Logo

तीन बालिकाको संरक्षकत्व ग्रहण



काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सेवा नै समाज र राष्ट्रको पनि सेवा भएको बताउनुभएको छ । उहाँले नेपालको संविधान बालबालिकाको हितमा रहेको र सोहीअनुसार सरकारले काम गरिरहेको चर्चा गर्नुहुँदै बालबालिका भविष्यका कर्णधार मात्र होइन वर्तमानको हकदार भएको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान आयोजित अभिभावक गुमाएका तीन बालिकाको संरक्षकत्व प्रदान कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले अभिभावकविहीन भएर बालबालिकाले सडकमा बस्नुपर्ने दिनको अन्त्य गर्न सरकारले हर तरहले प्रयत्न गरिरहेको स्पष्ट पार्नुुभयो । उहाँले भन्नुभयो, “घरवार र अभिभावकविहीन भएर सडकमा मागेर अब खानुपर्दैन । सडकमा रात बिताउनु पर्ने, मागेर खानुपर्ने दिनको अन्त्य गरिने छ ।” बालबालिकालाई राज्य, समाज र परिवारले उचित अवसर दिएमा देशको भविष्य चम्काउने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । समाज र राष्ट्रका लागि राम्रो काम गर्दा खुट्टा तान्ने, असहयोग गर्ने, बाधा हाल्ने काम हुन्छ तर त्यसबाट हतोत्साही नभई सेवाका कार्यमा निरन्तर लाग्नुपर्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “समाजसेवाबाट सन्तुष्टि प्राप्त हुन्छ । त्यसैले यो त्यति सजिलो पनि छैन । धेरै बिध्नबाधा खेप्नुपर्छ ।”

त्यस अवसरमा प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यले अभिभावकविहीन तीन जना बालिकाको संरक्षकत्व लिनुभएको थियो । घरायसी झगडामा आमाको मत्यु र बुबा जेल परेपछि अभिभावकविहीन भएका दक्षिणकालीका तीन बालिकाका बारेमा सञ्चार माध्यमबाट जानकारी प्राप्त भएपछि श्रीमती शाक्यले उद्धारको पहल गर्नुभएको थियो । बन्दाबन्दीका कारण करिब चार महिना खोजतलास केन्द्रको संरक्षण गहमा रहेका थिए । तीन बालिकालाई आइतबारै एसओएस बालग्राममा रहने गरी पठाएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्