख्या करिब १६ प्रतिशत थियो । सही तरिकाले मास्क लगाउनेको संख्या ७२ प्रतिशत हुँदा नाकमुनी, चिउडोमा, हातमा झुण्डाउने वा राम्रोसँग नलगाउनेको संख्या २७ दशमलब ३४ प्रतिशत रहेको थियो ।

काठमाण्डौ उपत्यकाका २३ वटा सार्वजनिक स्थलमा सर्वेक्षण गरिएको थियो । तरकारी बजार, होटल, सपिङ मल मालपोत कार्यालय, बैँक, सार्वजनिक सवारी साधन, अस्पताललगायतका स्थानमा गरिएको सर्वेक्षणमा ४ हजार ५ सय २ जनालाई समावेश गरिएको थियो । ति स्थानमा सबैले सामाजिक दुरीको नियम पालना गरेको पाइएन । ३१ दशमलब २५ प्रतिशत स्थानमा मात्रै सामाजिक दुरीको नियम पालना गरेको पाइयो भने साबुन र स्यानिटाइजरको प्रयोग गर्नेको संख्या करिब ६० प्रतिशत रहेको पाइएको थियो ।

सार्वजनिक यातायातमा पनि मापदण्ड पालना भएको छैन । करिब ५० प्रतिशत सार्वजनिक सवारी साधानमा मात्रै तोकिएको मापदण्ड पालना गरेको पाइएको थियो । अध्ययन प्रतिवेदनले तत्काल उल्लेखित पक्षमा सम्बन्धित निकायले अनुगमन गरी सबै मापदण्ड पालना हुने अवस्थाको वातावरण सृजना गर्नुपर्ने औँल्याएको छ ।

दुई दिन गरिएको सर्वेक्षणको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइसकिएको छ । कोरोना संक्रमणबाट जोगिन हरेक व्यक्तिले उच्च स्वास्थ्य सतर्कता अपनाउनु नै उत्तम विकल्प हो भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्