Logo

जसपाको ठहर : प्रधानमन्त्री ओली शारीरिक र मानसिक रुपमा कमजोर



साउन २५, काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको ठहर गरेको छ । प्रधानमन्त्रीको स्वास्थ्यबारे कडा टिप्पणी गर्दै जसपाले मानसिक तथा शारीरिक स्वास्थ्यबारे टिप्पणी गरेको हो ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी कोभिड–१९ को महाविपत्तिबाट मुक्त भई नसकेको अवस्थामा ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको आरोप लगाएको छ । जसपाले प्रधानमन्त्री ओलीलाई अध्यादेश ल्याएर देशमा पार्टी विभाजन गर्ने तथा प्रतिपक्षलाई भूमिका विहीन गराउने किसिमबाट अधिनायवादी चरित्र देखाएको आरोप लगाएको छ ।

संविधान संशोधन गर्ने सहमतिको परिपालना नगरी सरकार टिकाउन साम, दाम, दण्ड, भेद जस्ता अपराध गर्न अग्रसर भएको, राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड्ने वालापन देखाएको आरोप समेत लगाएको छ । बैठकले सांसद रेशम चौधरी लगायतका मधेश÷थरुहट आन्दोलनका बन्दीहरूलाई रिहा गर्न माग गरेको छ ।

बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ । निर्देशिका जारी भएसँगै अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ । बुधबारबाट सुरु भई शनिबार सम्पन्न बैठकले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादीको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजनको निर्देशिका पारित गरेको हो ।

जसपाले तत्कालीन समाजवादी पार्टी र जसपाको क्रियाशील सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधारमा समायोजन टुंगो लगाउने छ । बैठकले पछिल्लो समयमा सरकारले परराष्ट्र नीति सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्